४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

मशानघाट विश्वकै ठूलो विश्वविद्यालय

मशानघाट विश्वकै ठूलो विश्वविद्यालय
अ+ अ-

घाट अमूर्त सम्पदा हो जसले परमात्मालाई भेटाउँछ, झुटो नातालाई मेटाउँछ, अस्तित्वको बोध गराउँछ, सत्यलाई देखाउँछ, तथ्यलाई बुझाउँछ ।

जीवजन्तुलाई पानी खुवाउन, तिथिविशेषमा नुहाउन, पितृहरूलाई भेटाउन, जीवनको समापन गर्न, पूजा र साधनालाई सिद्धि गर्न घाट चाहिन्छ । घाट जमिनको टुक्रा, भूगोलको चोइटामात्र होइन ईश्वरको नाद, परमात्माको श्वास, आत्माको आवाज सुन्ने तीर्थ पनि हो ।

घाटले धर्मलाई बोकेको छ, तीर्थलाई जन्माएको छ, महादेवलाई बासदिएको छ, संस्कृतिलाई जगाइदिएको छ, अलौकिक ऊर्जालाई फैलाएको छ ।

नेपालमा देवीदेवता भेट्ने, ऋषिमुनिहरू जम्मा हुने, पितृहरू बस्ने, सिद्धहरूले साधना गर्ने प्रसिद्ध घाटहरू छन् । वर्दघाट, रामघाट, देवघाट, देवीघाट, ऋषिघाट, आर्यघाट, सूर्यघाट आदि नेपालका चर्चित घाट हुन् । मशानघाटमा तन्त्र, अन्य घाटमा मन्त्र, देवघाटमा ब्रéचिन्तन गर्नुपर्छ  । जहाँ बसेर, हेरेर यथार्थ बुझ्न सकिन्छ, तत्वबोध हुन्छ, इष्टदेवको साक्षात्कार हुन्छ त्यही घाट हो ।

मशानघाटमा लाश जलाउने भएकाले उग्र र शीघ्र सिद्धिका लागि सर्वोत्तम मानिन्छ । मसानघाट पाञ्चभौतिक शरीरलाई विर्सजन गर्ने तीर्थस्थल, यात्रा समाप्त हुने देवस्थल, इच्छाहरूले समाधि लिने पुण्यस्थल, देहका नातालाई बिदा गर्ने पवित्रस्थल भएकाले अनेक ऊर्जा, शक्ति, आत्मा र सिद्धहरूको केन्द्र हो ।

दुई वा सोभन्दा धेरै नदी मिसिने, देवीदेवताको छलफल हुने, जीवात्मा र परमात्मा मिल्ने, महादेवको संकेतअनुसार काम हुने भएकाले मशानघाट पवित्रतम स्थल हो । महेश (महादेव) गणहरूसहित बस्ने भएकाले घाटलाई फोहोर र अतिक्रमण गर्न हुँदैन । घाटलाई शान्त र सफा राख्नुपर्छ, तिथिविशेषमा जानुपर्छ, परिस्थिति अनुसारको साधना गर्नुपर्छ, निश्चित लक्ष्य लिएर जानुपर्छ ।

घाटमा लाशलाई पवित्र तुल्याएर भगवान्को नाम जप्दै, शंख बजाउँदै, लावा छर्दै मुक्तिको कामना गरी लगिन्छ । शव बन्न सजिलो छैन जसका लागि शरीरका सबै सम्बन्ध र पञ्चतत्वको संयोजनलाई सिध्याउनुपर्छ ।

मशानले तर्साउँदैन रक्षा गर्छ, आशीर्वाद दिन्छ, सहयोग पुर्‍याउँछ । नेपालका देवीमन्दिर, शिवालय र केही यन्त्रहरूमा अनिवार्य रूपमा मशान राखिन्छ ।  सीमा सुरक्षा, सामाजिक कार्य, शत्रु आक्रमण रोक्न मशानले सहयोग गर्छ । जलको ऊर्जा र महादेवको साथ पाएर मशानले मृतकलाई उद्धार गर्न सधैँ घाटमा बस्छ ।

