३२ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले गोली चलायो, एक जना घाईते



अ+ अ-

धनुषा । सबैला नगरपालिकामा चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली चलाएको छ ।

सोमबार नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर सहिद नगरपालिका-१ कुम्भकरणका २० वर्षीय सन्तोष यादव घाइते भएका छन् । कम्मरमुनी गोली लागेका यादवको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

चोकको नामाकरणका विषयमा भएको विवादले उग्ररुप लिएपछि भीड नियन्त्रणमा लिन गोली चलाउनुपरेको डीएसपी सिंहले बताए ।

भठिहनस्थित चोकमा केही दिन अघि यादव चोक लेखिएको बोर्ड राखिएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको थियो । आइतवार पनि दुई पक्षबीच झडप हुँदा प्रहरीले आश्रुग्यास हानेर स्थिति नियन्त्रणमा लिएको थियो ।