१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन



अ+ अ-

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्रकवि घिमिरेको  उहाँकै निवासमा मंगलबार साँझ ५.५५ बजे निधन भएको हो।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०० वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।

गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छुनु भएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उहाँका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् । मालतीमङ्गले उहाँले लेख्नुभएको बहुचर्चित नेपाली नृत्यनाटिका ९ओपेरा० हो । अश्वत्थामा (अङ्ग्रेजी) कृति नोबेल पुरस्कारको मनोनयनका लागि पठाइएको थियो ।     
     
घिमिरेका किन्नरकिन्नरी गीतसङ्ग्रह, यो नेपाली शिर उचाली, फूलको थुँगा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे बोललगायत थुप्रै गीत तथा निबन्ध एवं बालसाहित्य प्रकाशित छन् । उहाँका थुप्रै बाल कवितामध्ये साना बालबालिकालाई ध्यानमा राखेर ‘मुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुक‘ अत्यधिक लोकप्रिय मानिन्छ ।     

राष्ट्रियता, देशभक्ति, प्रकृति र प्रेमप्रणयका भावले ओतप्रोत उहाँका कृतिमा परिष्कृत र स्वच्छन्दतावादी भावधारा पाइन्छ । नेपाली लोकलयमा प्रभावशाली गीत रचना उहाँको अर्को विशेषता हो । उहाँले संस्कृत छन्दका नियमभित्रै रहेर छन्दोबद्ध कवितालाई सरल र बहुसङ्ख्यक नेपाली पाठकले बुझ्नेस्तरमा उकाल्नुभएको मानिन्छ ।     

अल्पायुमै पत्नी गौरीको निधन भएपछि उहाँले अत्यन्त प्रभावकारी शैलीमा शोककाव्यको रचना गर्नुभयो जुन उहाँको काव्ययात्राको कोशेढुंगा सावित भयो । त्यसपछि उहाँले महाकाली घिमिरेसंँग विवाह गर्नुभयो ।     

लमजुङको पुस्तुन बाहुनडाँडाबाट काठमाडाँैं आउनुभएका घिमिरेका काव्यकृतिमा मस्र्याङ्दी नदी र त्यहाँको लोकजीवनले अत्यन्त महत्वपूर्ण पाश्र्वभूमिको काम गरेका छन् । उहाँ नेपाली कवितामा पूर्वीय दार्शनिक भावभूमि र प्रखर राष्ट्रवादका हिमायती हुनुहुन्थ्यो । उहाँको ऋतम्भरा महाकाव्य लेखन अन्तिम चरणमा थियो ।     

विसं २०७४ माघ २६ गते उहाँलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दर्जा दिएको थियो भने सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साल फागुन २ गते जङ्गीअड्डामा आयोजित समारोहमा दर्जानी चिह्न प्रदान गर्नुभएको थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसम्म हुनुभएका उहाँलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो ।     

उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिने र नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गर्ने जनाइएको छ ।