एजेन्सी । अमेरिकाले शनिबारदेखि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को वेबसाइटसमेत बन्द (अफलाइन)गरेको छ । विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै ट्रम्प प्रशासनले यस्तो कदम चालेको हो ।
अमेरिकी कंग्रेसमा रहेका डेमोक्र्याटहरूले ट्रम्प प्रशासन स्वतन्त्र एजेन्सीका रूपमा युएसएआइडीलाई समाप्त पार्ने र यसलाई विदेश विभागमा समाहित गर्ने दिशातर्फ अघि बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
डेमोक्रयाटहरूका अनुसार अमेरिकी कंग्रेसअन्तर्गतको कोषबाट सञ्चालित स्वतन्त्र एजेन्सीलाई हटाउने ट्रम्पसँग कुनै कानुनी अधिकार छैन र युएसएआइडीको काम राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण छ । उता ट्रम्प र रिपब्लिकन सदस्यहरूले अधिकांश विदेशी सहायता र विकास कार्यक्रम बेकार रहेको बताउँदै आएका छन् । यसले उदार सामाजिक अजेन्डालाई प्रश्रय दिएको उनीहरूको दाबी छ ।
ट्रम्प प्रशासनले अमेरिकाले मानवीय विकास र सुरक्षा सहायताअन्तर्गत विश्वका कैयौं देशलाई उपलब्ध गराउँदै आएको अर्बौं डलर बन्द गरेको दुई सातापछि अमेरिका युएसएआइडीविरुद्ध अझ कडा प्रशासनिक कारबाही गर्ने दिशामा उद्यत् देखिएको छ ।
मानवीय सहायताका हिसाबले अमेरिका अहिलेसम्म विश्वकै सबैभन्दा ठुलो दाता हो । तर उसले आफ्नो बजेटको १ प्रतिशतभन्दा कम विदेशी सहायतामा खर्च गर्छ, जुन समग्रमा अन्य कैयौं देशको तुलनामा कम अनुपात हो ।
युएसएआइडीका कर्मचारीहरूले शुक्रबार र शनिबार च्याट समूहमा यो संस्थाको आगामी भविष्यको अनुमान गर्दै बिताएका थिए । उनीहरू यो संस्थाको झन्डा र प्रतीक चिह्नहरू अझै पनि वासिङ्टनस्थित मुख्यालयमा छन् वा छैनन् भनेर अद्यावधिक गरिरहेका थिए । शनिबार अबेरसम्म ती जस्ताका तस्तै थिए ।
उता अमेरिकी सरकारको उक्त कदमको प्रशंसा गर्दै इलन मस्कले युएसएआइडीलाई लक्षित गर्दै ‘कार्यकारी आदेशबाट बाँचेको र कार्यकारी आदेशबाटै अवसान भएको’ बताएका छन् ।
ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै अर्थात् जनवरी २० मै विदेशी सहायतामाथि ९० दिनका लागि तत्काल रोक्का गरिने घोषणा गरेका थिए । यो घोषणसँगै विश्वभर हजारौं कार्यक्रम बन्द भएका थिए र हजारौं कर्मचारीले रोजगारी गुमाएका थिए ।
रिपब्लिकनहरू युएसएआइडीको भूमिकामा बढी नियन्त्रण गर्न चाहन्छन् भने डेमोक्र्याटहरू यसको स्वायत्ततामा जोड दिँदै आएका छन् ।