घाटको दृश्यले सत्यको बोध गराउँछ, जीवनको अर्थ बुझाउँछ, आफन्तको सक्कली अनुहार देखाउँछ । घाट शब्दले सत्य, मिलन वा एक हुने अर्थ दिन्छ । मशानघाटमा बस्दा संसार झुटो रहेछ भन्ने, घर पुग्नेबित्तिकै सांसारिक मायाले छुने अर्थात् क्षणिक वैराग्यलाई ‘मशानेवैराग्य’ भनिन्छ । जस्तोसुकै मन र परिस्थिति होस् मशानघाटले हरेकको मस्तिष्कमा सत्य घुसाइदिन्छ, हृदयलाई यथार्थ बुझाइदिन्छ, दुनियाँको जाललाई च्यातिदिन्छ, मायालाई पखालिदिन्छ ।

तन्त्र, मन्त्र, यन्त्र, औषधि, नृत्य, व्याकरण, योग आदिका ज्ञाता महादेव यसकारण घाटमा बस्नुहुन्छ । महादेव हिमालयमा सौम्य रूपमा, मशानघाटमा महाकाल (उग्र) रूपमा, चितानजिक मुक्तिदाताका रूपमा रहनुहुन्छ । ‘म’ को अर्थ आत्मा, ‘शान’ को अर्थ गौरव, ‘घाट’ को अर्थ मिलनविन्दु हुन्छ अर्थात् आत्मा र परमात्माको संयोजन गर्ने स्थल नै मशानघाट हो । दुई पहाड वा नदीहरूका संगममा गरिएका कर्मले ईश्वरसम्म पुग्न सहज बनाउँछ ।  हिमाल, जंगल वा पहाड पार गर्दै आएका नदीमा आध्यात्मिक ऊर्जा हुन्छ । चतरा, रुरु, देवघाटले यही सन्देश दिन्छन् ।

नेपालका पहाड यन्त्राकारमात्र छैनन् मन्दिर र मुद्राका स्वरूप हुन् । नेपालका घाटहरूले शिक्षकविना सत्य बुझ्ने, ज्ञान पाउने, ब्रम्ह र ब्रम्हण्ड जानकारी दिने हुँदा ध्यानी र ज्ञानी बस्न रुचाउँछन् । मशानघाटको ऊर्जाले मन उचित बाटोमा हिँड्छ, मुक्तिको मार्ग देखिन्छ, सायुज्यको ढोका उघार्छ । गर्भाशयको कुण्डबाट प्रारम्भ भएको जीवन जलाशय (मशानघाट)मा टुङ्गिन्छ ।

घाटको जलले संसारको चक्रलाई, माटोले महादेवको महत्वलाई, दृश्यले ब्रण्ड को रहस्यलाई, त्यहाँका कार्यले सत्यलाई बुझाउँछ । मशानघाट वैराग्यभूमि भएकाले वीतरागी, तान्त्रिक र अघोरीहरू साधना गर्न रुचाउँछन् । मशानले मृतकको उद्धार गर्न यहीँ बसेर महादेवसँग पुकार गर्दछन् । मन्त्रहरूको पुरश्चरण गर्न पृथ्वीकै दुर्लभ ठाउँ मशानघाट हो ।

‘शवा: शेरतेद्रत्र’ अर्थात् जहाँ लाशहरू सुत्छन् त्यसलाई मशानघाट भनिन्छ । दुवै पक्षको अष्टमी, चतुर्दशी तिथिको मंगलबार निर्भयका साथ मशानघाटमा साधना गर्नु उत्तम हुन्छ । जसलाई पाल्छ, हुर्काउँछ, बढाउँछ, प्राण सम्झन्छ तिनै सन्तानले मशानघाटमा दागबत्ती दिएर बिदाई गर्छन् । कस्तो विचित्र र आश्चर्य ? रुदै आगो लगाउँछन्, त्यो पनि मुखमा । यथार्थ बुझ्ने र देख्ने अवसर मशानघाटमा मिल्छ । शरीरको वायुतत्व वायुमा, अग्नितत्व अग्निमा मिल्दछ, पृथ्वीतत्वलाई अग्निले भस्म गराउने हुँदा मृत्युको समयमा आफूले गरेको अशुभ र शुभ कर्महरूलाई संझन्छ  । मशानघाटमा तर्साउने मशान, भूत, प्रेतमात्र हुँदैनन् म (आत्मा) चिनाउने महादेव बस्दछन् ।

