२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती



अ+ अ-

भोजपुर । भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो स्थानमा पक्की पुल नहँुँदा नागरिकले बर्सेनि दुःख भोग्दै आएका छन् ।

वैकल्पिक उपायको रुपमा यहाँ करिब छ वर्षअघिबाट फेरी सञ्चालन गरिएको छ । तर विभिन्न प्राविधिक समस्या, हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने भएकाले समस्या झेल्नु पर्ने स्थानीयवासीको भनाइ छ । अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रको व्यापारिक केन्द्रको रुपमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले बषौँबाट समस्या भोग्दै आएका छन् । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीयवासी नवीन कार्कीले बताउनुभयो ।

“अरुण नदीमा पुल नहुँदा सिङ्गो उत्तरी क्षेत्रका नागरिकलाई समस्या छ”उहाँले भन्नुभयो,“नदीवारी षडानन्द क्षेत्रमा सडक कालोपत्र बन्दैछ । तर विडम्बना अरुण नदीमा पुल नै छैन् । यो नदीमा पुल बनिदिए हाम्रो क्षेत्रको विकासमा टेवा पुग्ने थियो ।” बर्खा समयमा पानीको बहाव बढेपछि पूर्ण रुपमा फेरी बन्द हने भएकाले झोलुङ्गे पुलबाट नै आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको उहाँको भनाइ छ।

“सतिघाटमा पुल बन्छ भन्ने आशामा लामो समय बित्यो”उहाँले भन्नुभयो,“हालसम्म उत्तरी क्षेत्रबाट यो अरुण नदीको कुनै पनि स्थानमा पक्की पुल छैन । सवारीसाधन तार्ने सबै भन्दा ठूलो विकल्पन नै यही फेरी हो । यो पनि वर्षा सुरु भएपछि बन्द हुन्छ ।”

यहाँ २०७६ सालबाट फेरी सञ्चालनमा आएको हो । विभिन्न प्राविधिक समस्याका कारण यो पनि बेलाबेला बन्द हुने गरेको छ । त्योसँगै पानीको बहाव बढेपछि भने फेरी पूर्णरुपमा बन्द हुने स्थानीयवासीको भनाइ छ । नियमित रुपमा भने करिब ६÷८ महिना मात्र फेरी सञ्चालन हुने गरेको छ ।

हिउँदको समयमा नदी पार गराउनको लागि बिहान ७ बजेबाट बेलुका १० बजेसम्म फेरी सञ्चालन हुने गरेको छ । हाल यही फेरीको सहयताबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक बाह्य जिल्ला आवतजावत गर्दै आएका छन् । फेरीले तत्कालीन समस्या समाधानमा केही राहत मिले पनि स्थायी समस्याको समाधान नरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । यहाँ पक्की पुल निर्माणको लागि पहलकदमी गरिरहेको प्रमुख उदासको भनाइ छ । रासस