१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान

आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान
अ अ+ अ-

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट यही चैत ५ गते चीनको सिचुवान प्रान्त छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै चीनका सहरमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । पहिलो उडानको साक्षी बन्दै छेन्दु पुगेका १२६ सदस्यीय टोलीले विभिन्न प्रवर्द्धनात्मक कार्यकम गरी मङ्गलबार फर्किएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनीज एसोसिएसनसँगको सहकार्यमा गरिएको ऐतिहासिक उडानका साथै नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएका विटुबी, सेल्समिसनलगायतका प्रवर्द्धनात्मक कार्यक्रमले ठूलो आशा एवं विश्वास जगाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।

पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चार्टर्ड उडान सुरु गरेको छ । पहिलो उडानका क्रममा त्यहाँका सरकारी निकायका प्रतिनिधि, चिनियाँ पर्यटन व्यवसायीसँग गरिएका छलफल एवं बिटुबी, सेल्स मिसन आदिले आगामी दिनमा अन्तरराष्ट्रिय उडानले निरन्तरता पाउने विश्वाससँगै उत्साह जगाएको अध्यक्ष पहारीले उल्लेख गर्नुभयो ।

“उडानलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा चिनियाँ प्रतिनिधिमण्डल सक्रियताका साथ लागेको पायौँ”, उहाँले भन्नुभयो, “दुई देशबीचको पर्यटकीय साझेदारी बढाउने कुरामा दुवै पक्षबीच महत्त्वपूर्ण छलफल एवं अन्तरक्रिया भएका छन् ।”

चीनको सिचुवान प्रान्तमा मात्रै नौ करोड जनसङ्ख्या रहेकामा छेन्दु र छोङछिङबाट अधिकतम पर्यटकहरू घुम्न निस्कने गरेको उहाँले जानकारी गराउनुुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएको बिटुबी र सेल्समिसन भव्यताका साथ सम्पन्न भएकोे बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो ।

“यो कार्यक्रमसँगै चीन केबल काठमाडौँबाट मात्र नभई पोखराबाट पनि जोडिएको छ”, उहाँले भन्नुुभयो, “काठमाडौँबाहेकका गन्तव्यबाट चीन जोडिएको छ भन्ने सन्देशसँगै पोखरा धेरै चीनका सहरसँग मैत्रीपूर्ण सम्बन्ध भएको सहर भएको र यहाँबाट सिधै उडान सुरु भएको सन्देश मितेरी सहरहरूमा पुगेको छ ।”

काठमाडौँमा मात्र नभई पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल समेत रहेको जानकारी दिँदै उहाँले पोखरामा विमानस्थलबाट गरिएको छेन्दुको सीधा उडानले काठमाडौँबाहेकका विमानस्थलको अन्तरराष्ट्रिय बजारमा जानकारी गराएको बताउनुभयो ।

उहाँका अनुसार पहिलो व्यावसायिक उडानका क्रममा बोर्डको आयोजनामा गरिएका छेन्दु र छोङछिङका कार्यक्रम पोखराको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण बनेका छन् । बोर्डले यस अघि छेन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम गरिएको भए पनि छोङछिङमा पहिलोपटक कार्यक्रम गरेको हो । यी दुवै कार्यक्रमको त्यहाँस्थित चिनियाँ सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका थिए ।

नेपालमा सन् २०१९ मा एक लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटक आएकामा त्यसपछि कोभिड–१९ का कारण सो सङ्ख्या घटेर सन् २०२० मा १९ हजार २५७ पुगेको थियो । त्यसपछि सन् २०२१ मा छ हजार १९८, सन् २०२२ मा नौ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।

कोभिड १९सँगै आफ्ना नागरिकलाई बाहिरी राष्ट्रमा घुमफिरका लागि रोक लगाएकोमा सन् २०२३ मार्चबाट नेपाल भ्रमण गर्न खुला गरेको थियो । त्यस वर्ष ६० हजार ८७८ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ मा नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या एक लाख एक हजार ८७९ जना पुगेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो ।

त्यहाँस्थित चिनियाँ पर्यटन व्यवसायीका अनुसार चीनमा अङ्ग्रेजी महिनाको जुन र जुलाईमा विद्यालय बन्द हुन्छन् । सो समयमा अभिभावक आफ्ना बालबच्चा लिएर भ्रमणमा निस्कन्छन् । उनीहरू छोटो दूरीका रुपमा विशेषत हङकङ वा थाइल्यान्ड जाने गर्दछन् । थाइल्याण्डको दूरीमा रहेको पोखरा उनीहरूका लागि अर्को महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने उनीहरूको भनाइ छ ।

आगामी तीन महिनामा करिब एक हजार २५० जना चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाई मार्गहुँदै सीधा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेशनल छेन्दुले जनाएको छ ।

कार्यक्रमकै क्रममा पोखरासँग मितेरी सम्बन्ध अघि बढेको लुझेउ सहरका नगर प्रमुख यु छिन्हीसँग पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको औपचारिक भेटवार्ता भएको थियो । महानगर प्रमुख आचार्य र उहाँसँग सहभागी प्रतिनिधिमण्डललाई लुझाउ नगर प्रमुख छिन्हीले स्वागत गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, पोखरा महानगरपालिकाका–२१ का वडाध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो । त्यस्तै लुझाउ नगरका तर्फबाट साउथ वेष्ट मेडिकल युनिभर्सिटीका अध्यक्ष हि ताओ, नगरका उपप्रमुख लुओ सुपिङलगायतको सहभागिता थियो ।

उक्त भेटमा पोखरा–छेन्दु नियमित उडानसँगै पोखरा र लुझाउसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरामा दुवै पक्ष सहमत भएका थिए । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका क्षेत्रमा साझेदारी बढाउने, लुुझाउमा रहेको परम्परागत चिकित्सा प्रणालीका लागि सहकार्य गर्ने आदि विषयमा महत्वपूर्ण छलफल गरिएको थियो ।

पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएका कारण चिनियाँ पर्यटकको रोजाइमा यो पर्ने गरेको पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई बताउनुहुन्छ । पछिल्लो समयमा पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारहरू बनिरहेको उहाँको भनाइ छ ।