२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला

नेपथ्य अस्ट्रेलिया शृंखलाको भव्य सुरुवात क्यानबेराबाट-फोटो फिचर

नेपथ्य अस्ट्रेलिया शृंखलाको भव्य सुरुवात क्यानबेराबाट-फोटो फिचर
अ अ+ अ-

क्यानबेरा: पहाड र हरियालीले घेरिएको सुनसान राजधानी क्यानबेराको एउटा कुनामा सोमबार बेलुकी ठूलै चहलपहल थियो । साँझ पर्नैलाग्दा नेसनल कन्भेन्सन सेन्टरको ‘रोयल थिएटर’ वरपर नेपालीको जमात देखिन सुरु भयो । केही वर्ष अघिसम्म पनि यहाँ नेपालीको बसोबास नगण्य थियो ।

दुई वर्षअघि यसै सहरस्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीको हलमा पहिलोपटक आफूलाई प्रस्तुत गरेको नेपथ्य ब्यान्डले यसपाला त्योभन्दा ठूलो र व्यवस्थित स्थल रोजेको थियो ।
हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा लामो समयसम्म सेवा गरेकी लिन्डा साठीकै दशकदेखि यस मुलुकमा आयोजना हुने विश्व प्रसिद्ध ब्यान्डहरूको कन्सर्ट हेर्दै हुर्किएकी हुन्।

‘१७ वर्षअघि पहिलोपटक सिड्नीमा मैले नेपथ्यको कन्सर्ट हेरेकी थिएँ, त्यसयता अस्ट्रेलियामा आयोजित नेपथ्यका पाँचवटा कन्सर्ट हेरिसकेकी छु र यो छैटौं हो,’ साथमा अर्की अस्ट्रेलियन साथी लिएर आएकी लिन्डा भनिरहेकी थिइन्, ‘एक हिसाबले नेपथ्य स्वादको बानी परिसकेको छ ।’

ब्यान्डको भने यो सातौँ अस्ट्रेलिया यात्रा हो ।

निर्धारित समयमै बेलुकीको ठीक ८ बजे कन्सर्ट सुरु भयो । हलभित्र दर्शकको उत्साह र व्यापक हल्ला फैलिएको देखेपछि अर्की अस्ट्रेलियन महिलाले आफूलाई कुर्सीमा थामेर राख्न सकिनन् । सरासर उठिन् र नाच्न तम्तयार दर्शकको भिडमै आफूलाई समाहित गरिन्। उनी थिइन् भर्खरै मात्र नेपालस्थित अस्ट्रेलियाली राजदूतको पदावधि सकेर फर्किएकी फेलिसिटी भोल्क ।

‘यो मेरो पहिलो नेपथ्य अनुभव हो,’ फेलिसिटीले भनिन्, ‘सन् २०२१ को तिहारको कुनै दिन मैले बौद्धमा अर्कैको स्वरबाट रेशम गीत सुनेकी थिएँ । त्यसै बेलादेखि अत्यन्तै मन पराउने गरेको यस ब्यान्डलाई प्रत्यक्ष सुन्ने लामो समयदेखिको इच्छा आज पुरा हुँदै छ ।’

कन्सर्टको सुरुवात ‘कोशीको पानी’ बाट गरिएको थियो । त्यसपछि क्रमशः ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’ प्रस्तुत भए । ‘आँगनैभरि’ गाउने बेला गायक अमृत गुरुङले ३५ वर्षअगाडि आफूले तयार पारेको यो गीत अहिले सुनाउन पाउँदा बेग्लै आनन्द मिल्ने गरेको उल्लेख गरे ।

त्यसपछि नेपथ्यका सर्वकालिक हिट गीतहरु ‘लामपाते सुरती’, ‘चरी मर्‍यो’ र ‘जोमसोमे बजारमा’ ले निरन्तरता पाए ।

गीत गाउने क्रममा अमृतले अस्ट्रेलियामा नेपाली दर्शकको साथ पाइरहँदा एक मनले खुसी र अर्को मनले दुःखी पनि महसुस भइरहेको उल्लेख गरे ।

‘तपाईंहरू यहाँ आएर उज्ज्वल भविष्यका लागि संघर्ष गरिरहनु भएको देख्दा असाध्यै खुसी छु,’ उनी भनिरहेका थिए, ‘तर यत्तिका ऊर्जावान् तन्नेरीलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता-कता नरमाइलो पनि भइरहेको छ ।’
अमृतले सम्पूर्ण नेपालीलाई आफू असल मानिसको देशबाट आएको पहिचान स्थापित गर्न अनुरोध गरे र यहाँ बसुन्जेल अस्ट्रेलियालाई पनि थप समुन्नत बनाउन आह्वान गरे । नेपाली भाषालाई भावी पुस्तासम्म विस्तार गर्न र नेपालमा रहेका आफन्तसँग बारम्बार भेट्न गई उताको सम्पर्कलाई पनि जीवित राख्न उनले थप अनुरोध गरे ।

‘तपाईंहरूलाई अब रुकुमतिर लैजान्छु’ भन्दै उनले ‘शिरफूल’ गीत सुनाए । त्यसपछि उनले पुरानो खाताबाट अर्को नेपथ्य गीत निकाले– ‘बिन्ती छ मेरो ए मेरी मायालु, एउटा चिठी कोरी पठाइदेऊ’।

