८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

फिरन्ते वनकरियाको जीवनशैली फेरिँदै

फिरन्ते वनकरियाको जीवनशैली फेरिँदै
अ+ अ-

हेटौँडा, (मकवानपुर) । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल उसिनेर खाने गरेको आजझैँ लाग्छ । फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदायलाई २०६२ सालमा तत्कालीन जिल्ला विकास समितिले सामुदायिक वनको छेउमा २० वर्षका लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ । नौ सन्तानकी आमा उहाँलाई अहिले पनि उही अवस्थाको जीवन र सुत्केरी अवस्थामा कटाएका कहालीलाग्दा दिनहरूले झस्क्याउने गर्छ ।

एकमात्र स्थानमा मात्र रहेको वनकरिया समुदायकी मुखिया सन्तमायाले २२ वर्षसम्म वनमा फिरन्ते जीवन बिताउनुभयो । चेपाङको छोरी भएकाले विवाहभन्दा अगाडि भने उहाँ बस्तीमा नै बस्ने गरेको र वनकरियासँग कन्दमूल खोज्न जाँदा मन परेर उतै विवाह गरेर बसेको बताउनुभयो । सन्तमायाले नौ सन्तान जन्माउनुभयो ।

“चार सन्तान वनमा र पाँच सन्तान बस्तीमा जन्माए”,उहाँ सम्झनुहुन्छ, “घना जङ्गलबीचमा त्यो बासस्थानको ठेगान नभएको, मान्छे मरेपछि खोल्सो कटेर बस्ने चलनले गर्दा फिरन्तै भएका थियौँ ।” फिरन्ते जीवनबाट हालको जीवनसम्म आइपुग्दा निकै कष्ट भोगेको सन्तमाया बताउनुहुन्छ । उहाँका अनुसार वर्षमा तीन महिना गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो खनेर खाए पनि बाँकी समय खानेकुरा खोज्नका लागि पुरुषले माछा मार्ने र महिलाले कुचो बाँध्ने काम गर्ने गरेका छन् ।

सन्तमाया भन्नुहुन्छ, “माछा र कुचो गाउँमा लगेर बेच्दा पनि कहाँ खान पाउनु र रु पुग्दैनथ्यो । बालबच्चा नि धेरै हुन्थे ।” वनकरियाको मुख्य खाना खनायो, नेमारो, च्याउ, माछा र कुरिलो हो । केराको पातले बनाएको छाप्रो अनि केराकै पात लगाउने गरेको सम्झना गर्दै मुखिया सन्तमायाले जङ्गलको झारपात नै औषधिका लागि प्रयोग हुने गरेको बताउनुभयो । उहाँलाई आफू कता जन्मेको थाहा छैन तर जङ्गलमा नै विवाह भएर २० वर्ष बिताएको मात्र याद छ ।

विवाहोत्सव वा चाडपर्वमा पनि गिठ्ठा नै मुख्य खान्कीका रूपमा रहेको सन्तमाया बताउनुहुन्छ । वनकरिया समुदायमा विवाह, जन्म, नामकरण, मृत्युबाहेक अन्य संस्कार नगर्ने चलन छ । मृत्युपछि बस्ने स्थान सरेर घरमा धेरै जहान हुने १३ दिन र नहुनेले सात दिनमा काजकिरिया गर्ने गरेको उहाँको भनाइ छ । बच्चा जन्माउँदा पनि सात दिनमा नै तितेपातीको पानी र सुनपानी छर्केर चोख्याने गरेको उहाँ बताउनुहुन्छ ।

सानै उमेरमा विवाह गर्नुभएकी सन्तमायाको जीवन वनमा नै सीमित रहन पुग्यो । विस्तारै बाहिरी मान्छेसँग भन्दा जनावरसँग डर नलाग्ने उहाँको भनाइ छ । खासगरी महिनावारी र सुत्केरी अवस्थामा गाह्रो भएको उहाँ सम्झनुहुन्छ । वनकरिया समुदायका बच्चाले पनि आमाको बाहेक दूध खान नपाएको उल्लेख गर्दै सन्तमायाले गाईभैँसी पालेर दूध, दही भाँडाभरि हुँदा छोराछोरी साना हुँदा खान नपाएको सम्झँदै रुन मन लाग्ने उहाँको भनाइ छ ।

दुई दशक जङ्गलमा बिते पनि हाल घरमा बस्न पाउँदा सन्तमायालाई खुसी मिलेको छ । अझै कहिलेकाहीँ वनको याद आउँदा बसेको स्थान हेर्न जाने गरेको उहाँ बताउनुहुन्छ । वनमा कन्दमूल र कहिलेकाहीँ साँटेको पिठो तथा चामलका भरमा दिन काट्दा खेती गर्ने र गाईवस्तु पाल्नेबारे थाहा नभएको सन्तमायाको भनाइ छ । उहाँसँग गाउँमा जन्मेर वनकरिया जातिका व्यक्तिसँग विवाह गरेपछि २० वर्ष जङ्गलमै बिताएको र अहिले फेरि गाउँमै बसेर समुदायको अगुवाइ गर्दाको अनुभव छ ।