दग्धमेवानुदहति हतमेवानुहन्यते ।

नश्यते नष्टमेवाग्रे लब्धव्यं लभते नर: ।।–महाभारत (शान्तिपर्व२२४।२०)

अर्थात्, “कालले जलाएकालाई मात्र आगोले जलाउँछ, कालले मारिसकेपछि अरूले मार्दछन्, नष्ट भइसकेपछि अरूले नाश गर्दछन् । प्राप्त हुने निश्चित भइसकेकालाई मानिसले प्राप्त गर्दछ ।” महाभारतको युद्धमा अर्जुनले आफन्तलाई कसरी बाण चलाऊँ भन्दा श्रीकृष्णले शान्त्वना दिँदै– “हे अर्जुन – तिमीले मार्नुपूर्व यी मारिसकेकाले तिमी निमित्त बन ।” भन्नुभएको थियो ।

काल नआई कोही मर्दैन, मृत्युलाई कसैले रोक्न सक्दैन । प्रारब्धले जन्मन गर्भमा पुगेको प्राणीलाई मृत्युले मशानघाट पुर्‍याउँछ । जीवभावमा रहेको आत्माले आवरण (उपाधि)लाई त्यागेर परमात्मासँग मिल्न मशानघाट पुग्नुपर्छ ।

मृत्युको समयमा परमात्माको याद होस्, मिथ्याको विस्मरण होस् भनी घाटमा राखिन्छ । अनुसन्धान, अध्ययन र साधनाका लागि शान्त, सुन्दर र सौम्य स्थान चाहिन्छ । बस्तीभन्दा टाढा, होहल्लाभन्दा पर, नाताभन्दा दुर स्थानमा रहेको मशानघाट  नै पाठ्यसामग्रीविना पढ्न, गुरुबिना बुझ्न, सहयोगविना सोच पाइने अलौकिक विश्वविद्यालय हो ।

गर्भाशय जीवनको विद्यालय हो जहाँ विधाताले भाग्यका लिपिहरूद्वारा समग्र जीवनको कार्यतालिका लेखिदिन्छन् । जन्मदेखि मृत्युपर्यन्त गरेका कर्मका आधारमा अर्को जन्म निर्धारण हुन्छ । यसैले जीवन महाविद्यालय हो । मृत्युको स्वर्णीम क्षणले जीवलाई ब्रम्हण्डकै ठूलो विश्वविद्यालय अर्थात् मशानघाटमा पुर्‍याउँछ । शास्त्रको सार, चिन्तनको निचोडसँग मशानघाटको निकट सम्बन्ध छ । मशानघाटका विद्यार्थी प्राणी हुन्, प्राध्यापक महादेवको गण हुन्, उपकुलपति महादेव र कुलपति शिव भएकाले मशानघाट सबैभन्दा ठूलो विश्वविद्यालय हुन पुग्यो ।

पवित्र भएकै कारण मशानघाट र लाशलाई दाहिने बनाएर प्रदक्षिणा गरिन्छ । लाशलाई देख्नेबित्तिकै नमस्कार गरेर मन्त्र जप्दा उचित फल पाइन्छ  । लाश डराउने, तर्साउने वस्तु होइन पुस्तक हो, मशानघाट अद्भूत पुस्तकालय हो, सत्य बुझाउने तीर्थस्थल हो, ज्ञान बताउने महाग्रन्थ हो ।

