८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै

स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै
अ अ+ अ-

रामपुर (पाल्पा) : झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्‍यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउनुुहुन्छ ।

यो अनुभव युवा प्रेमबहादुर सिंह ठकुरीको हो । उहाँ पाल्पा रामपुर नगरपालिका–५ भम्बक निवासी हुनुहुन्छ । उहाँले कफी व्यवसायमार्फत आफ्नो पहिचान बदल्नुभएको छ । पाँच वर्षअघि उहाँलाई कफी व्यवसायबाट समाजमा चिनिन्छु भन्ने लाग्दैनथ्यो । हाल उहाँको पहिचान प्रेमबहादुर नभई कफी व्यवसायी तथा धेरैका कफी दाइका नामले परिचित हुनुहुन्छु । उहाँलाई जीवनमा सोच्दै नसोचेको पहिचान प्राप्त भएको छ ।

नेपालका गाउँघर, सहर, बजारमा मात्र नभइ विदेशी भूमिमा कफी निर्यात हुन थालेपछि व्यवसायलाई दीर्घकालीन रूपमा टिकाउनुपर्छ र यसमै निरन्तरता दिएर काम गर्नुपर्छ भन्ने अठोट उहाँमा बढेको छ । उहाँले ‘अर्गानिक चिया तथा कफी’ को नामबाट व्यवसाय दर्ता गरी आफ्नै घरमा प्रशोधन मेसिन जडान गरी सञ्चालन गरिरहनुभएको छ ।

हाल प्रेमबहादुरले जापान, कोरिया, जर्मन, युएई, माल्टालगायत देशमा कफी निर्यात गर्दै आउनुभएको छ । उहाँका अनुसार विदेशमा ट्राभल गर्ने साथीको सहायताबाट यहाँको कफी बाहिर पठाउने कार्य भइरहेको छ । काठमाडौँ, पोखरा, बुटवल, तानसेनलगायत बजारमा खपत हुने गरेको छ । यसवर्ष कोरिया, जापान, जर्मन, माल्टा, युएईमा पटक–पटक गरेर करिब एक सय किलो कफी खपत गरेको उहाँले जानकारी दिनुभयो । गतवर्ष सोही परिमाणको हाराहारीमा खपत भएको थियो ।

“घरमा लगाएको कफी उत्पादन भयो, त्यसलाई प्रशोधन गर्न थाले, प्रशोधित कफी अब कहाँ बिक्री गर्ने, यसबारेमा अन्यौलमा थिए, स्थानीयको घरदैलोमा पुग्दा त्यस समयमा धेरैले खिसिट्युरी गर्थे, कहाँ लगेर बिक्री गर्ने, कसैले चिन्दैनथे, दोधारमा परे,” प्रेमबहादुरले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “निरन्तरको अथक मेहिनत र शरीर थाके पनि हिम्मतलाई थाक्न दिइन, जसको घरघरमा हिजो गाउँमा कफी बेच्न पुगे, आज उहाँहरू नै मेरै घरमा खरिद गर्न आउनुहुन्छ ।”

उत्पादित वस्तु राम्रो भयो भने समय ढिला होला तर एक दिन अवश्य बजार पाउँदो रहेछ भन्ने प्रेमबहादुरको अनुभव । ग्राहक तथा व्यापारीलाई बुझाउन सकियो भने विस्तारै व्यापार राम्रो हुने गरेको उहाँले बताउनुभयो । उहाँ आफैँले कफी उत्पादन, खरिद र प्रशोधन गरेर बजारमा पठाउनुहुन्छ । खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवामा ल्याव टेष्ट गरेर प्रमाणित भएपछि बजारीकरण थाल्नुभएको हो । चिया कफी विकास बोर्डले तोकेको मूल्यअनुसार बजारमा बिक्री हुन्छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–४ लग्दामा करिब आठ वर्षअघि पाँच रोपनीमा जग्गाबाट कफी खेती सुरू गर्नुभएका प्रेमबहादुरले दुई वर्षअघि चापाकोट–७ पटसारमा करिब ३५ रोपनीमा कफी विस्तार गर्नुभएको छ । विसं २०७८ देखि कफी प्रशोधनको व्यवसाय सुरू गर्नुभएका उहाँको व्यवसायमा करिब रू २५ लाख बराबरको लगानी परेको छ । उहाँले विरूवा उत्पादन गर्ने, गाउँघरमा किसानलाई कफी लगाउन प्रेरणा दिने, स्थानीयलाई कफीका बिरूवा उपलब्ध गराउँदै आउनुभएको छ ।

