८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

कला प्रदर्शनी : एक हजार बढी कला पारखीद्वारा अवलोकन

कला प्रदर्शनी : एक हजार बढी कला पारखीद्वारा अवलोकन
अ+ अ-

काठमाडौं । नेपाल कला परिषद् बबरमहलमा ललितकलाकी कलाकार कृति शाह ‘चन्द’को दोस्रो एकल चित्रकला प्रदर्शनीको एक हजार बढी कलापारखीले अवलोकन गरेका छन् ।

यही फागुन १९ गतेदेखि सुरु भएर आज सकिएको उक्त प्रदर्शनीमा अग्रज कलाकार, प्राध्यापक, साहित्यकार, युवा तथा विद्यार्थीहरू गरी एक हजारले अवलोकन गरेको कलाकार शाहले जानकारी गराउनुभयो ।

उक्त प्रदर्शनीको अग्रज कलाकार तथा सयौँ कलाकार जन्माउन सफल शशिविक्रम शाहले पनि कला प्रदर्शनी अवलोकन गर्नुभएको थियो । आज समापनका अवसरमा कला अवलोकन गर्दै उहाँले भन्नुभयो, “पहिलो फिगरेटिभ बनाउँथिन्, अहिले अमूर्त कला बनाएकी रहिछिन्, निकै उत्कृष्ट लाग्यो, पहिलेको प्रदर्शनीभन्दा धेरै राम्रो र फरक पाएँ ।”

वरिष्ठ कलाकार शाहले अमूर्त कला बनाउन निकै गाह्रो हुने सुनाउनुभयो । “जे सोच्यो त्यही देखिन्छ, अमूर्त कलाको अभिव्यक्ति हेर्नेहरूको सोचाइमा भर पर्छ”, उहाँले थप्नुभयो ।

उहाँले कला राम्रो लाग्यो, पुग्यो भन्ने नै नहुने बताउँदै जति सकिन्छ सुधार गर्दै लैजानुपर्ने र हरेक पटक नयाँ हुने सुनाउनुभयो । उहाँले थप्नुभयो, “सिर्जना रोकियो भने राम्रो हुन्न, सिर्जना गरिरहनुपर्छ, रोकियो भने सन्तुष्टि हुँदैन । रोकिएपछि पालिस नै हुन्न, जति हिँड्यो उति फाइदा हो नि”, कलालाई सङ्गीतले ठूलो सहयोग गर्ने र शक्ति पनि दिने उहाँले सुनाउनुभयो ।

कलाकार कृति शाह चन्दले गएको वर्ष पहिलो कला प्रदर्शनी ललितपुरमा आयोजना गर्नुभएको थियो । यसपालि ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा ४५ कला समावेश गरी दोस्रो एकल चित्रकला प्रदर्शनी आयोजना गर्नुभएको हो । यहाँ प्रदर्शनीमा राखिएका एक दर्जन बढी कृतिहरू बिक्रीसमेत भएको उहाँले सुनाउनुभयो ।

उहाँका मूर्त र अमूर्त कलाहरू प्रदर्शनीमा राखिएका थिए । रङका तरङ्गले केही बोलिरहेको, सङ्गीत दिइरहेको र छालहरू छचल्किरहेका जस्ता देखिले सिर्जनाले कला पारखीलाई आकर्षित गराएको थियो । एक जना कलाकार उत्तम डङ्गोलले एउटा एकल प्रदर्शनीमा १०–१२ वटा सिर्जना बिक्री हुनु र एक हजार बढीले अवलोकन गर्नु आफैँमा सफल प्रदर्शनी भएको सुनाउनुभयो ।

कलाकार शाहले यो प्रदर्शनीमा मानिसको जीवन भोगाइलाई सिर्जनामा उतारिएको बताउनुभयो । समय परिस्थिति र वास्तविकताबीचको बेमेल र जीवनलाई समय र परिस्थितिसँग ढाल्दै अघि बढ्नुपर्छ भन्ने सन्देश यसले दिएको उहाँले बताउनुभयो ।

उहाँका सिर्जनामा अँध्यारोबाट उज्यालोको खोजी, माया, सांस्कृतिक धरोहर, शान्ति, स्वच्छन्दता र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएका थिए । रङका तरङ्गहरूलाई उहाँले आकर्षक ढङ्गले प्रस्तुत गर्नुभएको थियो ।

कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा पूर्वराजदूत डा केदारभक्त माथेमा, अग्रज कलाकार राधेश्याम मुल्मी, वरिष्ठ कलाकार कृष्ण मानन्धर, वरिष्ठ साहित्यकार रोचक घिमिरे, ललितकला गुठीका संस्थापक स्मृति कर्माचार्य, वरिष्ठ कलाकार गोविन्द डङ्गोल, कवि विप्लव प्रतीकलगायतले आवलोकन गर्नुभएको थियो । रासस