४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान



अ+ अ-

पाल्पा। सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबारदेखि पाल्पासहित प्रदेशका १२ वटै जिल्लाका १७ विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ थालनी भएको हो ।

लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनता माध्यमिक विद्यालय तानसेनबाट अभियानको शुभारम्भ गरेका हुन् । उनले यही विद्यालयमा माध्यमिक तहको शिक्षा अध्ययन गरेका थिए । आफू पढेको विद्यालयप्रति जिम्मेवार बनाउन सकिएमा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार, आर्थिक अवस्थामा सुधार, पूर्वाधारमा सुधार गर्न सकिने अभिप्रायले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सञ्चालन गरिएको उनको भनाइ छ । आफूले पढेको जनता माविलाई विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने मन्त्री सारुले प्रतिवद्धता जनाए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पूर्वविद्यार्थी, जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । ‘सामुदायिक विद्यालयप्रति चासो र आफ्नो दायित्वबोध गराउने अभियानको मुख्य उद्देश्य हो,’ उनले भने, ‘पूर्वविद्यार्थीले चाहेको अवस्थामा विद्यालयमा धेरै सुविधा र सुधारका काम हुन सक्छन् भन्ने विश्वास छ ।’

फरक प्रसङ्गमा मन्त्री सारुले मुलुकमा धेरै परिवर्तन भएकाले केही भएन भन्नु गलत भएको बताए । मन्त्री सारुले भने, ‘१०४ वर्षीय राणाशासनको अन्त्य गर्दै जनताका छोराछोरीले पनि पढ्न पाउनुपर्ने र जनताकै छोराछोरीले मुलुकको नेतृत्व गर्न पाउनुपर्छ भनेर प्रजातन्त्र, गणतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था गरियो, के यो परिवर्तन हैन ?

आज हाम्रा हात हातमा मोबाइल फोन, इन्टरनेट, कम्युटरजस्ता आधुनिक प्रविधि आए के तिनीहरु विकास हैनन् ? गाउँगाउँमा विद्यालय, सडक, खानेपानी, बिजुलीजस्ता विकासका पूर्वाधार पुगेका छन् ,तर हामी अझै देशमा केही भएन भन्न छाडेका छैनौँ, यो गलत हो ।’ नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा काम गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला आएको उनको भनाइ थियो । रासस