१४ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्ता मूर्तिलाई मन्दिरभित्र राखिँदैन ?



अ+ अ-

देवीदेवताका प्रकृति एवं ऊर्जा नुसार मूर्तिलाई मन्दिरभित्र, पर्खालले घेरेर, वृक्षमुनि, खुल्ला ठाउँ वा नदी किनारमा राख्नुपर्छ । सूर्य, भैरव, नाग, नवग्रह, ऋषि र देवीदेवताले स्थापना गरेका, राक्षसहरूले पूजेका, तान्त्रिक देवीदेवता आदिका मूर्तिहरूलाई मन्दिरभित्र राख्न हुँदैन । मन्त्रात्मक ऊर्जा, यन्त्रात्मक बनोट एवं तन्त्रशक्ति प्रवाह हुने मूर्तिलाई खुल्ला ठाउँ, वृक्षमुनि वा जलभित्र राख्नुपर्छ ।

मूर्ति देवीदेवताको शरीर भएकाले सुरक्षितरूपमा, विधिपूर्वक, उपयुक्त स्थानमा स्थापना गरिन्छ । मानव शरीरमा नौवटा द्वार (प्वाल)  हुन्छन् जहाँ आत्मा व्यापक हुन्छ । आत्मासहितको मूर्तिलाई शास्त्रीय विधानपूर्वक नराख्दा अनिष्ट हुन सक्छ । बलि दिनुपर्ने, विशिष्ट प्रयोजनका लागि स्थापित, तान्त्रिक विधिले पूजा गर्नुपर्ने वा आकाशगामी देवीदेवताका मूर्तिलाई छाना नभएको, ढोका नलगाइने, आँखीझ्याल भएका मन्दिरमा राखिन्छन् । प्रकृतिसँग जोडिनुपर्ने, गतिशिल हुनुपर्ने, देवीदेवता वा सिद्धहरू दर्शन गर्न आउने मूर्तिलाई मन्दिरभित्र राख्न हुँदैन ।

वि. सं. २०७२को महाभूकम्पपछि प्राचीन मूर्तिको इतिहास र महत्व नबुझी, मन्दिर पुनर्निर्माणका क्रममा धेरै गल्ती भएका छन् । ठूला, अग्ला, आकर्षक बनाउन खोज्दा परम्परामाथि वज्रपात, पुर्खाको कला र ज्ञानमाथि प्रतिघात, साधनामाथि आघात हुन पुगेका छन् ।

मूर्तिकलामा शास्त्रलाई मात्र होइन भूगोल, जंगल, गुफा र नदी आदिको इशारालाई बुझ्नुपर्छ । यिनीहरूकै काखमा मूर्ति जन्मिए, देवीदेवता पुजिए, ऋषिहरू आराध्य बने । अग्लिएको पर्वतमा पवित्रता छ, उभिएको हिमालमा हीनता नाश गर्ने शक्ति छ, बगेको नदीमा दैवी ऊर्जा छ, वनस्पतिमा मन शुद्ध गर्ने तागत छ, पहाडमा पाप पखाल्ने जादु छ । मूर्ति राख्दा, मन्दिर बनाउँदा भूमिको स्वरूप, वातावरणको शक्ति, नदीको बहाव, समाजको संरचना आदिलाई ध्यान दिई बनाएमा देवीदेवताको दर्शन पाइन्छ, भाकल र साधना पूरा हुन्छ ।

भूऊर्जाका कारण मूर्ति एवं मन्दिरमा अद्भूत घटनाहरू देखिन्छन् । उदाहरणका लागि पश्चिम नेपालको जलजला क्षेत्रमा पूजा गर्ने ढुङ्का छनौट विधिलाई लिन सकिन्छ । पूजाको अघिल्लो रात आकाशबाट उल्का पिण्ड खसेझैँ उज्यालो आएर जुन ढुङ्कामा विलीन हुन्छ, त्यसैलाई धामीझाँक्री वा तान्त्रिकहरूले पत्ता लगाउँथे । यो ढुङ्का समाउनेबित्तिकै उनीहरू काम्थे र विधिअनुसार स्थापना गरी पूजा गर्दथे ।

