४ पुष २०८२, शुक्रबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रिटिस लाहुरेको सपना छोडेर खेलाडी बने दीपक



अ+ अ-

सुर्खेत । चाहना ब्रिटिस आर्मीमा भर्ती हुने र धेरै पैसा कमाउने भए पनि समय र परिस्थितिले दीपक हमाललाई त्यसो हुन दिएन । आफू र आफ्नो घरपरिवारको आर्थिक अवस्थाका कारण पनि दीपक लाहुरे हुन चाहनुहुन्थ्योे । लाहुरे भएपछि धेरै पैसा कमाउने र घरको आर्थिक अवस्थालाई बलियो बनाउने योजना थियो । तर सबैका सबै योजना पूरा कहाँ हुन्छन् अनि सबै सपनाहरु विपनामा साकार पनि त हुँदैनन् । सायद त्यसैले होला दीपकको त्यो सपना सपनामै सीमित हुने रहेछ र उहाँ खेलाडी दीपकका रुपमा अगाडि बढ्नुभयो ।

विसं २०४९ असोज १५ गते सुर्खेतको छिञ्चुमा जन्मनुभएका दीपक आफ्नो सपनालाई त्यागेर उसु खेलतर्फ मोडिनु पनि समयको चक्र नै मान्नुपर्छ । विभिन्न समयमा भएका खेलहरुमा स्वर्ण र कास्य पदकको विजेता बन्नु थियो सायद । १३औँ दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता दीपक ‘प्लस टू’को अध्ययन सकेपछि मात्रै पूर्ण रुपमा खेल क्षेत्रमा होमिने अवसर प्राप्त गर्नुभएको हो । सुरुमा फिटनेसका लागि खेलकुद रोज्नुभएका उसु खेलाडी दीपक पछिल्लो समय राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनिनुहुन्छ । खेलजगत्ले नै उहाँलाई दीपक बनाएको छ ।

दीपकले २०६८ सालमा फिटनेसका लागि सेन्सन केन्द्रीय खेलकुद परिषद्बाट उसु खेललाई रोज्नुभएको थियो । प्रकाश लामाबाट प्रशिक्षण लिएका उहाँले दुई वर्षपछि २०७० सालमा नेसनल च्याम्पियन सुरु गर्नुभएको थियो । त्यसलगत्तै उनले २०७० मा नवौँ राष्ट्रिय उसु च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुभयो । आफ्नो डेब्यु प्रतियोगितामा उहाँले पदक त जित्न सक्नुभएन तर पनि सम्भावनाको यात्रामा पछि हट्नु भएन । लगातारको मिहेनत र निरन्तरको प्रयासले नै सम्भावनाको ढोका खोल्न भने सफल हुनुभयो उहाँ । डेब्यु प्रतियोगितामा चौथो भएका उहाँले २०७३ सालमा विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदमा मध्यपश्चिमबाट खेल्नुभएका उहाँले थाइल्यान्डमा स्वर्ण पदकसमेत जित्नुभएको थियो । यसले एकातिर हौसला र अर्कोतिर अझ दृढ भएर लाग्ने प्रेरणा मिलेको थियो उहाँलाई ।

आफ्नो दोस्रो सहभागितामै स्वर्ण जित्न सफल हमालले रसियामा सन् २०१८ मा भएको १४औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल हुनुभयो । पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता खेल्नुभएका उहाँले खासै पदवी नै हात पार्न नसके पनि ६८ राष्ट्रमध्ये आफूलाई २०औँ स्थानमा उभ्याउन सफल हुनभयो ।

त्यस्तै, सन् २०१९ मा चीनको सङ्घाइमा भएको १५औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उहाँ उत्कृष्ट खेलाडी २० भित्र पर्न सफल हुनुभयो । त्यसपछि स्वदेशमै आयोजना भएको १३औँ सागमा स्वर्ण जित्दै हमालले इतिहास रच्न सफल हुनुभयो ।