मशानघाट चारैतिर खुल्ला हुनुपर्छ, यसको वरिपरि काँडा र दूधयुक्त वनस्पति हुनुहुँदैन, अलिक उच्च स्थानमा हुनुपर्छ । चारकोण मिलाएको चितामा अग्निद्वारा वा खाल्डो बनाई लाश गाडेर अन्तिम संस्कार गरिन्छ । लाश गाड्ने ठाउँलाई चिहान भनिन्छ । चिहानमा एउटामात्र लाश हुन्छ तर घाटलाई हजारौँ लाशले ऊर्जाशील बनाउने भएकाले घाटलाई पूजनीय मानिन्छ ।

महादेवले चिहाउने(हेर्ने) स्थान भएकाले चिहान पवित्र भूमि हो । जलाउने, भूसमाधि (भूमिमा गाड्ने), जलसमाधि, खुल्ला ठाउँमा छोडिदिने, खुवाउने (काग, कमिला, स्याल)  वा गुफामा राखिदिने विधिबाट अन्त्येष्टी गरिन्छ ।

पिण्ड दिँदा पितृलाई बोलाउने मन्त्रबाट कुनकुन विधिबाट लाशको अन्त्य गरिन्थ्यो प्रष्ट हुन्छ । “हे अग्नि ¤ सबै पितृ यहाँ लिएर आऊ जसले हवि ग्रहण गरुन्, तिनीहरूलाई बोलाऊ । जसको शरीर गाडेको थियो, अग्निमा जलाइएको थियो,  खुला रूपमा छोडिएको थियो, रुख वा गुफामा राखिएको थियो । ”सन्न्यासीलाई सम्प्रदाय र साधनाको स्तर हेरेर, गृहस्थको हकमा जात, परम्परा, भूगोल आदिका आधारमा लाशको विर्सजन गर्ने तरिका भिन्न छन् ।

कुटीचरको तहमा पुगेको सन्न्यासीलाई जलाउने, हंसलाई जलप्रवाह गरिदिने, बहूदक र परमहंशलाई गाड्नुपर्छ । प्राचीन कालदेखि लाश जलाउने चलन अधिक थियो भन्ने विषयलाई इटालीको इतिहासले पनि बताउँछ । हर्बर्ट स्पेन्सरले आफ्नो लाश जलाइदिन मर्नुपूर्व आफन्तलाई भनेका थिए  जसले पाश्चात्यजगत्मा ठूलै तरङ्ग ल्याएको थियो । बर्नार्डशाले आफूलाई अग्निदाह गराउन भनेकाले त्यसै गरियो । हिट्लरको लाश पनि जलाइएको थियो ।

गौतम बुद्धलाई अग्निदाह गरेपछि विभिन्न आठ राज्यका राजाहरूले चिताको खरानी लगेर स्तूप बनाए । बालागुरु षडाननले १९७३ जेठ ३२ बिहीबार बिहान लगभग ९ बजे पचलीघाटमा समाधि लिएपछि अग्निदाह गरिएको थियो ।  महागुरु फाल्गुनन्दले २००५ चैत्र २२ गते देहत्यागेपछि पाँचथरजिल्लाको सिलौटीमा अग्निदाह गरियो ।

महाभारतका अनुसार कुन्ती, धृतराष्ट्र, गान्धारी आदिले योगाग्निमा शरीरलाई खरानी बनाए । कबीर दासले आफ्नो लाशलाई फूलमा परिणत गरेका कारण हिन्दू र मुसलमानले आधाआधा भाग लगेर अन्त्येष्टी गरे । संन्यासीहरू जुन सम्प्रदायमा दीक्षित हुन्छन् त्यही विधिअनुसार अन्त्येष्टी गर्नुपर्छ ।  राम तीर्थ एम. ए., मस्तराम बाबा, श्यामचैतन्यबाबाले जलसमाधि लिनुभएको थियो । प्रात: स्मरणीय श्री १०८ डा. स्वामी रामानन्द गिरिज्यूले वि. सं. २०७४ असार २४ गते बेलुका पाँच बजे काठमाडौँस्थित शंकराचार्यमठमा समाधि लिएपछि देवघाटमा लगेर जलसमाधि दिइयो ।

