१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीनवटा मोटर चल्ने पुल निर्माण



अ+ अ-

मुस्ताङ। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण गरेको हो ।

आयोजनाका प्रमुख ध्रुवकुमार झाले तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेका जानकारी दिए । उनका अनुसार मार्फाखोलामा एक सय २० र छुसाङको नर्सिङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माणका लागि विसं २०७५ असार २९ गते १० करोड १८ लाखमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो । पक्की पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्ट (राजु)ले बताए ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकअन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ वटा निर्माण सकिएको, दुई वटा निर्माणाधीन, पाँच वटाको ठेक्का तोडेको र पाँच वटा पुल निर्माणको प्रक्रियामा छन् । विसं २०७३/०७४ देखि शुरू भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रासस