८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विदेशबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन

विदेशबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
अ अ+ अ-

धरान, (सुनसरी) । वैदेशिक रोजगारीबाट फर्किएका यहाँको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको हो ।

स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसायिक कृषि सुरु गर्नुभएका उहाँहरुले विदेशमा कमाएको पैसा स्वदेशमै लगानी गरी आम्दानी लिइरहनुभएको छ ।

अमिर र रघुवीर पाँच वर्ष दक्षिण कोरिया, छविलाल अफगानिस्तानमा काम गरेर फर्किनुभएको हो ।  उहाँहरू विदेशमा पनि कृषि क्षेत्रमै कार्यरत हुनुहुन्थ्यो । विदेशमा सिकेको सीपलाई सदुपयोग गरी स्वदेशमै व्यवसाय सुरु गरेका तीन मध्येका एक अमिर निरौलाले बताउनुभयो ।

उहाँहरुले २०७४ सालमा सुन्दर कृषि फार्म दर्ता गर्नुभएको थियो । सुरुमै आधुनिक प्रविधिको प्रयोग गरेर २० बिघा जमिनमा सागपात लगाउनुभएको थियो । जैविक मलको प्रयोग गरी सागपात उत्पादन गरी राम्रो आम्दानी लिइरहेको निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुरुआतमा छ लाखको लगानीमा डेढ बिघा जमिनबाट सुरु गरेको व्यवसाय अहिले बढेको छ । सुरुआती समयमा लगानी, जमिन र बजार पहुँचको समस्या भए पनि नगरपालिकाबाट सरकारी अनुदान र विभिन्न सङ्घसंस्थाबाट सहयोगका साथै डिजिटल मार्केटिङका कारण निकै सहज भएको छ ।”

विदेशको अनुभव र सीपलाई स्वदेशमै सदुपयोग गर्नसके स्वदेशमै सम्भावना रहेको रघुवीर चन्द्रवंशी बताउनुहुन्छ ।उहाँहरूले चार बिघा क्षेत्रफलमा काँक्रा रोप्नुभएको छ भने तीन बिघामा टमाटर, एक बिघामा क्याप्सिकम र बाँकी १२ बिघामा बोडी, करेला, लौका, घिरौला कोभीलगायत मौसम अनुसारका सागपात लगाउनुभएको छ ।

फार्म सञ्चालकमध्येका एक अमिर निरौलाले भन्नुभयो, “वर्षमा  एक करोडको सागपात बिक्री हुन्छ, तर सागपात खेतीमा प्रयोग गर्ने मल, कर्मचारीको तलब गरी वार्षिक रु ७० लाख जति खर्च हुँदा सबै खर्च कटाएर रु २० लाखदेखि रु ३० लाखसम्म बचत हुन्छ ।”

उहाँका अनुसार सञ्चालक बाहेक २० जनाले फार्ममा रोजगारी प्राप्त गरेका छन् । फार्मबाट सबैभन्दा धेरै काँक्रा र टमाटर उत्पादन हुने गरेको छ । उत्पादित वस्तु खरिद गर्न व्यापारी आफैँ फार्ममा आइपुग्छन् ।

गत असोजमा आएको दुई दिनको बाढीले सात बिघा डुवान हुँदा रु ३५ लाख बढीको क्षति भएको उहाँहरूले बताउनुभयो । यहाँ उत्पादित धेरैजसो सागपात झापाको दमक बिक्रीका लागि व्यापारीले लैजाने गरेको सञ्चालकमध्येका छविलाल चौधरीले बताउनुभयो । बाँकी सागपात धरानको कृषि उपज, इटहरी, इनरुवा, धनकुटा बराहक्षेत्रलगायतका स्थानीय बजारमा बिक्रीका लागि लगिने गरिन्छ । कृषि पेसामा मेहेनत धेरै लागे पनि मौसम अनुसारको सागपात उत्पादन भइरहने भएकाले खासै घाटा नहुने उहाँहरुको अनुभव छ ।

नगरपालिकाले अनुदानमा ‘मिनी टिलर’ उपलब्ध गराएको छ । साथै मल बीउ अनुदान स्वरुप सहयोग गरेको छ । जसले गर्दा कृषि उत्पादनमा लागत घटाउन मदत पुगेको छ ।

बराह क्षेत्रमा सिँचाइ सुविधा, मलको उपलब्धतालगायतले नगरभित्र सागसब्जीको उत्पादन धेरै हुने गरेको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । बराहक्षेत्र नगरभित्रका करिब ७० प्रतिशत घरपरिवार सागपात खेतीमा आबद्ध छन् । उहाँले भन्नुभयो, “बराहक्षेत्र नगरपालिका सागपात खेतीका लागि उर्वर, प्रख्यात मानिनुका साथै बजारीकरणको समस्या नभएकाले यहाँका कृषकको आकर्षण सागपात खेतीमा बढेको हो ।”

प्रत्येक वर्ष नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक सागपातखेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिँचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायतमा सहयोग गर्दै आएको छ । रासस