जमिनमुनि गरिने अन्त्येष्टीलाई भूसमाधि भनिन्छ । दशनामी सन्न्यासी, गोरखनाथसम्प्रदायका साधुसन्त, पारुहाङका अनुयायीहरू, बौद्ध भिक्षु एवं बालबालिकाको लाश गाड्ने चलन छ । शिवपुरीबाबाको वि. सं २०१९ माघ १५ गते सोमवार बिहान झण्डै ६ बजे धु्रवस्थलीमा, गलेश्वरबाबाले २०३२ जेष्ठ १२ गते रात्री १ बजे समाधि लिएपछि देवघाटस्थित गलेश्वरआश्रमको प्राङ्गणमा, खप्तड स्वामीले वि. सं. २०५३ वैशाख २६ गते विहीबार समाधि लिएपछि बुढानीलकण्ठभन्दा केही माथि, परमानन्द स्वाजीले वि. सं. २०५३ माघ १८ गते पशुपतिमन्दिरनजिक समाधि लिएपछि देवघाटस्थित हरिहर आश्रम परिसरभित्र, योगीराज नरहरिनाथ महाराजले वि. सं. २०५९ फाल्गुन १३ गते समाधि लिएपछि सूर्यास्तसँगै गोरखनाथपीठ मृगस्थलीमा प्रात:स्मरणीय परमपूजनीय गुरुदेव डा. स्वामी प्रपन्नाचार्यजी महाराजले वि. सं. २०७२ भाद्र ४ गते शुक्रबार बिहान ४ बजे समाधि लिएपछि सोही दिन मृगस्थलीको चन्द्रेश्वरसत्तलपछाडि अमलाको फेदमा सूर्यास्तसँगै भूसमाधि दिइएको थियो ।

शव गाडेको ठाउँमा सन्तति र निकटस्थ व्यक्ति आएर रुन्छन्, प्रतिदिन जनसंख्या बढ्दै गएकाले शव गाड्ने ठाउँ पाउन गाह्रो भएकाले विशेष परिस्थितिबाहेक अग्निदाह गर्नु हरेक दृष्टिले सर्वोत्तम हुन्छ ।

उदाहरणका लागि भूसमाधिले मृगस्थली कुरूप बनेको छ । गणतन्त्रको भूमरीपछि क्रिश्चियनहरू पनि मृगस्थलीलगायतका तीर्थस्थलमा गाडिएर शिवलोक जान खोजेका छन् । यही क्रम बढ्ने हो भने हाम्रा देवस्थलका अधिकांश भाग क्रिश्चियनको समाधिस्थलले ढाक्न समय लाग्दैन ।

मशानघाटले रहस्यको सूचना दिन्छ, ज्ञानको सञ्चार गराउँछ, मृतात्मालाई मार्गप्रशस्त गरिदिन्छ । झगडा, द्वन्द्व, विद्रोहलगायतका विषयहरूले कसैलाई लाभ दिँदैन भन्ने ज्ञानलाई लाश र मशानघाटले बताउँछन् । मशानघाटले मौनरूपमा जीवनको बोध, ब्रह्मण्डकै रहस्य, ज्ञानको प्रकाश गराउँछ । कोही मरेको देख्यो, सुन्यो भने दु:ख र आश्चर्य जनाउँछ तर जन्म किन भयो ? जीवन के हो ? मेरा को हुन् ? मैले के गर्नुपर्छ ? यी सबै बुझ्न मशानघाटमा न त भर्ना शुल्क तिर्नुपर्छ, न त परीक्षा पास गर्नुपर्छ, न त पाठ रट्नुपर्छ, न त थेसिस् लेख्ने समस्या हुन्छ, न त परीक्षकले फेल गराउने डर हुन्छ ।

विनापैसा, विनाशिक्षक एकै क्षणमा सत्य बुझिन्छ, परमात्मा भेटिन्छ, लौकिक सम्बन्ध मेटिन्छ  । यसकारण नि:शुल्कमा सिक्ने, शिक्षक बिना पढ्ने, जीवनलाई बुझ्ने, जगत्लाई जान्ने संसारको सबैभन्दा ठूलो र अनुपम विश्वविद्यालय मशानघाट हो ।