विश्वलाई हलचल बनाउने कोभिड–१९ का कारण २ वर्ष अन्तरराष्ट्रिय सहभागिता जनाउन नपाउनुभएका उहाँले गत वर्ष चीनको हाङचाओमा आयोजना भएको १९औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नुभएको थियो । उक्त प्रतियोगितामा सहभागी २० मध्ये उहाँले १२औँ स्थान हासिल गर्नुभयो । हालै चीनको जिङज्याङ सहरमा आयोजना भएको वल्र्ड कपको छनोटमा उहाँले दुई कास्य पदक हात पार्नुभएको थियो । उहाँले नानछ्वान र तुइलिनमा तेस्रो स्थान हात पार्नुभयो । यसले उहाँलाई अझै मिहेनतको खाँचो छ भन्ने कुरा आफैँले महसुस गराएको छ । यससँगै उहाँ आगामी अक्टोबरमा जापानमा हुने प्रतियोगितामा छनोट हुन पनि सफल बन्नुभयो । यसमा सफलता हात पार्ने मात्र होइन, आफूप्रतिको खेलको क्षेत्रको विश्वाससमेत दिलाउने गरी मिहेनत गरिरहनुभएको छ ।

यतिबेला उसु वल्र्डकपलगायतका प्रतियोगिताका लागि खेलाडीहरूले तयारी गरिरहेका छन् । ‘उसु वल्र्डकप लगायतका प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित प्रकाश महर्जन गुरुले प्रशिक्षण गराइराखेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल उसु महासङ्घले पनि वैदेशिक प्रशिक्षण गराउने आश्वासन दिएको छ । यसले गर्दा ममा अझै पनि हौसला थपिएको छ”, उहाँ भन्नुहुन्छ, “वैदेशिक प्रशिक्षण राम्रो भएमा अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन धेरै नै मद्दत पु¥याउँछ ।”

एउटै खेलको दुईवटा महासङ्घ हुँदा समस्या भएको बताउनुहुन्छ, दीपक । “दुईवटा महासङ्घ हुँदा खेलाडीले दुःख भोग्नु परिरहेको छ । कुन कामका लागि कुन महासङ्घमा जाने भन्ने समस्या छ,” उहाँ भन्नुहुन्छ, अन्तरराष्ट्रिय मान्यता प्राप्त महासङ्घले भने खेलाडीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । तर, पनि दुईवटा सङ्घ हुँदा समस्या त भइहाल्छ । एउटाले एउटा विषयको उठान गरिरहेको बेलामा अर्कोले अर्कै विषयवस्तुको उठान गरिदिन्छ ।”

पछिल्लो समय उसुका दुई महासङ्घ छन् । जनक बर्तौला नेतृत्व महासङ्घलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छभने वीरबहादुर लामा नेतृत्वको महासङ्घलाई नेपाल ओलम्पिक कमिटी र अन्तरराष्ट्रिय उसु महासङ्घको मान्यता छ ।

‘कर्णालीको हुँभन्दा गर्व लाग्छ’

दीपकले राष्ट्रिय प्रतियोगिताहरू कर्णाली प्रदेशबाट खेल्दै आउनुभएको छ । कर्णालीबाट खेल्दा आफूलाई गर्व लाग्ने दीपक बताउनुहुन्छ । “आफू जन्मिएको ठाउँ चिनाउन पाउँदा गर्व लाग्दो रहेछ । मलाई विभागीय टोलीबाट धेरैपटक ‘अफर’ आयो । तर मैले विभागका नामबाट भन्दा आफ्नै प्रदेशबाट खेल्ने निर्णय लिएर अहिलेसम्म अघि बढिरहेको छु”, उहाँले भन्नुभयो, “कुनै पनि विभागमा गइनँ तर, विभाग बाहिरका खेलाडीका लागि समस्या नै समस्या छन् । सबैभन्दा ठूलो समस्या त आर्थिककै छ ।” खेल जीवनबाट आफू सन्तुष्ट भए पनि राज्यबाट पाउनुपर्ने सेवासुविधा नपाउँदा भने निकै नै गाह्रो हुने दीपकको अनुभव पनि छ । सरकारले आश्वासन मात्र दिन्छ खेलाडीका लागि पछिसम्मको भविष्य सोचेर सेवा सुविधा दिनएको भए खेललाई अगाडि बढाउन सकिने उहाँको भनाइ छ ।

