२६ असार २०८३, शुक्रबार
,
Latest
‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै



अ+ अ-

म्याग्दी। सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । संघीयता कार्यान्वयनमा आएसँगै स्थानीयतह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो ।

वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्य चौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै सहर झर्ने र मधेस पस्नेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।

‘गाउँ गाउँ जस्तो छैन
सहर सहर जस्तो छैन
कसकसले केके गर्दिए कुन्नि
आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’
कवि हेम हमालको कवितामा भनिएझैं तीव्ररूपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँ गाउँ जस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ । चार-पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको लहर चलेको छ । तर, विकास र सुविधा गाउँमा पुगेपछि मोटर चढेर गाउँ छोड्नेहरू पनि उत्तिकै बढेका रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकबहादुर छन्त्यालले बताए ।

हेर्दै रहरलाग्दो म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रूम गाउँको यो सौन्दर्य अहिले बसाइँसराइका कारण एक्लिदै जान थालेको छ । ‘गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिसहरू छैनन् । बस्ती पातलिँदै जान थालेको छ । भीरपहरा र खोलाहरू छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् । विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजिमा सहर बजार र तराईतिर जानेक्रम भने झन बढ्दै जान थालेका छन्’, छन्त्यालले भने ।

ठाडाखानी मात्रै होइन आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको म्याग्दी जिल्लाका दर्जनौँ गाउँहरू पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेका छन् । जिल्लाका दुर्गम गाउँहरूबाट मात्रै होइन सदरमुकाम नजिक र सबै कुराको सुविधा पुगेका गाउँहरूबाट समेत बसाइँसराइ बढ्दै गएको छ । बेनी नगरपालिकाको ज्यामरूककोट, पुलाचौर, सिंगा, भकिम्ली, घतानजस्ता गाउँहरू समेत बसाइँसराइका कारण रित्तिदै जान थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

आठ÷दश वर्षअघि ५५ घरधुरी भएको बेनी नगरपालिका–२ गौश्वारा गाउँमा अहिले २६ घरधुरीमा मात्रै मानिसको बसोबास रहेको छ । त्यसैगरी एक सय ७९ घरधुरी भएको बगरफाँट र खबरा क्षेत्रबाट ४८ परिवारले बसाइँ सरेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए । गाउँमा विकासले गति लिँदै गरे पनि बसाइँ सर्नेको सङ्ख्यामा भने कमी आउन नसकेको उहाँको भनाइ छ । गाउँमा साह्रोगाह्रो र आपत्विपत् पर्दा सहयोग गर्ने छिमेकी घट्दै जान थालेका र विकास निर्माणको काम गर्न समस्या हुने गरेको मङ्गला गाउँपालिका–२ का केदार जैसीले बताए ।

म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसंख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विसं २०६८ को तुलनामा शून्य दशमलव ५४ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको हो । विसं २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा एक लाख सात हजार तीन सय ७२ जना भएको केन्द्रीय विभागको तथ्याङ्कमा उल्लेख छ । रासस