१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेशियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र



अ+ अ-

काठमाडौं । मलेशियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उहाँको भनाइ छ । पाँच महिनादेखि बिनारोजगार कोठामा बसिरहँदा खर्च अभाव भएको उहाँले बताउनुभयो । “पाँच महिनादेखि काम गर्न पाएको छैन”, श्रेष्ठले भन्नुभयो, “मलेशियास्थित नेपाली दूतावासमा अनलाइनमार्फत नेपाल आउन पटकपटक फर्म भर्यो तर नियमित उडान नहुँदा महङ्गो पर्ने भन्दै कम्पनीले पठाउन मान्दैन ।”

नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उहाँको भनाइ छ । चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुँदा समस्या भएको भन्दै उहाँले सहयोगका लागि अनुरोध गर्नुभयो ।

मलेशियाबाट नेपाल आउनका लागि नियमित उडानमा छ सयदेखि सात सय रिङ्गेट लाग्छ भने चार्टर्ड उडानमा एक हजार ५९० रिङ्गेट पर्ने उहाँको भनाइ छ । विमानस्थल पुग्न छ घण्टा हिँड्नुपर्ने र त्यसको लागि ७० रिङ्गेट तथा कोरोना परीक्षणका लागि ३५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको अर्का नीरकुमार तामाङले बताउनुभयो । कम्पनीले खर्च नबेहोर्दा नेपाल आउन उनीहरुले रु ५६ हजार ७९ तिर्नुपर्ने हुन्छ । 
  
खान र बस्नका लागि कम्पनीले व्यवस्था गरेको भए पनि कम्पनीले दिने खाद्यान्नले नपुग्ने विकास विश्वकर्माले बताउनुभयो । नौ जनालाई हप्तामा २० केजी चामल दिने भए पनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । नेपाली दूतावासलाई भनेपछि एक महिनायता मात्रै व्यस्था गरेको उनीहरुको भनाइ छ ।

खानाकै लागि एक जनालाई ४०० रिङ्गेट खर्च हुने घनश्याम श्रेष्ठ बताउनुहुन्छ । अहिले त्यस क्षेत्रमा पनि कोरोना देखिन थालेकाले जोखिम बढेको भन्दै उद्धारका लागि अनुरोध गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो । अब खानाकै लागि नेपालबाट खर्च मगाउनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

अलपत्र पर्नेमा झापाका नीरकुमार, धरानका विकास र राजु विश्वकर्मा, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अम्मर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम रहनुभएको छ ।