चरिकोट (दोलखा), २२ मङ्सिरः टेलिभिजन च्यानलले समाचारको अन्त्यमा दिने मौसमसम्बन्धी जानकारीमा जिरीमा आज यति मिलिमिटर पानी प¥यो वा मौसम सफा रहनेछ भनेको सुन्दा जिल्लाभरि नै त्यति नै परिमाणमा पानी परेको वा मौसम सफा रहेको होला भन्ने यदुनाथ न्यौपानेलाई लाग्थ्यो । जब उहाँ आफैँले मौसमको पूर्वानुमान गर्नसक्ने हुनुभयो, जिरीको मौसम र जिल्लाको अन्य भागको मौसमको अवस्था एकैनास हुने रहेनछ, ठाउँअनुसार फरक हुने रहेछ भन्ने ज्ञान भयो, अब उहाँ हरेक दिन आफू वरपरको मौसमको पूर्वानुमान गर्नसक्ने हुनुभएको छ ।
मौसम पूर्वानुमानमा स्थानीय व्यक्तिहरुको क्षमता अभिवृद्धि गराउने र स्थानीयस्तरमै नागरिक वैज्ञानिक तयार गर्ने उद्देश्यले छ महिनाअघि भीमेश्वर नगरपालिकामा सञ्चालन गरिएको तालिम र सामान्य प्रविधिको माध्यमबाट उहाँमा यो क्षमता विकास भएको हो । उहाँ भन्नुहुन्छ, ‘‘अब कति पानी पर्दा कस्तो क्षति हुनसक्छ, बाढी, पहिरोजस्ता विपद्बाट कसरी समुदायलाई सुरक्षित राख्न र विकास निर्माणका कामहरु गर्दा जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने जानकारी पनि भएको छ ।’’
एशियाली पूर्व तयारी केन्द्र (एडिपिसी) को सहयोगमा भीमेश्वर नगरपालिका, इन्टिच्युट अफ हिमालयन रिक्स रिडक्सन (आइएचआरआर) र स्मार्टफोन फर वाटर नेपाल (एस४डब्लु) को संयुक्त पहलमा सञ्चालन गरिएको भिक्ट्री नामक परियोजनामार्फत यदुनाथसहित नगरपालिकाका नौवटै वडाका पाँच/पाँचजना सर्वसाधारणलाई प्रशिक्षित गरी साधारण उपकरणमार्फत मौसम पूर्वानुमान गरिएको थियो । नागरिक वैज्ञानिकहरुको सूचनाकै आधारमा पहिरोको जोखिममा रहेको घरलाई स्थानान्तरण गर्ने, पहिरोमा सडक भासिनसक्ने अवस्थामा विद्यालय बन्द गराउनेजस्ता कार्यहरु हुँदा जिल्लाकै अति जोखिम मानिएको यस नगरपालिकामा ठूलो जनधनको क्षति हुन पाएन ।
विषयत गहन अध्ययन गरी विशेषज्ञता हासिल गरेका व्यक्तिलाई वैज्ञानिक भन्ने बुझ्र्नुुभएकी वडा नं १ की निशा थामीलाई कुनै दिन आफू पनि नागरिक वैज्ञानिक बन्न सकिन्छ भन्ने लागेको थिएन । घरको चुलोचौका र मेलापातमै सीमित रहेका महिलाहरुले मौसमको पूर्वानुमान गर्न सक्छन् भन्ने कुरामा गाउँका कसैले पनि विश्वास गर्ने कुरै थिएन । उहाँ भन्नुहुन्छ, ‘‘शुरुमा त यस्ता पनि वैज्ञानिक रे भनेर हामीलाई हस्सीबजाकमा उडाइएको थियो ।’’ साधारण लेखपढ मात्र गर्न सक्ने उहाँ आज सामान्य प्रविधिकै भरमा मौसमको पूर्वानुमान गर्न सक्ने भएको देख्दा समाजमा अलग्गै पहिचान बनेको छ । त्यतिमात्र होइन, अब गाउँलेहरु मौसमको आधारमा कुन दिन खेतीपाती गर्ने, खेती थन्काउने, टाढाको यात्रा गर्नेजस्ता जानकारी लिन उहाँ कहाँ आउने गर्छन् ।
