
काठमाडौँ। प्रचण्ड, बाबुराम लगायत हिजोका आतंकवादी कित्ताका माओवादीहरुको राजा ज्ञानेन्द्र लक्षित टिप्पणी खेदजनक रहेको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् “विदेशी समर्थन, विदेशी प्रायोजन र विदेशी एजेण्डा बोकेर नेपालको परम्परागत मूल्य मान्यतामाथि धावा बोल्ने, हत्या हिंसा गरेर समाजलाई आतंकित तुल्याउने, योजनाबद्ध रुपमा देशका लाखौं युवा लखेट्ने लगायतका विध्वंसकारी मार्गचित्र बोकेका भ्रष्ट जमातहरुले रक्तपातबिहीन सत्ता हस्तान्तरण गरी सामान्य जीवनयापन गरिरहेका राजालाई तथानाम गर्नु लज्जास्पद र हास्यास्पद छ।”
यो ०६२/६३ साल होइन ०८१/८२ हो । बितेका २० वर्षमा नवधनाढ्य बन्ने होडबाजी, शासकीय अक्षमता र तिब्र भ्रष्टीकरणका कारण माओवादी क्रान्तिकारिता खिया लागेर भुत्ते भइसकेका छन् । आन्दोलनप्रति निष्ठा, इमान भएका बचेखुचेकाहरु अधिकांश निस्क्रिय छन्, कोही अर्को पार्टीमा सक्रिय छन्, धेरै त विदेश पलायन भएका छन्। आफ्नो गलत नीति, अकर्मण्यता र असफलता ढाकछोप गर्न राजालाई दोषारोपण गर्नु गलत, अनैतिक र अराजनीतिक हो । यसको प्रतिवाद गरिन्छ।
त्यसैपनि राजालाई चेतावनी दिने नैतिक सामर्थ्य प्रचण्ड/बाबुरामहरुले उहिल्यै गुमाइसकेका छन्। नक्कली क्रान्तिकारिता अब चल्दैन, बिक्दैन र जनताले पत्याउॅदैनन् है । गणतन्त्र यसको प्रयोग र अभ्यासबाटै असफल सिद्ध भइसकेको छ । भरियाले अब यसको भार थेग्न सक्ने छैनन् ।
जसको भारी हो त्यो भारी उसैलाई जिम्मा लगाएर नवीन राजनीतिक समझदारी गरौं भन्ने राप्रपाको प्रस्ताव स्विकार गर्नु बुद्धिमानी हुनेछ ! हरेक नेपालीलाई देशको दुरावस्थाबारे चिन्ता गर्ने, बोल्ने, विकल्प सोच्ने, संगठित हुने र तदअनुरुपको कार्ययोजना बनाउने हक छ, राजालाई पनि छ।