
काठमाडौं: वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी सहायता कार्यक्रम (युएसएड) मार्फत् आफूहरुले रकम लिएर धर्म विरोधी काम गरेको भन्ने आरोपको खण्डन गर्नु भएको छ ।
आज सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उहाँहरुले सामाजिक सञ्जालमा आफूहरु विरुद्ध भइरहेका अनर्गल प्रचारले अत्यन्त चित्त दु:खेको बताउनु भएको छ ।
कलाकार मदनकृष्णले भन्नुभएको छ, “हामी सबैलाई आफ्नो हितैषी सम्झन्छौं, तर आज हितैषीबाट नै यस्तो किसिमको आरोप सुन्नुपर्दा अत्यन्त चित्त दुस्खेको छ । संसारमा राम्रा कुराहरु पनि छन्, नराम्रा कुरा पनि छन् । हामीले सधैँ राम्रो राम्रो मात्र छानेर काम गरिरहेका छौं । जस्तो, कुष्ठरोग, क्षयरोग, खोप सम्बन्धी कुराहरु । यी कुराहरु कुनै अधर्मका विषय होइनन् ।”
उहाँले हाम्रा भिडियो सामग्री हेरे जाँच गर्न सकिने भन्दै हामीले कुनै नचाहिँदो कुरा बोलेका छैनौं भन्नुभएको छ ।
त्यस्तै, कलाकार हरिवंश आचार्यले पनि हाम्रा धेरैजसो सामग्री युट्युबमा घामजस्तै छर्लङ्ग हुनेगरी राखेको तर त्यहाँ कतै पनि सनातन हिन्दु धर्म, बुद्ध धर्म समेत कुनै पनि धर्मको विरोध नगरिएको बताउनु भएको छ । उहाँले भन्नुभएको छ, “यो धर्म लिनुस् भनेर उकासेका पनि छैनौं । यो अनर्गल प्रचार हो । हामीले २०५२ सालमा पंचायत व्यवस्थाको सराद्धे भनेर एउटा कार्यक्रम गरेका थियौँ, र त्यहाँ पंडितको पात्रको प्रवृत्तिको व्यंग्य गरेका थियौं । पंडित हुँदैमा भगवान हुँदैन, म पनि पंडितकै छोरो हुँ । व्यंग्य भनेको नेतालाई पनि गर्न पाइन्छ, पंडितलाई पनि पाइन्छ, पुलिसलाई पनि डक्टर, वकिल सबैलाई गर्न पाइन्छ । र त्यसको टुक्रा राखेर अहिले सनातन धर्मको विरोध गर्यो भन्नु कपोलकल्पीत हो । हामी हाम्रो काममा निरन्तर लागिरहन्छौं ।”
उहाँले भन्नुभएको छ, “हामी यस्ता कुराबाट हतोत्साही हुँदैनौं । यी यस्ता भ्रामक कुराहरुको विश्वास नगरिदिनु हुन हार्दिक अनुरोध पनि गर्दछौं ।”
केही दिनदेखि फेसबुक, टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विरुद्ध युएसएडको पैसा खाएर धर्म विरोधी काम गरिरहेको आरोप लगाइएको छ ।
साहित्यकार कृष्ण धरावासीले पनि आफूविरुद्ध यस्तै आरोप लागेको भन्दै त्यसको खण्डन गर्नु भएको छ । युएसएडको पैसा लिएर किताब लेखेको भए त्यसको प्रमाण दिन उहाँले चुनौती पनि दिनु भएको छ ।