काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा सार्बजनिक रुपमा बहसमा आएका कुनै पनि बिषयमा ठोस छलफल हुन भएन ।
मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निबास वालुबाटारमा बसेको बैठकमा न त मन्त्रीमण्डलको पुनर्गठन , न राजनीतिक नियुक्तिकै बारेमा छलफल भयो । बरु पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिका बारेमा भन्दै सामाजिक सञ्जालमा दिएको टिप्पणीका बारेमा ठट्टा भएको थियो ।
बैठकमा सांगठानिक एकीकरणको विषयमा कुरा मात्र उठे पनि छलफल भने भएन । मंगलबारको बैठकमा चिकित्साक्षेत्रको सुधारको माग राखी अनसनमा बस्नु भएका डा.गोविन्द केसीको बारेमा अधिकांश समय छलफल भएको थियो । प्रधानमन्त्री ओलीले केसी पक्षसँग शिक्षा सचिवको टोलीले छलफल गरिरहेको जानकारी गराउनु भएको थियो ।