शक्ति बर्सिएको ढुङ्का, भगवान् बसेको धातु, देवीदेवता रहेको रत्नलाई मूर्ति बनाउनुपर्छ । कतिपय मूर्ति वा भूमिको ऊर्जाले शरीर काम्न (हल्लिन) थाल्छ, मनमा तरङ उत्पन्न गर्छ, पत्याउनै नसक्ने अनुभूति हुन्छ । कतिपय मन्दिरले पूर्वजन्मको पापलाई नाश गर्छ, शान्तिको आभास दिलाउँछ, भावुक तुल्याउँछ र संस्कारलाई उजागर गराउँछ । केहीलाई वेद, गीता, चण्डीलगायतका ग्रन्थहरू छुँदा, शिवालय र देवीमन्दिर आदिमा जाँदा कम्पन आउँछ । मूर्ति र तीर्थस्थलमा दैवी शक्ति हुन्छ, प्रकृतिको सात्विक तरङ चल्छ, ग्रहहरूको अनुकूल ऊर्जा प्रवाह हुन्छ र सुषुप्त अवस्थामा रहेको शक्तिलाई उजागर गर्छ ।

जन्मकुण्डलीमा नवमेश वा वृहस्पतिको बसाई ठीक नहुँदा, पूर्वजन्मको खराब कर्मले गर्दा कतिपय तीर्थस्थल र मन्दिरमा जाने वातावरण मिल्दैन, गई हाले पनि अनेक अड्चन आउँछ, पूर्ण हुँदैन । देवीदेवतासहित अदृश्य शक्ति आउने हुँदा बस्न सजिलो होस् भनी कुण्ड र तीर्थस्थलमा भक्तजनहरूले माटोको ढिस्को बनाएर वा एकमाथि अर्को ढुङ्का राखेर पूजेको देखिन्छ । एउटामात्र ढुड्डा राखे परमात्मा, दुईवटा ढुड्डा खप्टाएर प्रकृति र पुरुषको रूपमा, तीनवटा राखे त्रिदेव, एघारले रुद्र र १४ ले चौध लोकका सम्पूर्ण देवीदेवता पुजिएको संकेत दिन्छ । सृष्टिको उषाकालदेखि सूर्य, जल, माटोका ढिस्का, अनौठा र ऊर्जावान् ढुङ्का, वनस्पति आदिमा दैवी शक्ति अधिक भएकाले पूजा गरिन्थ्यो ।

प्राचीन कालमा कुनै पनि धातु, रत्न, पत्थर आदिलाई काँट्छाँट् नगरी, आकृति नबनाई मूर्ति राखिन्थ्यो । द्वापरयुगको अन्त्यसँगै देवी, भैरव, विष्णु, महादेव आदिको स्वरूप बनाई मूर्तिहरू कुँद्ने क्रम व्यापक भयो । त्यसभन्दा पहिलाका मूर्तिमा कसैको आकार छैनन् । जबदेखि  ईश्वरलाई आकारमा देख्न चाहे, दैवी ऊर्जा, सशरीर लिन मिल्छ भन्ने विश्वास बढ्यो । ईश्वरलाई शरीरधारी संझन थालेदेखि विभिन्न स्वरूपका मूर्ति बनाई फलफूल आदि वृक्षका फेद, तीर्थ, दोबाटो, चौबाटोमा राखेर पुज्न थाले । बौद्ध धर्मावलम्बीहरूले पनि स्तूप, ऊर्जाशील मूर्ति आदिलाई मन्दिरभित्र राख्दैनन् । त्रिपुर दहन हुँदा मय दानवले खुल्ला ठाउँमा शिवलिङ्ग पूजा गरिरहेको वर्णनले प्राचीन कालमा मूर्तिलाई मन्दिरभित्र नराखेको पुष्टि हुन्छ । स्वस्थानी व्रतकथाले पनि बालुवाबाट शिवलिङ्ग बनाएको बताउँछ तर शिवालयमा राख्नेबारे बोल्दैन ।

मूर्ति निर्माणका लागि पुर्खाहरूले सजिलै पाइने, बलियो, ऊर्जाशील, तन्त्र र मन्त्रशक्ति छिट्टै हस्तान्तारण हुने पदार्थ ढुङ्कालाई छनौट गरे । ढुङ्काले सबैभन्दा पहिले देवीदेवताको स्वरूप लिने सौभाग्य पायो । ईश्वर संझेर पुजेका पदार्थ सुरक्षित होस्, दुषित नहोस्, सधैँ पूजा गर्न पाइयोस् भनी जुन स्थानमा राखियो त्यसलाई थान (स्थान) भनियो । कतिपय स्थानमा अहिलेसम्म थानी वा देउराली भेटिन्छन् ।