कर्णाली आफैँमा दुर्गम जिल्ला हो, त्यसमा पनि खेललाई अगाडि लैजानमा निकै चुनौतीपूर्ण रहेको उहाँ बताउनुहुन्छ । उहाँ राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको विशेष प्रशिक्षणमा सहभागी हुनुभएको छ । परिषद्ले बिहानको खाजा खर्च मात्रै दिँदै आएको छ । आफ्नो घर छोडेर बाहिर बस्नुको पीडासँगै खाजा खर्चले काठमाडौँमा बसेर प्रशिक्षण गर्न निकै समस्या हुने गरेको उहाँको गुनासो छ । यसले उहाँलाई खेलबाटै अघि बढेर भविष्यका लागि खेलाडी उत्पादन गर्ने र आफू कोचका रुपमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जागेको छ ।

सन् २०१७ मा पहिलोपल्ट रसियाका लागि नेपालबाट खेल खेल्न जाँदा प्रशिक्षकहरु साथमा नहुँदा आफूहरु एक्लो भएको महसुस भएको त्यो दिनलाई उहाँले अहिले पनि भुल्न सक्नुभएको छैन । रसिया खेल खेलियो तर आफ्नो समर्थनमा कोही नहँुदा ‘नर्भस’ भएर पनि खेल हारिएको हो कि जस्तो लाग्छ उहाँलाई । अन्य देशका खेलाडीहरुको उत्साहका लागि गरिएका व्यवस्थापनको व्याख्या गर्ने हो भने एउटा बनावटी कहानी जस्तो लाग्न सक्छ धेरैलाई । त्यो खेलसँगै आफ्नो प्रशिक्षकहरुको पनि साथ भएको भए सायद खेल जित्न पनि सकिन्थ्यो जस्तो उहाँलाई अहिले पनि लाग्दछ ।

बाल्यकालसँगै लाहुरेको सपना

सानैदेखि निकै चकचके स्वभावका उहाँ पढ्नमा भन्दा खेल्नमा बढी समय खर्चिन चाहनुहुन्थ्यो । दीपकको बाल्यकाल भेरीगङ्गामा नै बित्यो । १–५ कक्षासम्म उहाँ घर नजिकैको अमिलाचौर प्राथमिक विद्यालयमा अध्ययन गर्नुभएको थियो । त्यसपछि उहाँले छिञ्चु बजारमा रहेको शारदा माध्यमिक विद्यालयबाट १० कक्षा पास गरेपछि अभिभावकले छोराले राम्रोसँग पढोस् र भविष्यमा आफ्नो सहारा बनोस् भन्ने लागेर आफूले सकेको दुःखजिलो गर्दै उहाँलाई काठमाडौँ पढ्न पठाउनुभएको थियो ।

सानै उमेरबाट खेल्न मन पराउने उहाँमा खेललाई नै जीवन बनाउने सोच भने थिएन । उहाँ भन्नुहुन्छ, “पहिले मेरो सपना भनेको लाहुरे हुने देश र जनताका निम्ति केही गर्छु भन्ने सोचेर २०७७ सालमा ब्रिटिस लाहुरे हुन गएको थिएँ ।” ब्रिटिसमा भर्ती हुन नसकेपछि शरीरलाई राम्रो बनाउन खेलमा प्रवेश गर्नुभएका थियो दीपक । उहाँ अहिले पनि खेल क्षेत्रलाई अघि बढाउने र कर्णाली देशव्यापी रुपमा कसरी चिनाउने भन्ने चिन्तामै हुनुहुन्छ । उहाँले १३ वर्ष खेल क्षेत्रमै बिताइसक्नुभएको छ । खेलकुदबाट देशका सातै प्रदेश तथा चीन, रसिया, थाइल्यान्ड, साउथ कोरिया जापानलगायतका देशमा भएका प्रतियोगिताहरुमा सहभागी भइसक्नुभएको छ ।