१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजसेवी सुवेदी जनसेवाश्री पदकबाट सम्मानित



अ+ अ-

चितवन । चितवनका स्थानीय समाजसेवी रामप्रसाद सुवेदी जनसेवाश्री पदकबाट विभूषित हुनुभएको छ । नेपाल सरकारले आज घोषणा गरेको पदक तथा विभूषणमा उहाँलाई जनसेवाश्री पञ्चम पदक प्रदान गरिएको हो ।

चितवनमा रहेर विभिन्न समाजसेवाका काममा संलग्न रही आउनुभएका उहाँ स्थानीय होटल र यातायात व्यवसायी हुनुहुन्छ । उहाँ होटल व्यवसायी महासंघका वरिष्ठ सल्लाहकार हुनुहुन्छ । उहाँका नारायणगढ बजारमा राम मिष्ठान्न भण्डार तथा श्रीराम पार्टी प्यालेस सञ्चालनमा छन् । गत पुसमा उहाँका होटलले नेपालकै उत्कृष्ट व्यवस्थापन पुरस्कार प्राप्त गरेको थियो ।  

उहाँ नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघमा विसं २०६४ देखि निरन्तर चौथो पटकसम्म केन्द्रीय वरिष्ठ उपाध्यक्ष रही आउनुभएको छ । यसअघि पनि उहाँले नेपाल सरकारबाट दुई ओटा समाजसेवा रत्न पदक र समाजसेवी पदक प्राप्त गरी राष्ट्रपतिबाट विभूषित भइसक्नुभएको छ । उहाँ ५४ औँ र ६४ औँ नेपाल प्रहरी दिवसका अवसरमा पनि स्थानीय वरिष्ठ समाजसेवीका रुपमा सम्मानित हुनुभएको थियो । 

विसं २०१६ मा बागलुङमा जन्मिएका रामप्रसाद सुवेदी चितवनका एक सफल व्यवसायी हुनुहुन्छ । उहाँ यहाँका विभिन्न सामाजिक संघसंस्थाहरुमा संलग्न रही यसका माध्यमबाट समाजसेवाका कार्य गर्दै आउनुभएको छ ।