काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला राजनीतिक दलहरुमा नेतृत्वले कति वर्ष काम गर्न पाउने भन्ने योजना नै नभएको बताउनु भयो ।
उहाँले ठूला राजनीतिक दलहरुमै सबैभन्दा ठूला भ्रष्टाचारका काण्डहरु रहेको समेत आरोप लगाउनु भयो । उहाँले अहिलेसम्म मुलुकमा सुशासन कायम गर्नको लागि के गरिएको छ ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले दलको नेतृत्वमा बस्नेहरुले सयौं वर्षसम्म हालिमुहाली गर्ने गरेको उल्लेख गर्दै यस्तो चरित्रमा संशोधन गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भइरहेका दलमा सबैभन्दा ठूला भ्रष्टाचारका फाइलहरु छन् । सबैभन्दा बेथिति तिनै दलहरुमा छन् । हरेक पदका लागि राजनीतिक भागबण्डा भइरहेको छ । अनि हामी कुरा गर्छौं राजनीतिक क्यारेक्टरको । त्यस्तो राजनीतिक क्यारेक्टर हामीसँग छैन ।
हामीले साधारण राजनीतिक आचरण निर्माण गर्न खोज्दैछौं । जसको कारण हामीले बनाएको नीतिबारेमा हामीले जनतासँग जानकारी दिनको लागि जनतामाझ जान सकौं । भ्रष्टाचारका फाइलहरु खोल्नु नपरोस् । हामी सशासनका बारेमा कुरा र बहस गर्छौं । साँच्चिकै सुशासन ल्याउनको लागि हामीले के प्रयास गर्यौँ ? हामी अहिले संविधान संशोधन गर्नुपर्यो भनेर भन्दैछौं ।
संविधानभन्दा पहिले नेताको चरित्र संशोधन गर्नुपर्यो । राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गर्नुप¥यो । तपाईको दलमा एकचोटि आएपछि एक्जिट हुने प्लान नै छैन । तपाई सयौं वर्षसम्म पनि त्यही बसेर सत्ताको हालिमुहाली गर्नुहुन्छ । त्यस्तो चरित्र संशोधन गरौं न । संविधानमा संशोधन त त्यही लेखिएको छ त्यहीँ गएर गर्दा भइहाल्यो नि ।’
साधारण र जनताको समस्या हल गर्ने किसिमको राजनीतिक चरित्र निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।










