८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेपाली लोकरकमा रमायो पृथ्वीकै तल्लो सहर

नेपाली लोकरकमा रमायो पृथ्वीकै तल्लो सहर
अ अ+ अ-

होबार्ट (अस्ट्रेलिया): एक त थोरै जनसंख्या, त्यसमाथि बेलुकीको साढे ५ बज्नासाथ सारा बजार बन्द गर्नुपर्ने चलन छ । एन्टाकर्टिका महादेशनजिकै पर्ने अस्ट्रेलियाली टापु तास्मेनियाको राजधानी सुनसान भइसकेकै बेला मंगलबार एउटा कुनामा भने चर्को आवाजबीच ठूलो भिड नाचिरहेको थियो ।

त्यो ठाउँ थियो एक सय १० वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’, जहाँ नेपथ्यले नेपाली लोकरक सुनाइरहेको थियो । र, त्यहाँ दुई दिनपछि नै ख्यातिप्राप्त बेलायती गायक बब गेल्डफ प्रस्तुत हुनेवाला छन् ।   अस्ट्रेलियाको केन्द्रीय राजधानी क्यानबेराबाट सुरु भएको यस वर्षको शृंखलाबद्ध यात्रामा वेस्टर्न अस्ट्रेलियाको पर्थ र क्विन्सल्यान्डको ब्रिसबेनपछि तास्मेनियाको होबार्टमा नेपथ्यले प्रस्तुति दिएको हो ।

भरिभराउ हलमा नेपाली दर्शक सुरुदेखि नै रमाइलोसँग नाचिरहेका थिए तर त्योभन्दा पनि कम रमाइलो थिएन मार्टिन हिंगिन्स लगायतका थुप्रै विदेशी रमाइरहेको दृश्य ।

मार्टिन सुरुदेखि नै आफूलाई मञ्चको ठीक सामुन्ने राखेर प्रत्येक गीतमा उफ्रिँदै नाचिरहेका देखिन्थे । त्यस्तरी रमाउने व्यक्ति विदेशीजस्तो देखिएका नेपाली नै पो हुन् कि भनेर छेउमा गई अंग्रेजीमा ‘के तपाईं नेपाली हो?’ भनी सोध्दा  जवाफ आयो, ‘होइन, म बेलायती हो  । र, केही वर्षदेखि यहाँ अस्ट्रेलियामा बसेर काम गरिरहेको छु ।’

‘भाषै नबुझी कसरी दुई घण्टासम्म लगातार नाच्न सकिन्छ ?’ कन्सर्टको चर्को आवाजबीच उनले जवाफ दिन अप्ठेरो माने र पछि कुरा गर्ने भन्दै आफ्नो मोबाइल नम्बर टिपाए ।

यहाँस्थित प्रसिद्ध संग्रहालय ‘मोना म्युजियम’ मा काम गर्ने मार्टिन त्यसै स्थानमा काम गर्ने नेपाली साथीहरूबाट प्रभावित भएका रहेछन् । पोहोर मात्रै नेपाल गएर दुई महिना बसेको बेला उनलाई ‘रेशम’ गीत असाध्यै मन परेको रहेछ ।

‘त्यसै पनि संगीतको विश्वव्यापी भाषा हुन्छ,’ कन्सर्ट सकिएपछि उनले मोबाइलमा प्रतिक्रिया दिए, ‘त्यसबाहेक त्यहाँ सबै जना सुरुदेखि झुमेर नाचिरहेको देख्दा म पनि स्वतः उनीहरूलाई साथ दिन पुगेँ ।’

हलको पछिल्लो लहरमा ओछ्याइएको कुर्सीमै बसेर कन्सर्ट हेरेकी मार्गरेटले भने एकपटक पनि नेपाल जाने मौका पाएकी रहिनछिन् । उनलाई फरक–फरक मानिस र तिनका फरक संस्कृतिमा रुचि रहेछ । पछिल्लो समय होबार्टमा उल्लेख्य संख्यामा नेपाली देखिन थालेको र आफूलाई उनीहरू मन पनि पर्ने गरेको उनले सुनाइन् । त्यही मेसोमा नेपालीको गीत–संगीत कस्तो हुँदो रहेछ भन्ने जिज्ञासाले आफूजस्तै पाका उमेरका चार अस्ट्रेलियाली साथीसँग कन्सर्ट हेर्न आएको उनले बताइन् । ‘रमाइलो लाग्दै छ,’ उनको प्रतिक्रिया थियो ।

