
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धी भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताउनुभएको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैं मालिक हुने व्यवस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो ।’
उहाँले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो– ‘इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन् । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौ । यो हजारौंको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी हो ।’
राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदल यात्रा गर्दे यस ठाँउमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गर्नुभयो । उहाँले भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रूझ्दै र भिज्दै पुगेको बताउनुभयो । टिम्बुबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अबरूद्ध भएको थियो । टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पंचायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो ।
राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा बृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँंमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न म सम्बद्ध सबैमा अपिल पनि गर्नुभयो ।
राष्ट्रपति पौडेलले संघीयता कार्यान्वयनका लागि तीन तहको सरकार मुलुकमा क्रियाशील भएको भन्दै जनताको ठूलो संघर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसलाई सार्थक बनाउन संविधानको मर्म र भावनाअनुसार जनताको आवश्यकतामा जिम्मेवार ढंगले काम गर्न स्थानीय सरकार अझ बढि क्रियाशील हुनुपर्छ भन्ने म ठान्दछु ।’
उहाँले कृषि, जलस्रोत पर्यटन, पूर्वाधार र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार भएको बताउदै यही भूगोलको सोलु र दूधकोशी नदीक्षेत्रमा निर्माणधीन साना ठूला जलविद्युत आयोजनाबाट मुलुकको आर्थिक विकासमा योगदान पुग्नेमा आफू विश्वस्त भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘हिमाल आरोहण, पदयात्रासहित साहसिक गतिविधिमार्फत सगरमाथा क्षेत्रले मुलुकको पर्यटनको विकास र विस्तार एवम् अन्तत: राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान महत्वपूर्ण छ ।’
राष्ट्रपति पौडेलले राजधानी र मधेशबाट सर्वोच्च शिखर सगरमाथाको काख अब धेरै टाढा नभएको देख्दा आफू अत्यन्तै खुशी भएको भन्दै अपर सगरमाथा मार्ग निर्माणका लागि भएका पहल र आफूले गरेको संघषको स्मरण गर्नुभयो । राष्ट्रपति पौडेलले सगरमाथाको काँख मात्र नभई डोल्पाको दुनै देखि पूर्वी पहाडमा समेत सडक पुगेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नुन, तेल लिन भारी बोकेर कैयो दिन हिड्नुपर्ने हिजोको परिस्थितिबाट टाउकोको भारी बिसाउने अवस्था बहुदलीय लोकतन्त्रले ल्याएको हो । लोकतन्त्रले यो परिवर्तनलाई हामीले भुल्न हुँदैन् ।’