युवक तथा युवतीको असंख्य जोडीले भरिएको हलमा अमृतले त्यस गीतबारे विस्तारमा बोल्न चाहे । ‘गर्लफ्रेन्ड त हाम्रो समयमा पनि हुन्थे तर  इमेल थिएन,’  उनले थपे, ‘तपाईंहरू नजन्मँदै हामीले भोगेको प्रेमको युगमा यसरी चिठी लेखेर मनको कुरा बताउनुपर्थ्यो ।’

भावनाको शृंखलालाई अझ मजबुत बनाउँदै उनले नेपथ्यको पछिल्लो सिर्जना पनि पस्किए–

‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि…’

‘यो जिन्दगानी’ सुनाएपछि ‘गाउँ–गाउँबाट उठ’ सँगै कन्सर्टको माहोल अझ तातियो ।

कन्सर्टको प्रारम्भदेखि मुस्कानसहित शरीर हल्लाएर उभिइरहेकी निवर्तमान अस्ट्रेलियन राजदूत भोल्क ‘रेशम’ गीतमा पुग्दा भीडसँगै नृत्य गर्न पनि थालिसकेकी थिइन् ।

‘रातो र चन्द्रसूर्जे’ बाट कन्सर्ट सकिनासाथ उनी प्रतिक्रिया दिनका लागि तयार भइन् ।

‘असाध्यै रमाइलो अनुभवले मेरो उत्साहलाई नयाँ उचाइमा पुर्‍याएको छ,’ उनले भनिन्, ‘यो ब्यान्डसँग मेरो ग्रेट स्टार्ट (भव्य सुरुवात) भएको छ ।’

कूटनीतिज्ञ भएर गएपछि नेपालको सांस्कृतिक पाटोसँग आफ्नो आत्मीयता बढेको उनले सुनाइन् ।

‘नेपालमा आफ्नो कार्यकाल सकिएपछि पनि नेपाली कला संस्कृतिलाई अस्ट्रेलियामा विस्तार गराउन विभिन्न प्रयास गर्दै आएकी छु,’ उनले भनिन्, ‘नेपथ्यको यो प्रस्तुतिले मेरो विश्वासलाई थप दृढ बनाउन मद्दत गरेको छ ।’


अर्की दर्शक एवं अस्ट्रेलियन कूटनीतिज्ञ लिन्डाले आफ्नो अनुभवलाई अझ विस्तारमा सुनाइन् ।

‘अस्ट्रेलियामा नेपथ्यलाई हेर्दा मैले पाइरहेको मुख्य विशेषता भनेकै प्रस्तुतिमा दिन प्रतिदिन आइरहेको निखार हो,’ उनले थपिन्, ‘पहिलोपटक मैले सिड्नीमा हेरेको कन्सर्टसँग तुलना गर्दा प्रोडक्सनका हिसाबले यो ब्यान्डको गुणस्तर धेरै माथि उक्लिसकेको पाएँ ।’ नेपथ्यको प्रस्तुतिलाई विश्वस्तरका ब्यान्डसँग दाँज्न सकिने पनि उनले दाबी गरिन् ।

लिन्डा बसेकै दीर्घामा नेपाली राजदूत चित्रलेखा यादव पनि सपरिवार उपस्थित थिइन् । यति ठूलो संख्यामा रमाइरहेका नेपाली तन्नेरी र उनीहरूबीच नेपथ्यले सकारात्मक ऊर्जा फैलाइरहेको देख्दा आफू निकै प्रभावित भएको उनले बताइन् ।
नेपाली दर्शक भने सदाझैँ हलबाट बाहिरिँदा पनि झन्डा हल्लाउँदै र नेपथ्यका गीत गाउँदै निस्किरहेका देखिन्थे ।

‘यहाँ आएर प्रस्तुत हुने सबैजसो नेपाली कलाकारको कार्यक्रम हामीलाई रमाइलो लाग्छ,’ आठ वर्षदेखि यतै बस्दै आएकी अनु थापा भनिरहेकी थिइन्, ‘नेपथ्यको कन्सर्टमा आउँदाचाहिँ नेपालीपनले अलिक बढी झकझक्याउने गर्छ ।’
कार्यक्रम सम्पन्न भएपछि क्यानबेराका स्थानीय आयोजक प्रदीप पाठकले सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । ‘कन्सर्ट भव्य रूपले सम्पन्न त भयो नै,’ उनले थपे, ‘उपस्थित प्रत्येक दर्शक सकारात्मक उर्जा बोकेर हलबाट बाहिरिएको देख्दा झनै खुसी लाग्यो ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ,  मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।

यसपटकको शृंखलाबद्ध यात्राका क्रममा क्यानबेरामा पहिलो प्रस्तुति सम्पन्न भएपछि ब्यान्ड अब ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ । मार्च ९ मा त्यहाँस्थित ‘मेट्रो सिटी हल’ मा अबको प्रस्तुति रहनेछ । ब्यान्ड यसअघि पनि त्यस हलमा उपस्थित भइसकेको छ ।

त्यसपछि मार्च १४ मा ब्रिसबेनको ‘द टिभोली’, मार्च १८ मा अस्ट्रेलियाकै पुछारमा रहेको टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’, मार्च २१ मा एडिलेड सहरको ‘हिन्डले स्ट्रिट म्युजिक हल’, मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’ मा प्रस्तुत भएपछि अन्तिम शो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ । पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको यस सहरमा मार्च २९ को साँझ ‘होर्डन पभिलियन’ मा आफूलाई प्रस्तुत गरेपछि ब्यान्ड स्वदेश फिर्नेछ ।