१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा



अ+ अ-

भोजपुर । यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् ।

यहाँका युवाहरूले पछिल्लो समय व्यावसायिक रूपमा कृषि पेसाबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवा बताउँछन् ।

विदेशबाट फर्केर टेम्केमैयुङ–५ को शिवकुमार विष्टले व्यावसायिक रूपमा बाख्रापालनसँगै विभिन्न कृषि उद्यम गर्दै आउनुभएको छ । बाख्रापालनसँगै व्यावसायिक रूपमा स्याउखेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । “विभिन्न देशमा गरेर १० वर्ष आफ्नो उर्वर समय बाहिर बिताएँ, अब स्वदेशमा केही गर्ने योजना छ । विदेशमा गर्ने मेहनत यहाँ गर्ने हो भने प्रशस्त आम्दानी हुन्छ”, उहाँले भन्नुभयो ।

स्थानीयर सरकार र सरोकार भएका निकायका तर्फबाट पनि विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएपछि व्यावसायिक रूपमा आवद्ध हुन चाहनेका लागि सहज भएको विष्टले बताउनुभयो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तहलगायत निकायले विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक, तालिम तथा सीप प्रदान गर्दै आएका छन् ।

पुस्कर विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आउनुभएको छ । ‘पुस्कर कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरी बोयर र स्थानीय जात ५६ वटा बाख्रा पालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “विदेशबाट फर्केर पाँच वर्षदेखि व्यावासायिक बाख्रापालनमा लागेको छु”, उहाँले भन्नुभयो, “अहिले फार्ममा ५६ वटा खसी, बाख्रा छन् । वार्षिक रु आठ÷दश लाखको कारोबार हुन्छ ।”

बाख्रामा विभिन्न समयमा देखिने रोगका कारण भने समस्या हुने गरेको पुस्करले बताउनुभयो । जाडो याममा बढी मात्रामा बाख्रामा निमोनियाको जोखिम देखिने गरेको उल्लेख गर्दै गाउँमा पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारले किसानको व्यावसायिक योजनाको आधारमा आवश्यक सहयोग गरेमा कृषिमा लाग्ने युवाको सङ्ख्या अझ बढ्ने उहाँको भनाइ थियो । बाख्रापालनको लागि अहिले दश रोपनी क्षेत्रमा घाँस विस्तार गरेको बताउँदै पुस्करले योसँगै व्यावसायिक रूपमा अलैँचीखेती विस्तारसमेत गरिरहको जानकारी दिनुभयो ।

विदेशबाट फर्केर गाउँमा व्यावसायिक बाख्रापालनसँगै किबी, एभोकाडो, ओखर र सुतवाखेती गरिरहनुभएका अर्का युवा एकराज विष्टले विदेश जानुभन्दा गाउँमा व्यवसाय गरेर उदाहरणीय बन्न सकिने बताउनुभयो । “व्यावसायिक बनेर काम गर्न सकियो भने यहाँ प्रशस्त आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा धेरै युवाहरू विदेशबाट फर्केर उद्यममा जोडिएका छन् । यही मेहनत गर्न हो भने वार्षिक रु चार(पाँच लाख कमाउन समस्या छैन ।”