१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते विकासको गतिमा देश अगाडि बढेको छ, देखिएका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री पाँच दिनदेखि बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन सांसद चन्दको प्रश्नः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो पूर्वराजालाई पार्टी अध्यक्ष बनाउन राप्रपालाई देउवाको सुझाव ६६ लाख ५९ हजारले लिए स्थायी लेखा नम्बर, सात महिनामै ४ लाख २६ हजार करदाता… दीपक मलिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता



अ+ अ-

झापा । पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल स्थानीय जनप्रतिनिधिसहित नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज राई बाँसको मुडामा बसिरहनु भएको थियो । एक स्थानबाट अर्को स्थानमा बोकेर सार्नुपर्ने अवस्थाका उहाँका बुवा र आमा घरमा नहुँदा सनाखत गर्न नसकेर नागरिकता प्रमाणपत्र बन्न सकेको थिएन ।

विसं २०६० मा मेचीनगर–३ दोकान डाँडामा जन्मनु भएका उहाँ अपाङ्ग भएको थाहा पाएका दिनदेखि बुबा घरबाटै वेपत्ता भएको र आमा वैदेशिक रोजगारीबाट लामो समयदेखि नफर्किएको क्षितिजका छिमेकी शिक्षक देबु बानियाँले बताउनुभयो । उहाँको नागरिकता बनाउन बिगत पाँच वर्षदेखि पहल भइरहेको थियो ।

“आमा विदेशमा र बाबु वेपत्ता भएपछि मावली हजुरबुवा र हजुरआमाले क्षितिजको हेरचाह गर्दै आउनुभएको थियो,” नागरिकताका लागि पहल गर्नुभएका शिक्षक बानियाँ भन्नुहुन्छ,  “हजुरआमाको पनि निधन भएपछि वृद्धावस्थाका हजुरबुबाले कनिकुथी हेरचाह गरिरहनु भएको छ ।”

ढिलै भएपनि नागरिकता बनेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताउनुहुन्छ । नागरिकताको आधारमा अब क्षितिजले सरकारबाट मासिक सामाजिक सुरक्षा भत्ता पाउने हुनुभएको  छ ।

क्षितिजलाई बिहानदेखि बेलुका सम्म बाँसको मुडामा राख्ने गरिएको छ । उहाँलाई खानासमेत हजुरबुवा कुमार सुब्बाले मुडामै राखेर खुवाउने गर्नुभएको छ ।

“नागरिकता उहाँको नैसर्गिक अधिकार हो,” सहायक प्रजिअ नेपालले भन्नुभयो, “प्रशासनसम्म आउन नसक्ने सही व्यक्तिको पहिचान गरी स्थानीय जनप्रतिनिधिको सहयोगमा आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता पुर्‍याएका हौँ ।”

चालु आर्थिक वर्षमा जिल्लाका चार जना पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता प्रदान गरिएको सहायक प्रजिअ नेपालले बताउनुभयो । यसरी घरमै नागरिकता प्रमाणपत्र पाउने अरु तीन जना बुद्धशान्ति गाउँपालिका–४ र ५ का छन् । बुद्धशान्ति गाउँपालिका–५ का वडाध्यक्ष डेगेन्द्र कार्कीले पूर्ण अपाङ्गता भएका २२ वर्षीय सौरभ चापागाईंको आफैँले पहल गरेर नागरिकता बनाइदिएको बताउनुभयो । रासस