२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

गाउँमा स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी

गाउँमा स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी
अ अ+ अ-

पाल्पा। मुटु, दम, खोकीलगायत रोगको औषधोपचारका लागि गिरामती श्रेष्ठलाई अस्पताल पुग्न निकै सास्ती हुने गर्दछ । उमेरले ८५ वर्ष पुग्नुभएकी उहाँलाई शारीरिक अवस्थाका कारण भरसक उपचारका लागि अस्पताल जान नपरे हुन्थ्यो जस्तो लाग्छ ।

शारीरिक अवस्था कमजोर भएकाले सवारीसाधनमार्फत लामो यात्रा गरेर बाहिर अस्पतालमा जाने झन्झटभन्दा उहाँ रोगसँग लडेर बस्न तयार हुनुहुन्छ । यस्तो परिस्थितिमा गाउँमा स्वास्थ्य शिविरमार्फत विशेषज्ञसहित औषधोपचार सेवा पाउँदा उहाँ खुसी हुनुहुन्छ । रामपुर नगरपालिका–८ रानीवास बस्ने गिरामती गाउँमा उपचार सेवा पाइने थाहा पाएपछि लठ्ठीटेकेर नातिनीको सहारामा शिविरमा पुग्नुभयो ।

शिविरमा आफ्ना समस्याबारे सबै स्वास्थ्य परीक्षणसहित औषधि सेवा पाउँदा आफूलाई तत्काललाई अस्पताल जाने समस्या टरेको गिरामतीले बताउनुभयो । रामपुर नगरपालिकामा आज आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमार्फत उहाँले मुटु, सुगर, प्रेसर, श्वासप्रश्वाससम्बन्धी परीक्षण गरी औषधि लिनुभयो । सो समस्याका लागि यसअघि उहाँ भैरहवास्थित अस्पतालमा पुगेर उपचार सेवा लिँदै आउनुभएको थियो ।

“बुढेसकालमा औषधि गर्न टाढा जान सकिँदैन, सवारीमार्फत जाँदा बुढ्यौली शरीर थाकेर कमजोर हुन्छ, उपचार गर्न गएको बिरामीमा झन् समस्या थपिन्छ”, उहाँले भन्नुभयो, “गाउँघरमा स्वास्थ्य शिविरमार्फत उपचार, औषधि सबै सेवा पाउँदा हामी जस्ता अशक्त नागरिकलाई सहज भएको छ । गाउँमा बेलाबेलामा शिविर भए ज्येष्ठ नागरिक बढी लाभान्वित हुने छन् ।

गाउँघरमा आयोजना हुने स्वास्थ्य शिविरले अशक्त, ज्येष्ठ नागरिक, बालबालिकालाई उपचारमा सहज उहाँकी नातिनी मञ्जु श्रेष्ठले बताउनुभयो । ज्येष्ठ, अशक्त नागरिकलाई सहरबजारमा औषधि उपचारका लागि लैजान कठिनाइ हुने गरेको उहाँले अनुभव व्यक्त गर्नुभयो ।

ज्येष्ठ नागरिकलाई बाहिर उपचारका लागि लैजान खर्च, यात्रालगायत विषयमा समस्या हुन्छ, गाडीमा लिएर जाँदा लामो यात्राले झन् बिरामी बनाउँछ, अस्पतालमा पालो पर्खेर बस्नुपर्दा दुःखर झन्झट हुन्छ । यसरी गाउँमै हुने स्वास्थ्य शिविरले बाहिर लैजानुपर्ने समस्या हट्नेछ”, उहाँले भन्नुभयो ।

रोटरी क्लब अफ रामपुर र रोट ¥याक्ट क्लब सेन्ट्रल बुटवलको संयुक्त आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अशक्त, ज्येष्ठ नागरिक, महिलाले उपचार सेवा लिएका छन् ।

बिरामीले बाहिर अस्पतालमा पुगेर सेवा लिन यात्रा, सडक, आर्थिकलगायत विविध समस्याले सास्ती हुने भएकाले घरआँगनको शिविरले सजिलो बनाएको रामपुर–६ तिलकपुरका डेमनाथ दर्जीले बताउनुभयो । उहाँले शिविरमार्फत प्रेसर, श्वासप्रश्वास जाँचपश्चात् औषधि लिनुभयो । औषधि तथा उपचारमा खर्च गर्नुनपर्दा बिरामीलाई धेरै राहत भएको उहाँले सुनाउनुभयो ।

शिविरले गाउँमा बिरामीलाई उपचार तथा औषधि सेवा दिएपछि अस्पतालसम्म आउनेजाने खर्च, बास बसेर उपचार गर्नुपर्ने, औषधिमा बुझाउनुपर्ने खर्चको समस्या हट्ने रामपुर–५ सानी अमराईका दोवराज ढुङ्गानाले बताउनुभयो । उहाँले शिविरमा विशेषज्ञ चिकित्सकबाट मुटु, प्रेसर जाँच गराउनुभएको हो । शिविरमा निःशुल्क उपचार सेवासहित औषधि पाउँदा बिरामी खुसी छन् ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गाैला, सुगर, प्रेसर, जनरल फिजिसियनलगायत रोगको जाँच गरी बिरामीलाई निःशुल्क औषधि वितरण गरेको रोटरी क्लब अफ रामपुरका अध्यक्ष कीर्तिनाथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोग, रामपुर बचत तथा ऋण सहकारी संस्था, रामपुर आयुर्वेद अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

रोटरी क्लब रामपुरले स्वास्थ्य शिविर, शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि तालिम, वृक्षारोपण, फरक क्षमता भएका नागरिकलाई अपाङ्गता सहायता सामग्री वितरण, बजार क्षेत्रमा पुग्न मुख्य सडक तथा नाकामा सूचना बोर्डलगायत विभिन्न कार्यक्रममा गर्दै आइरहेको छ । साथै विदेशस्थित रोटरी क्लबसँग समन्वय गरेर ठूला कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति तथा रोटरी क्लब अफ रामपुरका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले गाउँघरमा आयोजना हुने स्वास्थ्य शिविरले नागरिकलाई सहज सेवा दिन सहयोग पुग्ने बताउनुभयो । रोटरी क्लबले सामाजिक भावनाका साथ शिक्षा, स्वास्थ्य, सामाजिक सङ्घ संस्थामा विभिन्न काम गर्दै आइरहेकाले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ । रासस