२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

नेपाली कांग्रेस १४औं महाधिवेशनः शेरबहादुर देउवा पुनः सभापतिको प्रत्यासी बन्ने तयारीमा

नेपाली कांग्रेस १४औं महाधिवेशनः शेरबहादुर देउवा पुनः सभापतिको प्रत्यासी बन्ने तयारीमा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनमा पनि सभापतिको प्रत्यासी बन्ने तयारीमा जुटेका छन्। पार्टी नेतृत्वमा पुनः दोहोरिने रणनीतिका साथ सभापति देउवाले महाधिवेशनको मुखमा आएर विभागहरू गठन र विस्तार गरेको आरोप इतर समूहले लगाउँदै आएका छन्। विभाग गठन र विस्तारलाई देउवाको पार्टी कब्जाको रणनीति भन्दै नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितले विरोध गर्दै आएका छन्। सभापतिले विस्तार गर्ने विभागहरूमा सहभागी नहुन उनीहरूले निकट जिल्ला सभापतिमार्फत देशभरिका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै आएका छन्। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जुम मिटिङमार्फत देउवाविरोधी अभियानलाई इतर पक्षले बढाउँदै लगेका छन्। जिल्ला सभापतिहरूले पनि इतर समूह गुटहरूको महासंघजस्तो भएको बताउँदै आगामी महाधिवेशनमा सभापतिदेखिको टिम तत्काल बनाउन दबाब दिँदै आएका छन्।  

तल्लो तहबाट समेत नेताहरूमा दबाब पर्नुका साथै सभापति देउवाले विभाग गठनलाई निरन्तरता दिएपछि इतर समूहले आगामी रणनीति बनाउने जिम्मेवारी पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता अर्जुननरसिंह केसीलाई दिएका छन्। आगामी महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको टिमै बनाएर अघि बढ्ने विषयमा छलफल र गृहकार्य भइरहेको पूर्वमहामन्त्री सिंहले जानकारी दिए। ‘सभापतिजी विधि र विधानविपरीत पार्टी कब्जा गर्ने रणनीतिमा अघि बढ्नुभएको छ,’ सिंहले भने, ‘त्यसविरुद्ध सबैको छलफलबाट १४औं महाधिवेशनमा एकदमै प्रभावशाली टिम खडा गर्नेछौं, सभापतिदेखि सदस्यसम्मको।’तर इतर समूहका प्रभावशाली नेताहरू पौडेल, शशांक, सिंह, रामशरण महत, शेखर कोइराला सबै सभापतिका आकांक्षी छन्।  १३औं महाधिवेशनमा पनि सभापतिको प्रत्यासी बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पुनः सभापतिको प्रत्यासी बन्ने बताउन छाडेका छैनन्।

इतर समूहमा सभापतिको आकांक्षी धेरै रहेको र एउटै उम्मेदवार बन्ने सम्भावना कम रहेको बुझाइमा रहेका देउवाले निकटहरूलाई आफू पुनः सभापतिको प्रत्यासी बन्ने बताइसकेका छन्। सोहीअनुसार तयारीमा जुट्न देउवाको  आग्रह छ। तर पार्टीभित्र देउवाविरोधी जनमत निर्माण हुँदै गएको र जनतामा पनि सोहीअनुसार धारणा बन्दै गएको भन्दै  कतिपय नेताहरूले अहिले नै हतार नगर्न उनलाई सुझाएको स्रोतको दाबी छ।  नेतृत्व हस्तान्तरणको आवाज पनि उठिरहेको भन्दै महाधिवेशन र आम निर्वाचनपछिको स्थान सुरक्षित बनाई पार्टी नेतृत्व हस्तान्तरण गरेर उदाहरण बन्न निकटहरूले आग्रह गरेको सुनाउँदै एक नेताले भने, ‘उहाँलाई मसँग भएका सबै छँदैछन्, पार्टीमा आएका विजयकुमार गच्छदार, सुनिल थापासहितको समर्थन पाउँछु भन्ने छ तर परिस्थिति त्यति सहज छैन।’  

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजयपछिका दिनमा देउवाको छविलाई लिएर पार्टीभित्र र बाहिर प्रश्न उठिरहेको छ। अब १३औं महाधिवेशनअघिको जस्तो देउवाअनुकूल वातावरण नहुने ती नेताको भनाइ छ। ‘अहिले सभापति भएका कारण पनि केही न केही फाइदा उहाँ (देउवा) लाई पुग्छ नै,’ उनले भने, ‘तर १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने आश्वासन देउवाबाट पाएको उपसभापति विमलेन्द्र निधिको भूमिका के हुन्छ, त्यसले पनि निर्धारण गर्छ।’ निधिले देउवासँगको छलफलपछि मात्र १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिने बताउँदै आएका छन्। निधिले बिहीबार सभापति देउवालाई भेटेर सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको जानकारी दिँदै ती नेताले भने, ‘निधिजीले सभापतिमा सहयोग गर्न देउवासँग प्रस्ताव गर्नुभएको छ। त्यसले उहाँलाई थप दबाब पर्ने देखिन्छ।’  

देउवालाई भेट्न बिहीबार उनकै निवास पुगेका निधिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार नयाँ संविधान, स्थापित राजनीतिक प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्न लागिरहेकाले त्यसको संरक्षणका लागि आगामी निर्वाचन कांग्रेसले जित्नैपर्ने रहेको बताएका थिए। त्यसका लागि पार्टीको आगामी महाधिवेशनबाट सकेसम्म सर्वसहमतिबाट नेतृत्व चयन होस् भन्ने आफ्नो चाहना रहेको जनाउँदै निधिले आगामी महाधिवेशनमा सभापतिमा आफूलाई सहयोग गर्न देउवासँग प्रस्ताव गरेको स्रोतको दाबी छ।  

केही दिनअघि मात्र महामन्त्री शशांकसँग सहयोग मागेका सभापति देउवाले सर्वसम्मतिबाट नेतृत्व चयन हुने सम्भावना नरहेको भन्दै यसपटकलाई आफैंलाई सहयोग गर्न आग्रह गरेको स्रोतको दाबी छ। सर्वसम्मतिका लागि कसै न कसैले पहल लिनुपर्ने भन्दै निधिले सभापति देउवालाई पार्टी अभिभावक बन्न प्रस्ताव गरेको जनाइएको छ। देउवाले १५औं महाधिवेशनमा सहयोगको आश्वासन दिए पनि निधिले त्यसबेला आफू ७० वर्षको भइसक्ने भन्दै सभापतिमा ‘सुट’ गर्दैन भनेको स्रोतको दाबी छ। ‘चुनाव लड्न कार्यकर्तासँग व्यापक सम्पर्क गर्नुपर्छ। तपाईं अर्कोपटक लडे भइहाल्छ नि। मपछि तपाईं नै हो। मेरो अर्को को छ र ?’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसपटक मलाई नै सहयोग गर्नुस्।’

निकट नेताहरूसँग सभापतिसमक्ष राखेको प्रस्तावबारे जानकारी गराएका निधिले नेता रामचन्द्र पौडेलसँग पनि मुलुकको आगामी चुनौती सामना गर्न पार्टीको महाधिवेशन सर्वसम्मतिले नेतृत्व चयन गर्नुपर्ने भन्दै अभिभावक बन्न र नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरेको स्रोतको दाबी छ। निधिले यसअघि महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि छलफल गरेका थिए। नागरिक दैनिक