
काठमाडौं । रूसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धका क्रममा मारिएका नेपालीका परिवार शव पहिचान गर्न र क्षतिपूर्ति दाबी गर्न रुस गएका छन् । नेपालबाट बुधबार ६ जना मस्को गएका हुन् । सरकारी समन्वयमै पीडितहरु रुस गएका हुन् ।
सरकारी र कार्यालय प्रयोजन बाहेक अहिले नेपालीलाई रुस जान सरकारले नै रोक लगाएको छ । तर सेनामा भर्ना भएर मारिएकाहरूका परिवारलाई शव पहिचान र क्षतिपूर्तिको दाबी गर्न परराष्ट्र मन्त्रालयकै समन्वयमा रूस पठाइएको हो ।
रुस जानेहरुमा झापाका–२, सिन्धुपाल्चोकका–१, खोटाङका १, गोर्खाका १ र रूपन्देहीका १ जना छन् ।
अवैध बाटोबाट रूस पुगेर त्यहाँको सेनामा भर्ना भएका ४८ जना नेपालीको ज्यान गइसकेको परराष्ट्र मन्त्रालयको तथ्यांक छ । तर मृतकको संख्या त्यसभन्दा बढी हुनसक्ने आशंका छ । यसरी युद्धमा मारिएकाहरूका परिवारले सहजै क्षतिपूर्ति नपाएपछि रूस नै जान बाध्य भएका हुन् । अहिले क्षतिपूर्ति खोज्दै रूस गएका अधिकांश मृतकका श्रीमती हुन् ।