राप्रपा र राप्रपा संयुक्त बीच एकता भएको लामो समयसम्म केही प्राविधिक विषय नमिल्दा एकता प्रक्रियाले पूर्णता पाउन सकिरहेको थिएन । एकता जोगाउने कि छुट्टिएर अलग अलग हिड्ने भन्ने अवस्था पटकपटक आयो । विगतमा टुटफुट र विभाजनको कैयौं लाजमर्दो श्रृङखला बेहोरेको राप्रपा र यसको नेतृत्व पंक्तिका लागि निर्णय लिनु सजिलो कुरा थिएन । सरसर्ती हेर्दा पार्टीको नाम, झण्डा र विधान राप्रपाको स्विकार गरिसकेको अवस्थामा चुनाव चिन्ह हामीले पाउनुपर्छ भन्ने राप्रपा संयुक्त पक्षधरको माग र अडान नाजायज थिएन तर राप्रपाका लागि चुनाव चिन्हमा सम्झौता गर्ने विषय इतिहासकै सर्वाधिक कठिन, निर्मम र भावनात्मक थियो ।
तत्कालीन राप्रपा नेपालको अत्यन्तै प्रतिकूल समयमा प्राप्त गरेको चिन्ह, पार्टीको एजेन्डा सुहाउँदो चिन्हको रुपमा रहेको, सयौं पटकका सडक प्रदर्शन र आन्दोलन मार्फत ब्राण्डिङ्ग गरिएको, विगतमा सिङ्गो देश परिवर्तनको राप र तापमा रहँदा एक्लो वृहस्पति बनेर सडकमा चुनौती दिएको, ०७० को निर्वाचनमा लोकप्रिय मत हासिल गरेको, संविधान निर्माणका बखत राष्ट्रिय चिन्हलाइ चुनाव चिन्हको रुपमा दिन नमिल्ने भन्दै हटाइदिन खोज्दा हाम्रा सभासदले लडेर प्राप्त गरेको, मेची महाकाली रथयात्रा, राष्ट्रिय स्वाभिमान यात्रा र राष्ट्रिय एकता यात्रा जस्ता देशव्यापी अभियान सञ्चालन गरेको र पछिल्लो निर्वाचनमा अपेक्षा अनुरुप हुन नसकेपनि संघीय संसद, प्रदेश र स्थानीय तहहरुमा प्रतिनिधित्व गराउन सफल भएको हाम्रो चुनाव चिन्ह ूगाईू केवल एउटा चुनाव चिन्ह मात्र नभएर हाम्रा लागि हाम्रो पहिचान, हाम्रो स्वाभिमान र हाम्रो जीवन पद्धति बनिसकेको थियो । राप्रपा नेपालको कठिन समयमा काम गर्नेहरुले बुझ्न सक्छन् कि चुनाव चिन्हमा सम्झौता गर्नुपर्ने हाम्रो अवस्था कति कष्टकर र पीडादायी छ तर आलोचकहरु सजिलै आलोचना गरिदिन्छन् ।
पार्टी एकता जोगाउन भावनात्मक विषय जोडिएको चुनाव चिन्हमा सम्झौता गर्ने कठिन निर्णय लिएका छौं । प्रश्नहरु हुन सक्छन् किन पार्टी एकता गरेको ? चुनाव चिन्हमा कुरा नमिलेपछि किन नछुट्टिएको ? यो एकताले त्यस्तो के दिन्छ र जोगाउनु पर्ने ? सम्झौता गर्नुपर्ने त्यस्तो के बाध्यता आइपर्यो ? यसको उत्तर समयले अवश्य दिनेछ, भावनाले मात्र राजनीति चल्दैन ।
