१४ पुष २०८१, आईतवार
,
Latest
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपाललाई पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित सन् २०२६ एशियन गेम्सको तयारी–सदस्यसचिव घिसिङ काठमाडौँ महानगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित नागार्जुनका प्रमुख बस्नेतविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर प्रचण्डद्वारा बडी विल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई सम्मान दक्षिण कोरिया विमान दुर्घटनाः चरा ठोक्किन सक्ने चेतावनी दिइएको थियो विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारी : अर्थमन्त्री पौडैल सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती नेपाल जेसिजका निवर्तमान अध्यक्ष पोखरेल एमाले प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन



अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थाल्नुभएकी उहाँले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आउनुभएको छ ।

समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ । विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रुपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ ।

विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा रु ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ ।”

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो । तीन सन्तानकी आमा विरसलाई उहाँका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आउनुभएको छ । सुरुमा खाना तथा खाजा बिक्री गर्दै आउनुभएकी विरसले पछिल्लो समय चिया र छाली चिउरामात्र बिक्री गर्दै आउनुभएको छ । छाली र चिउरा प्रति बटुका रु एक सयमा बिक्री गर्ने गरिएको छ ।

विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धान्नुभएको छ । एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गर्नुभएको छ । तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा हुनुहुन्छ । तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्दैआउनुभएको हो । रासस