८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा



अ+ अ-

म्याग्दी। बेनी–दरबाङ सडकको रणवाङ–तोलावाङ खण्डमा कालोपत्र भएको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मङ्गला गाउँपालिका–२ रणवाङको खहरेखोलादेखि रणवाङ–सहश्रधारा–दुखुखोला–तल्लोदुखु–रातोढुङ्गा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो । खहरेखोलाबाट तोलावाङसम्म तीन किलोमिटर तीन सय मिटर सडक कालोपत्र भएको छ ।

“फराकिलो पार्ने, पानीको निकास, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा माघ १९ गतेदेखि सुरु गरिएको कालोपत्र गर्ने काम फागुन २७ गते सकिएको छ”, पौडेलले भन्नुभयो, “बाङ्गेपहिरो छाडेर बाँकी ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।”

मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग रु २२ करोड ५७ लाख ९३२ मा सम्झौता भएको हो ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर यो सडक २०६३ सालमा खुलेको हो । यसअघि बेनी–सिमसम्म १२ दशमलव पाँच किलोमिटर खण्ड भने कालोपत्र भइसकेको छ । सिम–पानाबगर खण्डको चार किलोमिटरको काम पनि पूरा भएको छ ।रासस