२६ असार २०८३, शुक्रबार
,
Latest
‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार महिनामा सम्पन्न भयो ‘बलिदान’को छायाङ्कन



अ+ अ-

काठमाडौं। घोषणादेखि नै चर्चा र प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन चार महिनामा पूरा भएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायाङ्कन चरण पार गरेको जानकारी दिएका छन् ।

शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो ।

निर्देशक सेनका अनुसार, ‘बलिदान’ लाई ‘महान् चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता गरिएको छैन । सेनले भने, “कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक, र प्रविधिको छनोट – हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौँ । शारीरिक, मानसिक, र भावनात्मक रूपमा धेरै सङ्घर्ष गर्‍यौँ, तर चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौँ ।”

निर्माण टोलीको मेहनतबारे बोल्दै उनले थपे, “चार महिनासम्म रातदिन रगत-पसिना बगाएर मेहनत गर्‍यौँ । यस चलचित्रको लागि सम्पूर्ण टिमले जुन बलिदानी दिएको छ, त्यसलाई शब्दमा मात्र धन्यवाद दिएर पुग्दैन । म विश्वस्त छु, उनीहरूको काम ‘बलिदान’ मार्फत अमर रहनेछ ।”

यो चलचित्र देशका लागि केही गर्ने जोस र हुटहुटीले बनेको सेनको भनाइ छ । उनले दर्शकको सदाशयताले थप प्रेरणा दिएको बताउँदै भने, “आगामी दिनमा पनि दर्शकको साथ पाइरहने विश्वास छ । कथाको आवश्यक बलिदानी दिएर अन्तिम दृश्य खिच्यौँ र छायाङ्कनको चरणलाई बिट मार्‍यौँ ।”

अब चलचित्रको सम्पादन कार्य अब छिट्टै सुरु हुने र पोस्ट प्रोडक्सनका क्रममा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनले बताए । चलचित्रको प्रदर्शन मितिबारे भने निर्देशकले आफ्नो पुरानै कथन दोहोर्‍याउँदै भने, “अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ ।” यस चलचित्रको रिलिज मितिलाई लिएर दर्शकमा उच्च अपेक्षा रहेको छ ।

नेपाली चलचित्र उद्योगमा ऐतिहासिक र देशभक्तिपूर्ण कथावस्तुका कारण ‘बलिदान’ प्रति दर्शकको विशेष चासो रहँदै आएको छ । फिल्ममा उत्कृष्ट कलाकारहरूको सहभागिता, प्रविधिको उच्चतम प्रयोग, र कथाको गहिरो प्रभावशीलताले यसलाई बहुप्रतिक्षित चलचित्र बनाएको छ । सम्भवतः निरन्तर रूपमा सबैभन्दा धेरै समय छायाङ्कन भएको र सबैभन्दा महँगो लगानीको चलचित्रको रूपमा पनि ‘बलिदान’लाई हेर्न सकिन्छ ।

यस चलचित्रमा पहिलो चलचित्र ‘१२ गाउँ’बाट व्यापक चर्चा पाएका अभिनेता समीर भट्टको प्रमुख भूमिका र साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका दिग्गज कलाकारहरूको अभिनय रहनुले यो चलचित्रलाई थप विशेष बनाएको छ ।

‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित रहेको बताइएको छ । चलचित्रमा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेका थिए । यस चलचित्रको क्लाइमेक्स दृश्यहरू छायाङ्कनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसको व्यापक चर्चा भएको थियो ।

यस चलचित्रको लागि साङ्गीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरूले सङ्गीतका विभिन्न पक्षहरूमा कार्य गरेका छन् ।  गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले ‘बलिदान’का गीत, सङ्गीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छ । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।