७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीयू र भेन्टिलेटरको चरम अभाव



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरूमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरको चरम अभाव देखिएको छ । पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर नहुँदा संक्रमण पुष्टि भएका र नभएका दुबै विरामीलाई दैनिकजसो सकस हुँदै आएको छ । गम्भीर प्रकृतिका बिरामीहरूले सितिमिति अस्पतालमा बेड पाउन सक्दैनन् । यस्तै, लक्षणसहितका गम्भीर प्रकृतिका संक्रमितले समेत बेड नपाएर छटपटिनुपर्ने बाध्यता सिर्जना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर २ हजार ६ सय आईसीयू र नौ सय भेन्टिलेटर छन् । यस्तै २० हजार ७ सय ६५ आइसोलेसन बेड छन् । यसबाहेक देशभरका मेडिकल कलेजमा सात सय आईसीयू बेड, २ सय ३८ भेन्टिलेटर र ४ सय ५८ जना तालिमप्राप्त स्वास्थ्यकर्मी रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा १ सय ८१ वटा आईसीयू बेडमध्ये ८२ वटा र ७६ भेन्टिलेटरमध्ये २७ भेन्टिलेटर प्रयोगमा आएका छन् । काठमाडौं उपत्यका संक्रमणको दृष्टिकोणले हटस्पट बनेको छ । तर, उपत्यकाभित्रका सरकारी र निजी अस्पतालमा बेडको चरम अभाव छ ।

कोरोना संक्रमितको उपचारका लागि तोकिएका उपत्यकाका १० सरकारी अस्पतालमा २ हजार ८ सय ६८ जनरल बेड, ३ सय ५१ आइसोलेसन बेड रहेका छन् । यस्तै, उपत्यकाका निजी अस्पताल र मेडिकल कलेजहरूमा ३ हजार ५ सय ३ जनरल बेड, रहेका छन् । भेन्टिलेटर र आईसीयू पर्याप्त मात्रामा नहुँदा गम्भीर प्रकृतिका बिरामीहरू निकै मारमा परेका छन् । तर, सरकार भेन्टिलेटर र आईसीयू थप्न लागिपरेको छैन । आईसीयूमा भर्ना हुनुपर्ने बिरामीहरूलाई केही अस्पतालले वेटिङमा राखेको पाइएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि काठमाडौं कीर्तिपुरमा होम आइसोलेसनमा बस्दै आएका प्यूठानका ४८ वर्षीय पुरुषमा एक्कासि छाति दुख्ने समस्या देखियो । उनका आफन्तले घरबाटै नजिकै पायक पर्ने भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । अस्पतालले बेड नभएको जानकारी दियो । दाङ दुधरासकी ५२ वर्षीया एक महिलामा एक्कासि स्वाद थाहा नपाउने र उच्च ज्वरो आउने समस्या देखियो । परिवारको सल्लाहअनुसार उनी पीसीआर टेस्ट गर्ने र नजिकैको अस्पतालमा भर्ना हुने निर्णयमा पुगिन् ।

उनले भनिन्, ‘के गर्नु लक्षण देखिए पनि टेस्ट गर्न पाइँदैन ? अस्पतालमा भर्ना हुनलाई पीसीआर रिपोर्ट चाहिने । अस्पतालले पनि बेड छैन भन्ने जवाफ दिन्छ ।’ जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले अस्पतालहरूमा आईसीयू भरिएको भन्दै बिरामी मारमा परेको बताए । उनले भने, ‘अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन, आईसीयू प्याक भएका छन्, भेन्टिलेटरको पालो कुर्दा ज्यान गएको छ । सिकिस्त बिरामीले अस्पताल चहार्दा चहार्दै बाटोमै मृत्यु भएको छ ।’ स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ४२ जना भेन्टिलेटरमा र २ सय ३५ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् । आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय २८ जना आईसीयू र ३० जना भेन्टिलेटर, लुम्बिनीमा ३९ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आईसीयू र ४ जना भेन्टिलेटरमा र प्रदेश २ मा १४ आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १९ जना आईसीयूमा उपचाररत छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ । बिहीबार देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको प्सिीआर परीक्षण गीरएको छ । यस्तै, बिहीबार २ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ । काठमाडौं उपत्यकामा बिहीबार मात्रै थप २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजधानी दैनिक