२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोरीले पहेँलपुर नवलपरासीका फाँट



अ+ अ-

नवलपुर । यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अधिकांश फाँट तोरी फुलेर पहेँलपुर भएका छन् । अधिकांश स्थानमा बारी, खाली जमिनदेखि ठूला फाँटमा लगाइएको तोरी फुलेर पहेँलै देखिन्छन् ।

जिल्लामा तोरी लगाउने क्षेत्रफलसँगै उत्पादन बढेका कारण नवलपुरले तोरीमा आफ्नो ‘साख’ पुनः फर्काउँदै गएको छ । गैँडाकोट–४ का रामप्रसाद खनियाले यसपालि गैँडाकोटका प्लटिङदेखि ठूला फाँटमा समेत तोरीखेती गरिएको बताउनुभयो । “अहिले सबैतिर तोरी फूलेको दृश्य देख्न सकिन्छ । विगतमा गहुँ लगाउने खेतमा समेत यसवर्ष तोरी देखिन्छ”, उहाँले भन्नुभयो । खनियाले आफूले पनि यसवर्ष करिब २० कठ्ठा क्षेत्रफलमा तोरीखेती गरेको बताउनुभयो ।

कावासोती–१७ का नन्दराम गुरौँले तोरीको माग र तेलको मूल्य बढ्न थालेपछि यसतर्फ आकर्षण बढेको बताउनुभयो । “तोरी लगायो भने घरबाटै बिक्री हुन्छ, आम्दानी पनि राम्रो छ”, उहाँले भन्नुभयो, “अरु बाली लगाउँदा सिँचाइ, मल तथा विषादी धेरै हाल्नुपर्छ तर तोरीमा थोरै मेहनत गर्दासमेत राम्रो उत्पादन हुन्छ ।” उहाँले एक बिघामा तोरी लगाउनुभएको छ ।

कृषि ज्ञान केन्द्र नवलपुरकाअनुसार पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा तोरीखेती गरिने क्षेत्रफलमा उतारचढाव आएको भए पनि उत्पादकत्व भने लगातार बढेको देखिन्छ । कार्यालयका कृषिप्रसार अधिकृत एवम् सूचना अधिकारी विश्वास काफ्लेले जिल्लामा आर्थिक वर्ष २०७९र८० मा एक हजार एक सय ८५ हेक्टर र आव २०८०र८१ मा एक हजार एक सय ७८ हेक्टर क्षेत्रफलमा तोरीखेती भएको बताउनुभयो । यस्तै, चालु आव २०८१र८२ मा एक हजार एक सय ८७ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रले जनाएको छ ।

आव २०७९र८० मा जिल्लामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरीको उत्पादन हुँदा उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०८ मेट्रिक टन रहेको सूचना अधिकारी काफ्लेले जानकारी दिनुभयो । आव २०८०र८१ मा एक हजार दुई सय ८३ मेट्रिक टन तोरी र उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०९ मेट्रिक टन पुगेको छ । अघिल्ला वर्षमा भन्दा यसवर्ष तोरीको क्षेत्रफलसमेत वृद्धि भएकाले उत्पादकत्वसमेत बढ्ने अनुमान गरिएको काफ्लेको भनाइ छ ।

उहाँले भन्नुभयो, “किसान बालीप्रति सचेत हुँदै समयमै बीउ छर्ने, मल हाल्ने तथा सिँचाइ गर्ने गरेका कारण निरन्तर उत्पादकत्व बढ्दै गएको छ ।” जिल्लाको बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाबाहेक छवटै पालिकामा तोरी उत्पादन हुँदै आएको सूचना अधिकारी काफ्लेले बताउनुभयो । सबैभन्दा बढी कावासोती र गैँडाकोटमा तोरीको उत्पादन भने उहाँले बताउनुभयो । रासस