यहाँ पुज्दा परमात्मा प्रसन्न हुन्छन्, दर्शनले छिट्टै शक्ति, साधना गर्दा लक्ष्य पूरा हुन्छ । थानी वा देउराली संझिएर आकारबिहीन ढुड्डाका मूर्तिलाई डाँडाको टुप्पो, भञ्ज्याङ, चौतारो, जलाशयनजिक वा फल्ने–फूल्ने–औषधिजन्य वृक्षमुनि राखिन्छ । तनहूँ जिल्लाको थानीदेवी, अर्घाखाँचीजिल्लाको सुपादेउरालीमा अथाहा शक्ति भएकाले भक्तजनको भीड लाग्छ । यस्ता मूर्तिले आकाश, धर्ती र जमिनमुनिका दैवी ऊर्जालाई तानेर भक्तहरूलाई दिन्छन्,  प्रकृतिको संरक्षण गर्दछन्, दैवी विपत्तिलाई रोक्छन् ।

द्वापरयुगसम्म मूर्तिपूजाको अभ्यास भइसके पनि मन्दिरभित्र राखेको पाइँदैन । महङ्गा धातु, पत्थर, रत्न आदिबाट मूर्ति बन्न थालेपछि चोरिने, फोरिने, बिगार्ने हुँदा सुरक्षार्थ मन्दिरभित्र राख्न थालियो । पाथीभरादेवी, गौरीदेवी (गौरीघाट), कलङ्गीदेवी, वनकाली, दक्षिणकाली, कालभैरव, छाब्दीबराह, आलमदेवीलाई मन्दिरभित्र राखिएको छैन । कतिपय मूर्तिमा देवीदेवताहरू आकाशमार्गबाट दर्शन गर्न आउँछन्, केही मूर्तिको सम्बन्ध विभिन्न लोक र अन्तरिक्षसँग हुन्छ, केही मूर्तिले ब्रéमुहूर्तमा आकाशबाट मोतीले अभिषेक गर्ने वा तीनको तीनै प्रहर स्नान गर्ने हुँदा मन्दिरभित्र राख्न हुँदैन ।

मूर्तिसँग साधकले कुराकानी गर्दथे, सहयोग माग्दथे, रहस्य बुझ्थे । पाशुपतक्षेत्रमा शंकराचार्य र अमर गिरिबिच शास्त्रार्थ हुँदा सरस्वतीको मूर्ति बोलेको चर्चा छ । पचलीभैरवसँग राजाले खड्ग आदानप्रदान गर्थे । कुमारीसँग राजा वा उच्चसाधकले कुरा गर्थे । देवीसँग पासा खेलेर राष्ट्रलाई आइपर्ने अवस्थाको पूर्वजानकारी राजाले लिन्थे । शक्तिसञ्चार भइरहने सूचना आइरहने मूर्तिलाई छोप्न, ढाक्न, थुन्न मिल्दैन ।

मूर्ति र मन्दिर, पूजा र ध्यान, तीर्थस्थल र साधनास्थलको गोप्य रहस्य साधकलाई थाहा हुन्छ । तिनीहरूको पहिचान छालाका आँखा र भौतिक उपकरणबाट हुन सक्दैन । मूर्तिकै शक्तिले असम्भव कार्यलाई सजिलै सम्पन्न गर्थे । वि. सं. २०१७ कार्तिक ९ गते गोरखाकाण्ड घटेको तीन दिनमा योगी नरहरिनाथ गोरखादेखि जुम्ला पुगेको, महागुरु फल्गुनन्द हिमालमा सामान्य लुगा लगाई खाली खुट्टा हिँडेको, बालागुरु षडानन रुमाल ओछ्याएर कोशी तरेका विषय हामीबिच छँदैछन् । साधकहरू मन्त्र, तन्त्र, क्रिया, द्रव्य, काल आदिको शक्तिबाट आकाशमा जान आउन सक्छन्  ।

