काठमाडौँ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले आफ्नो कम्तीमा पनि १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट खेल जीवनबाट बिदा लिने भएका छन् । उनले शनिबार सो निर्णय गरेको आजका सबैजसो भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
धोनीले सन् २०१४ को डिसेम्बरबाट नै टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । धोनीले शनिबार एकदिवसीय र टी(२० अन्तर्राष्ट्रिय क्रिकेट पनि नखेल्ने निर्णय गरेको सो समाचारमा जनाइएको छ ।
उनले तर व्यावसायिक क्रिकेट भने खेल्ने भएका छन् । धोनीले सिजनको आइपिएलमा चेन्नई सुपरकिंग्सको नेतृत्व गर्नेछन् भनी भारतीय मिडियाले जनाएका छन् ।
क्रिकेटका सम्राट धोनी भारतमा बढी मन पराइएका क्रिकेटर हुन् । उनले सन् २०१९ को विश्वकपछि भारतीय टिमबाट खेलेका थिएनन्। त्यसअघि उनले भारतीय टिमलाई दिएको योगदानका कारण उनी सधैं चर्चाको शिखरमा रही आएका छन् । आफ्नो क्रिकेट खेल करिअरको दौरानमा उनले दर्जनौ रेकर्डहरु बनाएका छन् । त्यसैले पनि उनी भारतको ठूलो क्रिकेट फ्यानहरुको जमातमा निकै नै लोकप्रिय खेलाडी हुन् ।
धोनीलाई आइसिसीको तीन प्रतियोगिता जित्ने एक्लो कप्तानका रुपमा पनि चिनिन्छ । धोनीको नेतृत्वमा भारतले सन् २००७ को टी(२० विश्वकप, २०११ को एकदिवसीय विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जित्यो।
उनले भारतका लागि ३३२ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका थिए । जसमा २०० एकदिवसीय, ६० टेस्ट र ७२ टी(२० समावेश छन्। अस्ट्रेलायाका रिकी पोन्टीङ धोनी भन्दा ८ खेल कम ३२४ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेर दोस्रो स्थानमा छन्। धोनी तीनै फर्म्याटको क्रिकेटमा ५० बढी खेलमा कप्तानी गर्ने एक्लो कप्तान हुन्।
त्यसैगरी धोनी एकदिवसीय प्रतियोगिताको बढी फाइनल जित्ने कप्तान पनि हुन्। उनले भारतलाई २ भन्दा बढी टिम सहभागी ६ वटा एकदिवसीय प्रतियोगिता फाइनल पुर्याए। यस्तै उनी कप्तानको रुपमा बढी एकदिवसीय खेल जित्ने दोस्रो कप्तान हुन्। उनले कप्तानको रुपमा ११० खेल जिते ।










