काठमाडौं । अमेरिकाले युएसएआईडीका अधिकांश कार्यक्रम रद्द नै गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिरहेको बताएका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले गतजनवरीमा सत्ताको बागडोर सम्हालेलगत्तै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर विदेशमा खर्चको मूल्याङ्कन गर्न समय दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोकेका थिए । “छ हप्ताको समीक्षा पछि, हामी आधिकारिक रूपमा युएसएआईडीका ८३% कार्यक्रम रद्द गर्दैछौं,” रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरेका छन् ।
“अहिले रद्द गरिएका पाँच हजार २०० सम्झौतामा अर्बौं डलर खर्च गरिएको थियो, जुन संयुक्त राज्यको मूल राष्ट्रिय हितहरूसँग मेल खाँदैन (र केही अवस्थामा हानि पनि पुर्याएको) थियो”, उनले भनेका छन् ।
युएसएआईडीले विश्वभर अमेरिकी मानवीय सहायता प्रदान गर्दछ । लगभग १२० देशहरूमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू सञ्चालन गर्दछ ।
रुबियोले सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अर्बपति एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डीओजीई) लाई धन्यवाद दिएका छन् ।










