१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविले सहकारीको रकम ठगेका छन्, सजाय हुनुपर्छः शेखर कोईराला



अ+ अ-

काठमाडौं: नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको भन्दै सजाय पाउनुपर्ने बताउनु भयो । तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने बताउनु भयो । मानव अधिकारका कुरा नबुझ्नेहरु काँग्रेसी नहुने उहाँको तर्क छ । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समय अघि सभापति लामिछानेलाई रातारात पोखरा पु-याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौति देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको बताउनु भयो । उहाँले सुरक्षा चुनौति भए किन चितवन लगेको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सभापति लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेसीहरुले जबसम्म मानव अधिकारका कुराहरु बुझ्दैनौँ तबसम्म हामी काँग्रेसी हुँदैनौँ । ठगेको छ उसले । उसले सजाय पाउनुपर्छ । तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि राति उठाएर लगिदिने पोखरा । र पुलिसले, गृह मन्त्रालयले यो भन्नेकी हामी प्रोटेक्शन लिन सक्दैनौँ । किन लगेको थियो त ? प्रोटेक्शन दिन सक्दैन भने चितवनमा ? कुरा त्यो हो ।’

सांसद कोईरालाले अहिले नेपाली काँग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुंगो नलागेकोप्रति आपत्ति जनाउनु भयो । समयमा नै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेता÷कार्यकर्तालाई दबाब दिनुभयो । अहिले राज्य नै एमालेकरण भइरहेको भन्दै गम्भीर हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस कमजोर भएको छ । अधिवेशन पनि कहिले हुने टुंगो छैन हाम्रो । ०८४ को चुनावपछि गर्ने भनिरहेको छ । तपाईंहरुले साथीहरुलाई भेट्दा कुरा गर्दा अधिवेशन समयमा गर भनेर प्रेसर दिनुप¥यो । सामाजिक सञ्जालमा पनि लेख्न थाल्नुप-यो । दोस्रो कुरा चिन्ता मलाई कहाँ लागेको छ । राज्य नै एमालेकरण भइरहेको छ की भन्ने देखिरहेको छु । सरकार नै एमालेकरण भइरहेको छ की भन्ने हो । त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्नुपर्छ । मन्त्रीज्युहरुले सहकार्य गर्ने हो त्यसमा कुनै शंका नै भएन । तपाईं हामीले खबरदारी गरिरहनुपर्छ । र मात्रै हाम्रा मन्त्रीहरु सचेत हुनुहुन्छ र एमाले पनि सचेत हुन्छ ।’

सांसद कोईरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल