१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रवीरले खनेको त्यो बाटो…



अ+ अ-

तुलसीपुर, (दाङ) । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खन्नुभयो । न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो । एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खन्नुभएका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ । चन्द्रवीरले खन्नुभएको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ ।

विसं २०७३ मा वलीले दुई वर्ष लगाएर खन्नुभएको गोरेटोबाटो सडकमा परिणत भएको हो । अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन् । त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ । चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खन्नुभएको हो । “श्रीमती पनि आँखा नदेख्ने, छोराहरुपनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन”, उहाँले भन्नुभयो, “श्रीमती र छोरा लड्लान भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए ।”

उहाँका पाँच छोरा र एक छोरी थिए । एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो । अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्रै आँखा देख्नुहुन्छ, अन्य तीन छोराले आँखा देख्दैनन् ।

अहिले उहाँका जेठो छोरा काठमाडौँमा दोहोरी साँझमा काम गर्नुहुन्छ, भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्नुहुन्छ । कान्छो छोरा काठमाडौँमै हुनुहुन्छ, उहाँले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्नुहुन्छ । चन्द्रवीरका लागि अहिले घरैमा कसैकसैले सहयोग दिन्छन् । त्यही सहयोगबाट उहाँको दैनिकी चलेको छ । “कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ”, उहाँले भन्नुभयो, “यसरी नै आउने सबैले चामल, दाल ल्याइदिनुहुन्छ, हाम्रो जीवन यसरी चलेको छ ।” रासस