१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरोध गर्ने संवैधानिक हकलाई प्रदेश सरकारले सम्मानपूर्वक ग्रहण गर्छ– मुख्यमन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंंकर पोखरेलले निर्णयमा चित्त नबुझे बिरोध गर्ने संवैधानिक हकलाई प्रदेश सरकारले सम्मानपूर्वक ग्रहण गर्ने बताउनु भएको छ ।

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को राजधानी  दाङको भालुवाङमा नयाँ संरचना निर्माण गरेर यस प्रदेशका बासिन्दाको साझा मनोविज्ञान तयार पारिने बताउनु भयो ।

उहाँले भन्नुभयो, बुटबलबाट राजधानी सार्न लागेको होइन, भालुवाङमा स्थायी संरचना नबन्दासम्म त्यहीँ रहन्छ, राजधानी सर्ने भन्दा पनि नयाँ पुस्ताका लागि नयाँ ठाउँको विकास गर्न लागिएकाे हाे । 

मुख्यमन्त्री पोखरेले राजधानी कहाँ रहने भन्ने  विषय प्रदेशसभाले तय गर्ने कुरा भएको जनाउँदै पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरिएको बताउनु भयो ।  

बुटवलबाट राजधानी सार्न खोजेको भन्दै पार्टी महासचिव विष्णु पौडेलप्रति भैरहेको टिकाटिप्पणी प्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री पोखरेलले राष्ट्रिय राजनीतिको एक सम्मानित व्यक्तिमाथि प्रदेश राजधानीको विषयलाई लिएर गरिने टिप्पणी अशोभनीय भएको बताउनु भयो ।

मुख्यमन्त्री पोखरेलले प्रतिपक्षी दललाई समेत सहमतिमा लिएर यस विषयमा अघि बढ्ने जानकारी दिनुभयो ।

यसैबीच महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई प्रदेश ५ को राजधानी बुटवलमै राख्नुपर्ने माग गर्नुभएको छ । प्रदेश पाँचका मुख्यमन्त्री पोखरेल सहित नेता जनार्दन शर्माको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षसँगको भेटमा महासचिव पौडेलले प्रदेश ५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गर्नु भएको थियो ।

उता राजधानीको विषयमा पार्टीका शीर्ष नेताहरुको सहमति लिएर बुटबल पुग्नु भएका  मुख्यमन्त्री पोखरेल सवार गाडीमाथि ढुंगामुढा भएको छ ।