जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ ।
कुल १०४ सदस्य रहेको प्रदेश २ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । मतदानमा जनकपुरधामको पक्षमा ७८ मत परेको हो ।
सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे ।
दोस्रो पटकको प्रयासमा जनकपुर राजधानी कायम भएको हो । यसअघि २०७६ चैत ३ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।
स्थायी राजधानीको टुंगो लगाएसंगै प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाउने तयारी पनि रहेको छ ।