बडो दुस्खका साथ भन्नुपर्छ कि पार्टी स्थापनाको ३० वर्षसम्म पनि हामीले सबल र सुदृढ पार्टी बनाउन सकेनौं, यसका कारणहरु यहाँ खोजेर सम्भव पनि छैन, मेरो उद्देश्य पनि होइन । समय धेरै अगाडि आइसकेको छ, हाम्रा मान्यताहरुको जगमा सबल, समुन्नत र समृद्ध नेपाल बनाउन सकिन्छ भनेर हामीले प्रमाणित गर्नुपर्नेछ । हाम्रा संस्थापक नेताहरू, राप्रपाको सदस्य भएकै आधारमा ज्यान गुमाएका शहिदहरुको सपना साकार पार्नुपर्नेछ । अब एकपटक फेरि हामी बलियो पार्टी बनाउने प्रयास गरौं, किनकि हाम्रा कार्यभारहरु बाँकी छन् । इतिहासले हाम्रो काँधमा नेपालको पहिचान र सुदुर भविष्य जोडिएको हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने अभिभारा सुम्पेको छ । राप्रपा र राप्रपा संयुक्त बीचको एकता त्यहि अभिभारा पूरा गर्नलाई हो ।
हामीले बिर्सन नहुने कुरा के छ भने नेतृत्वलाई कमजोर बनाएर मात्रै हाम्रा एजेन्डा कमजोर हुन्छ भन्ने ठान्ने तत्वहरु अहिले पनि छन् । हाम्रो नेतृत्वलाई लाञ्छना लगाउने, अनर्गल प्रचार गर्ने काम निरन्तर भए, भइरहेका छन् । तर हामीले संगठित प्रतिवाद गरेनौं, हाम्रो मौनताको असर सिङ्गो पार्टीलाई परिरहेको छ । हामीले अरिङ्गाल बनेर डस्ने होइन तर मौरी जस्तो एकताबद्ध भएर सम्पूर्ण भ्रम चिर्ने प्रयास गर्नैपर्छ ।
यदाकदा नेतृत्वबाट पार्टी सञ्चालनका क्रममा कमी कमजोरी भएको हुनसक्छ, विगतमा असल उद्देश्यका लागि अवलम्बन गरिएका रणनीति असफल भएका पनि हुनसक्छन् तर नेतृत्वको सिद्धान्त प्रतिको निष्ठा र नियतमा शंका नगरौं । इमानदार पार्टी सदस्यले केवल भक्तिगान गाएर मात्रै हुँदैन, आलोचनात्मक चेत राख्नैपर्छ । तर यतिबेला पार्टी र नेतृत्वको अप्ठ्यारो बुझौं, मनन गरौं र साथ दिऔं ।
सबैलाई थाहा भइसकेको छ हामीले पार्टीको चुनाव चिन्हको रुपमा हलो कायम गर्ने निर्णय गरेका छौं, यो पार्टीको सामुहिक र सर्वसम्मत निर्णय हो । यो निर्णय लिनुअघि नेतृत्व ९अध्यक्ष० बाट प्रत्यक्ष वा भर्चुअल माध्यमबाट सचिवालय, कार्यसम्पादन, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, भातृ संगठन लगायत जिम्मेवार साथीहरूसंग सुझाव लिने काम भएको छ । हामीले सहि निर्णय गर्यौं वा गलत यसको उचित मुल्यांकन समयले गर्ने नै छ तर यो निर्णयको पक्षमा उभिनु हामी सबैको साझा कर्तव्य हो । केवल अध्यक्षलाई मात्रै दोष दिने र आफू पानी माथिको ओभानो बन्दै टुलुटुलु हेरिबस्ने विगतको प्रवृत्तिको पुनरावृत्ति हुनु हुँदैन भन्ने कुरा दोहोर्याएर भन्न चाहन्छु ।
पार्टीको बृहत्तर हित र दिगो एकताको पक्षमा लिइएको निर्णयको जगमा देशले खोजिरहेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने शक्तिशाली संकल्प गरौं ।
लेखक मोहन श्रेष्ठ राप्रपाका नेता हुनुहुन्छ ।