आउँदो असार–साउनमा करिब १६ हजार बिरूवा लगाउने प्रेमबहादुरको तयारी छ । प्रशोधित कफीको तुलनामा बिरूवा बिक्रीबाट राम्रो फाइदा हुने उहाँको अनुभव छ । एक वर्षमा हाल पाँच क्वीन्टल आफ्नै उत्पादन र १३ क्वीन्टल स्थानीयबाट खरिद गरिरहेको उहाँ बताउनुहुन्छ । वार्षिक रूपमा सरदरमा प्रशोधन गरिएको एक टन कफी बजारमा खपत गर्नुहुन्छ ।

प्रेमबहादुरका अनुसार अहिले स्थानीय होटल तथा रेष्टुरेण्टबाट कफीको माग धेरै आइरहेको छ । गाउँघरमा कफी सेवन गर्नुपर्छ भन्ने आदत बसेको छ । एक पटक खरिद तथा सेवन गरेका ग्राहक पुनःपटकपटक आउने गर्छन् ।

प्रेमबहादुर वैदेशिक रोजगारीको क्रममा आठ वर्ष कोरियाको कफी कम्पनीमा काम गर्नुहुन्थ्यो । त्यहाँ कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिक्नुभयो । गुल्मीमा उत्पादन भएको कफी आफू कार्यरत कम्पनीको सञ्चालकले खरिद गरी हिमालयको गिफ्ट नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देख्नुभएका उहाँ आफ्नै देशमा गर्न सक्ने सम्भावना देखेर गाउँ फर्केपछि व्यवसायमा लाग्नुभएको हो ।

नेपालमा देशमा उत्पादन भएको कफी विदेशीले महँगो मूल्यमा ब्राण्ड बनाएर बजारमा बिक्री गरिरहेकाले हामीले पनि उत्पादन गर्न सक्छौँ भन्ने विश्वास लागेपछि उहाँले गुल्मीबाट बीउ ल्याएर खेती सुरू गर्नुभएको हो । उहाँ बरमुन अर्मिलो, बरमुन भर्बिलो, गेइसिया जातका कफी खरिद बिक्री गर्नुहुन्छ । स्थानीय उत्पादन भएकाले ग्राहकले धेरै मन पाएका छन् ।

बजारीकरणका लागि रामपुर नगरपालिकाले सहजीकरण गरिदिएको प्रेमबहादुरले बताउनुभयो । युवा जनशक्ति विदेशमा जानुभन्दा आफ्नै गाउँमा बसेर केही व्यवसाय गर्न उहाँको सुझाव छ । देउला (कफीको कच्चापदार्थ) अर्थात् बोक्रा फालेको कफीको माग धेरै आउने गरेको छ । प्रशोधन गर्न थालेपछि गाउँका किसानले उत्पादन गरेका कफी बिक्री गर्न सजिलो भएको छ । नगरपालिकाले तयार पारेको कोसेली घरमा कफी बिक्रीको व्यवस्था मिलाएको नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“व्यवसायीलाई हौसला प्रदान गर्दै नगरपालिकाको विभिन्न अनुदान कार्यक्रम, तालिम तथा बजारीकरणमा सहजीकरण गरिरहेका छौँ, नगरपालिकामा बाहिरबाट आउने पाहुनालाई स्थानीय उत्पादन उपहारको रूपमा दिन स्थानीय व्यवसायीबाट खरिद गरिदिने गरेका छौँ, आयआर्जन बढाउन उत्पादनमूलक क्षेत्रमा नगरपालिकाले लगानी गरिरहेको छ”, नगर प्रमुख थापाले भन्नुभयो ।

कफी व्यवसायलाई प्रवर्द्धन गर्दै यसवर्ष रामपुर नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रमका समावेस गरी रू १० लाख बराबर रकमको ब्याज उपलब्ध गराइने कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताउनुभयो । व्यवसायका लागि रामपुरस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण रकमवापत व्यवसायीले मासिक रूपमा बुझाउनुपर्ने ब्याज तीन÷तीन महिनामा दुई वर्षसम्म खातामा उपलब्ध गराइने उहाँको भनाइ छ । सुशीला रेग्मी/रासस