अस्ट्रेलियाकै सबैभन्दा शान्त यो प्रादेशिक राजधानीमा नेपालीको संख्या बढिरहेको छ । यस प्रदेशमै अंग्रेजीपछि सबैभन्दा बढी बोलिने भाषा नै नेपाली बन्न पुगेको स्थानीय रेकर्डले देखाउँछ । केही वर्षअघिसम्म दोस्रो बढी बोलिने भाषा चिनियाँ थियो तर भुटानी शरणार्थीको समेत आप्रवासन गराइएपछि र नेपालबाटै तन्नेरी पनि आउने क्रम बढेपछि चिनियाँलाई नेपालीभाषीको संख्याले उछिनेको हो ।

‘अस्ट्रेलिया आएको छ वर्षमा पहिलोपटक नेपथ्यलाई सुन्ने मौका आज पाएँ,’ कुनै समय कान्तिपुर टेलिभिजनमा काम गरेका सञ्चारकर्मी कञ्चन अर्याल भनिरहेका थिए, ‘कोशीको पानी र पचासै वर्षमा गीत मैले पहिलोचोटि आजै कन्सर्टमा सुनेँ ।’
कञ्चन मोटरमा दुई घण्टा टाढा पर्ने लन्चेस्टनबाट परिवारसहित कन्सर्टमा आइपुगेका थिए ।

‘नेपथ्यले खोजीमा आधारित गीत तयार गर्ने भएकाले यो ब्यान्डसँग नयाँ के थपिएको छ भन्ने हुटहुटीले हेरूँहेरूँ पारिरहन्छ,’ उनी भनिरहेका थिए, ‘अर्को उल्लेखनीय पक्ष भनेको गायक अमृतले नेपालको सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा व्यक्त गर्ने धारणा हो ।’
जस्तो कि मंगलबारै पनि अमृतले शिरफूल गीत सुनाउनुअघि ‘यो चैतमा उता डाँडाभरि चिमाल र लालीगुराँसको बास्ना फैलिरहेको होला । एकपटक मिलाएर भए पनि स्वदेश जानुस्’ भनिरहेका थिए । गाउँ–गाउँबाट उठ गाउने बेला ‘देशलाई फेर्छु भन्ने नेताहरू आफैँ फेरिए’ भनेर दुखेसो पोखिरहेका थिए । त्यसै गरी ‘भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततिसम्मै जोगाएर विस्तार गरौँ है’ भनिरहँदा पनि कञ्चनलाई उत्तिकै मनमा छोएको थियो ।

मंगलबारको कन्सर्टमा दर्शकको हुलमै स्थानीय आयोजक साजन परियार पनि थिए । ‘दर्शक रमाएको देख्दा आनन्द आउने नै भयो,’ उनले थपे, ‘नेपथ्य कन्सर्ट आयोजना गर्दा धेरै कुरा सिक्ने मौका पनि मिल्छ ।’

दर्शकदीर्घामै लठ्ठी टेकेर आएका ८१ वर्षीय केबी गुरुङ पनि थिए । नाति–नातिनी भेट्न बेलायतबाट दुई साताअघि मात्र यहाँ आइपुगेका उनले यसअघि पनि धेरैपटक नेपथ्यको कन्सर्ट हेरेका रहेछन् ।
‘यहाँ आएको बेला पनि संयोग जुर्‍यो,’ उनले थपे, ‘यसपाला पनि उस्तै रमाइलो लाग्यो ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।

होबार्टपछि ब्यान्ड तास्मेनिया टापुबाट मास्तिर उक्लेर एडिलेड सहर पुग्नेछ । त्यहाँस्थित ‘हिन्डले स्ट्रिट म्युजिक हल’मा मार्च २१ मा नेपथ्यको पाँचौँ कन्सर्ट हुनेछ । मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’मा नेपथ्य प्रस्तुत हुनेछ । त्यसपछि अन्तिम शो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ ।

पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ को साँझ आयोजित कन्सर्टका लागि टिकट ‘सोल्ड आउट’ भइसकेको छ । शोका लागि सबै टिकट तीन साताअघि नै बिक्री भइसकेपछि दर्शकको चाहनालाई सम्मान गर्दै अर्को शो थपिएको छ । अब नेपथ्य साढे पाँच हजार क्षमताको ‘होर्डन पभिलियन’ हलमा मार्च ३० मा पनि प्रस्तुत हुनेछ । त्यसलगत्तै ब्यान्ड स्वदेश फिर्नेछ ।