विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत ८६ वर्षीय वृद्ध कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको बुधबार बिहान मृत्यु भएको छ। झापाको भद्रपुर–१० घर भएका पुरुषको बिहान ५ः५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए। अस्पतालको आइसोलेसनका प्रमुख डा। पुरु कोइरालाका अनुसार कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो। त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको उनले बताए।
रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनको आइसीयूमा भर्ना गरेर उपचार थालिएपनि वृद्धलाई बचाउन नसकिएको डा. कोइरालाको भनाइ छ। उनका अनुसार वृद्धलाई ज्वरो, नियमोनिया र श्वासप्रश्वासमा समस्या थियो। कोरोनासँग लक्षण मिल्ने जटिल खालको निमोनिया देखिएपछि उपचारका क्रममा बचाउन धेरै प्रयास गरिएको उनको भनाइ छ।
कोइरालाका अनुसार वृद्धमा मृगौला सम्बन्धी समस्या पनि थपिएको थियो। मृतकमा मधुमेहको पुरानै समस्या रहेको उनले बताए। शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइसकिएको अस्पतालले जनाएको छ।








