कोरोनाभाइरसको अधिक सङ्क्रामक ओमिक्रोन संस्करणले विश्वभरका मामिलामा अभूतपूर्व वृद्धि गरेसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ का लागि सिफारिस गरिएको उपचारका लागि आफ्नो दिशानिर्देशहरूमा थप दुई औषधि थपेको छ ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय विज्ञहरूको प्यानलले ब्रिटिश मेडिकल जर्नलमा गठिया रोगको उपचारमा पनि प्रयोग गरिने बारिसिटिनिबलाई गम्भीर कोभिड–१९ का बिरामीका लागि कोर्टिकोस्टेरोइडको संयोजनमा सिफारिस गरिएको बताएको छ ।
औषधिले भेन्टिलेसनको आवश्यकतालाई कम गरेको र प्रतिकूल प्रतिक्रियामा वृद्धिको कुनै सङ्केत नदेखिएको तथा बिरामीहरूको बाँच्ने सम्भावनालाई सुधार गरेको पाइएको प्यानलले बताएको छ ।
प्यानलले कोभिड–१९ भएका तर गम्भीर नभए पनि अस्पताल भर्नाको उच्च जोखिममा भएकाहरूका लागि सोट्रोभिमाबलाई प्रयोगात्मक मोनोक्लोनल एन्टिबडी उपचारका लागि ‘सःशर्त सिफारिस’ गरेको छ । मोनोक्लोनल एन्टिबडी प्रयोगशालाद्वारा निर्मित यौगिकहरू हुन् जसले शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीको नक्कल गर्दछ।
नयाँ उपचार सिफारिस विश्वव्यापी रूपमा महामारीको तीव्रता बढेसँगै आएको छ । गत साता एक करोड ५० लाखभन्दा बढी कोभिड–१९ नयाँ मामिला रिपोर्ट गरिएको थियो । तीमध्ये धेरैजसो डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दै ओमिक्रोन भेरिएन्ट देखिएको छ ।
सिफारिसहरू कोभिड–१९ को गैर–गम्भीर, गम्भीर र अति गम्भीर अवस्था भएका चार हजारभन्दा बढी बिरामीहरू समावेश भएको सात परीक्षणको नयाँ प्रमाणमा आधारित थिए। ऐजन्सी