सन्तमाया हाल खेती गर्ने, भैँसी पाल्नेमात्र होइन, साबुन उत्पादनमा पनि जोडिनुभएको छ । वनमा आधारित जीवनशैली भएका आफ्नो समुदायलाई मसिने शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परेपछि त्यहाँ कुचो काट्न जाँदा पनि सेनाले समातेर लगेको बताउँदै हाल आफ्नै गाउँ र मध्यवर्ती क्षेत्रको बाहिर जताततै पाइने तितेपाती, घिउकुमारी, निमजस्ता जडीबुटीबाट साबुन उत्पादन गरेर आम्दानीमा जोडिएको उहाँको भनाइ छ ।

सन्तमायासँगै बस्तीका महिलाले पनि खोला किनार र वनमा खेर गइरहेको तितेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनकरिया साबुन उद्योग सञ्चालनमा ल्याएर हाल उहाँहरू उद्यमी बन्नुभएको छ । विसं २०६२ मा जिल्ला विकास समति मकवानपुर र मनहरी गाविसको सहयोगमा वनको घुमन्ते जीवनबाट बस्तीमा बस्न आएका वनकरिया अहिले आत्मनिर्भर हुनका लागि सन्तानलाई विद्यालय पठाउनेदेखि सकेको काम गर्ने गरिरहेका सन्तमायाले बताउनुभयो । उहाँले जङ्गल जीवनमा जुन दु:ख काटिएको थियो त्यो आफ्ना छोराछोरीलाई नपरोस् भनेर प्रयन्त गरिरहेको बताउनुभयो । अन्न खानका लागि धेरै मेहेनत गर्नुपरेको बताउँदै सन्तमायाले भन्नुभयो, “अन्न खान रहर लाग्दा लोग्ने मान्छेले कुरिलो, कुचो, माछा लिएर बस्ती जाने सम्झँदै छोराछोरीले खाना खान पाइरहेकामा खुसी व्यक्त गर्नुभयो ।”

वनकरिया समुदायले सञ्चालन गरिरहेको उद्यममा स्थानीय सरकार र ग्रिन फाउन्डेसन नेपालको सहयोग जुटिरहेको छ । उहाँहरूले वनकरिया साबुन उद्योग सञ्चालन गरिरहनुभएको छ । मुखिया सन्तमायाका अनुसार साबुन बनाउन मेहेनत परे पनि कच्चा पदार्थ गाउँ वरपर नै पाइन्छ । यहाँ उत्पादन गरिएको साबुन घाउखटिरा, चिलाउने समस्या र छालाको रोगका लागि राम्रो हुने उहाँको भनाइ छ । उत्पादन वृद्धि र बजारीकरण गर्न समस्या हुने भएकाले वनमा आधारित उद्यम विकासका लागि ग्रिन फाउन्डेशन नेपालले सहयोग गरिरहेको मुखिया सन्तमायाले बताउनुभयो ।

जङ्गली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने वनकरिया समुदायमा पछिल्ला वर्षहरूमा क्रमश: परिवर्तन देखिएको छ । आधुनिक जीवनोपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी/एसइई परीक्षा उत्तीर्ण गरेका छन् । दुई किशोरी प्राविधिक क्षेत्रमा लागेका छन् । वनकरिया समुदाबाट पहिलोपटक एसइई परीक्षा ९२०७२० उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याब असिस्टेन्ट टेक्निसियन विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहेको मुखिया सन्तमायाले जानकारी दिनुभयो ।

पछिल्ला वर्ष सरकारले वनकरिया समुदायलाई जनही मासिक रु चार हजार सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि उनीहरूको आर्थिक अवस्थामा सुधार आएको छ । अठार वर्षदेखि सुकुम्बासीका रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरियाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालबाट यहाँको कबुलियती वनमा सरकारले नै बस्न दिएको हो । यही बसोबास गरेकै स्थानमा उनीहरुले सामूहिक लालपुर्जाको माग गर्दै आएका छन् । मुसेधापमा अहिले २५ परिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।

नेपालका लोपोन्मुख १० जातिमध्ये वनकरिया एक हो । विसं २०५९ मा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । करिब दुई दशक अघिसम्म वनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका नागरिक अहिले मकवानपुरको मनहरि गाउँपालिका–४ वनकरिया बस्तीमा बस्छन् । रासस