४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्ने काम हो: गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताउनुभयो ।

‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताउनुभयो ।

दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरि संविधान संशोधनको तयारी भइरहेको उहाँले बताउनुभयो । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औंल्याउनुभयो ।

कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उहाँको भनाइ छ । राज्यका सबै अंगमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको उहाँको भनाइ छ ।