२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा



अ+ अ-

भोजपुर । यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् ।

यहाँका युवाहरूले पछिल्लो समय व्यावसायिक रूपमा कृषि पेसाबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवा बताउँछन् ।

विदेशबाट फर्केर टेम्केमैयुङ–५ को शिवकुमार विष्टले व्यावसायिक रूपमा बाख्रापालनसँगै विभिन्न कृषि उद्यम गर्दै आउनुभएको छ । बाख्रापालनसँगै व्यावसायिक रूपमा स्याउखेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । “विभिन्न देशमा गरेर १० वर्ष आफ्नो उर्वर समय बाहिर बिताएँ, अब स्वदेशमा केही गर्ने योजना छ । विदेशमा गर्ने मेहनत यहाँ गर्ने हो भने प्रशस्त आम्दानी हुन्छ”, उहाँले भन्नुभयो ।

स्थानीयर सरकार र सरोकार भएका निकायका तर्फबाट पनि विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएपछि व्यावसायिक रूपमा आवद्ध हुन चाहनेका लागि सहज भएको विष्टले बताउनुभयो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तहलगायत निकायले विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक, तालिम तथा सीप प्रदान गर्दै आएका छन् ।

पुस्कर विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आउनुभएको छ । ‘पुस्कर कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरी बोयर र स्थानीय जात ५६ वटा बाख्रा पालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “विदेशबाट फर्केर पाँच वर्षदेखि व्यावासायिक बाख्रापालनमा लागेको छु”, उहाँले भन्नुभयो, “अहिले फार्ममा ५६ वटा खसी, बाख्रा छन् । वार्षिक रु आठ÷दश लाखको कारोबार हुन्छ ।”

बाख्रामा विभिन्न समयमा देखिने रोगका कारण भने समस्या हुने गरेको पुस्करले बताउनुभयो । जाडो याममा बढी मात्रामा बाख्रामा निमोनियाको जोखिम देखिने गरेको उल्लेख गर्दै गाउँमा पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारले किसानको व्यावसायिक योजनाको आधारमा आवश्यक सहयोग गरेमा कृषिमा लाग्ने युवाको सङ्ख्या अझ बढ्ने उहाँको भनाइ थियो । बाख्रापालनको लागि अहिले दश रोपनी क्षेत्रमा घाँस विस्तार गरेको बताउँदै पुस्करले योसँगै व्यावसायिक रूपमा अलैँचीखेती विस्तारसमेत गरिरहको जानकारी दिनुभयो ।

विदेशबाट फर्केर गाउँमा व्यावसायिक बाख्रापालनसँगै किबी, एभोकाडो, ओखर र सुतवाखेती गरिरहनुभएका अर्का युवा एकराज विष्टले विदेश जानुभन्दा गाउँमा व्यवसाय गरेर उदाहरणीय बन्न सकिने बताउनुभयो । “व्यावसायिक बनेर काम गर्न सकियो भने यहाँ प्रशस्त आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा धेरै युवाहरू विदेशबाट फर्केर उद्यममा जोडिएका छन् । यही मेहनत गर्न हो भने वार्षिक रु चार(पाँच लाख कमाउन समस्या छैन ।”