जुन मन्दिरमा छाना छैन, यन्त्र वा दीयो आदि राखिएको छ, जमिनको सतहमुनि वा तलामाथि मूर्ति राखिएको मन्दिर शक्तिशाली हुन्छन् । छाना राख्दा अनिवार्य रूपमा शास्त्रविधिअनुसार गजुर बनाउनुपर्छ  । मन्दिरमा कतिवटा देवीदेवताको पूजा हुन्छ गजुरले बताउँछ । एउटा गजुर भएको मन्दिरभित्र एउटामात्र मूर्ति, तीनवटा गजुर भएको मन्दिरभित्र तीनवटा मूर्ति, ५ गजुरले पाञ्चायन देवता, ९ गजुरले नवदुर्गा भएको सूचना दिन्छन् । गजुरलाई मन्दिरको शोभा बढाउन होइन यसले ईश्वर, प्रकृति, प्राणीबिच सम्पर्क स्थापित गराउँछ । गजुर एक प्रकारको राडर वा एन्टिना हो ।

कतिपय अवस्थामा मूर्तिमा भन्दा गजुरमा दैवी ऊर्जा एवं संचार गर्ने क्षमता बढी हुन्छ । यसैले प्राय: गजुरचाहिँ सुन वा महङ्गो धातुको राखिन्छ । मूर्तिको दर्शन गर्न नमिले गजुरको दर्शन गर्दा पनि पूर्णफल मिल्छ । गजुरमाथि घण्टी, कमलको फूल, पूर्णकलश र टुप्पोमा विभिन्न मणि आदि राखिन्छ जसले विभिन्न ऊर्जालाई तान्छ । कस्ता धातुले कुन शक्ति तान्छ भन्ने ज्ञान हाम्रा पुर्खालाई भएकाले तिनै धातुबाट गजुर बनाउँथे ।

नवग्रहहरूका मूर्तिलाई मन्दिरभित्र राखिँदैन । भारतको प्रसिद्ध शनिमन्दिर यसको उदाहरण हो । सामान्यत: सूर्यको मूर्ति मन्दिरभित्र राखेमा सूर्यको किरण छिर्ने हुनुपर्छ । भक्तपुरस्थित च्यामासिंनजिकै रहेको ब्रम्हयणी मूर्तिलाई छानाले सुरक्षा दिए पनि ढोका राखिएको छैन । ललितपुरमा रहेको सुनको मूर्तिका पुजारी सानो उमेरको हुनुपर्छ । तान्त्रिक मूर्तिको आफ्नै विधि, भिन्न शक्ति र अलग्गै प्रकृति हुनाले गुह्वेश्वरी, किरातेश्वर, भद्रकाली, पाथीभरालगायतका मन्दिरको छाना छैन ।

देवीलाई देव्यास्त्र, मन्त्र, तन्त्र, यन्त्र आदिका स्वरूपमा पूजा र प्रयोग गरी अनेक लाभ लिन सकिन्छ । ज्वरो निको पार्नका लागि ज्वरेश्वरोमहादेव, दाँत दु:खेमा वास्या:द्य:, विफर आएमा शितलादेवी, सन्तान प्राप्तिका लागि सन्तानेश्वरमहादेव, शत्रुनाशका लागि छिन्नमस्ता वा भैरवी, राम्रो बोली आओस् भन्नका लागि वागेश्वरीदेवी वा वक्रेश्वरमहादेवको पूजा गर्ने परम्परा थियो । नेपालमा अलौकिक शक्ति भएका, अनेकौँ स्वरूपका मूर्तिहरू छन् ।

गोरखास्थित हनूमान्भञ्ज्याङमा सरस्वतीको एक हातमा खड्ग बोकेको मूर्ति छ । उग्रकालीले महादेवको छात्तीमा टेक्नै लागेका मूर्तिहरू प्रशस्त पाइन्छन् । युधिष्ठिरले देवीबाटै अक्षयपात्र (हजारौँलाई खान पुग्ने भोजन दिने भाँडो) पाएका थिए । अज्ञानवश नेपालका केही मूर्तिहरूलाई मन्दिरभित्र राख्न खोज्दा पटकपटक भित्ता भत्कने, छाना उडाइदिने, आगो र चट्याङको प्रकोप भएका छन् । मर्म बुझेर, रहस्य जानेर, भाव बुझेर, ऊर्जालाई ध्यानमा राखेर मन्दिर बनाउन र मूर्ति राख्ने गर्नुपर्छ ।