उहाँ सामान्य भिक्ट्री परियोजनामार्फत प्रयोगमा नआएको कोकाकोला २.२५ लिटरको बोतललाई वर्षा मापनका लागि गेजको रुपमा प्रयोग गरी हरेक दिन बिहान ८ः४५ बजे नागरिक वैज्ञानिकले मोबाइल प्रविधि प्रयोग गर्दै फोटोसहितको फारम भरेर डाटा सम्प्रेषण गर्ने गर्नुहुन्छ । उहाँले पठाएका डाटा नगरपालिका र मोबाइल एपमा समेत हेर्न सकिनेछ भने त्यसको आधारमा मौसमको विवरण थाहा हुने गर्दछ । खुल्ला आकाशमुनि राखिने बोतलको भूई सतहलाई समान बनाउन सिमेन्ट ढलानको प्रयोग गरिएको हुन्छ भने त्यसमा परेको पानी वास्पीकरण नहोस् भन्नका लागि ढक्कनको समेत व्यवस्था गरिएको हुन्छ । नागरिक वैज्ञानिकले सूचना सङ्कलनका लागि मोबाइल प्रविधि प्रयोग गरी मोबाइल एप्लिकेसनमार्फत आफू नजिकै देखापरेको बाढी, पहिरोको घटनालाई समेत फोटो र भौगोलिक अवस्थिति (जीपीएस) राख्दै सम्प्रेषण गर्ने गर्दछन् । मोबाइल प्रविधिमा सूचना सङ्कलन गरिएको वास्तविक मिति, समय र स्थानको पनि अभिलेख रहने भएकाले सम्प्रेषित भएको डाटा भरपर्दो मानिन्छ ।
अर्की नागरिक वैज्ञानिक कमला ओलीले आफू रहेको स्थान वरिपरि हुने वर्षाको मात्रा मात्र नभई खोलानालाका पानीको स्तर, बहाव गति र भूमिगत पानीको मात्रालगायतका तथ्यहरू नियमित मापन गरी मोबाइल फोनमा उपलब्ध प्रविधिको प्रयोग गरी विपद् व्यवस्थापन गर्न सकिने आत्मविश्वास बढेको बताउनुहुन्छ । स्थानीय जनप्रतिनिधिसमेत रहनुभएकी उहाँ भन्नुहुन्छ, ‘‘विपद्बाट जनताको जीउधन र राज्यका भौतिक सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै यस कार्यक्रमलाई पालिकाले निरन्तरता दिनुपर्ने छ ।’’
यस परियोजनाले सामान्य नागरिकलाई समेत वैज्ञानिक योगदान गर्न उत्प्रेरित गरेको छ । नागरिक वैज्ञानिकहरुले सम्प्रेषण गरेका मौसमी सूचनाका आधारमा पूर्वतयारी गर्दा यसपटकको मनुसन अवधिमा जिल्लामा ठूलो जनधनको क्षति हुन पाएन । आमनागरिकले आफ्नो बौद्धिक प्रयास, क्षमता, आफ्नो वरिपरिको वातावरणको सुक्ष्म अवलोकन र त्यसको अनुभव तथा आफूसँग भएका सीमित स्रोत–साधनको प्रयोगले वैज्ञानिक खोज तथा अनुसन्धानमा अतुलनीय योगदान पु¥याएका छन् । हाल यो कार्यक्रम बर्दियाको बारबर्दिया नगरपालिकामा पनि ४५ जना नागरिक वैज्ञानिकमार्फत बाढी मापनमा मौसमी पूर्वानुमानको कार्य भइरहेको छ ।
विश्वभर नै सरल, सस्तो एवं प्रभावकारी विधिका रुपमा नागरिक विज्ञानको प्रयोग भरहेको देख्न सकिन्छ । आम नागरिकको संलग्नतामा गरिने वैज्ञानिक खोज तथा अनुसन्धान कार्यलाई ‘नागरिक विज्ञान’ र यस्तो काममा संलग्न नागरिकलाई ‘नागरिक वैज्ञानिक’ भन्ने गरिन्छ । जलवायु परिवर्तनका कारण विश्वभर नै तापमान वृद्धि, भारी वर्षा, भूमिगत पानीको बहाव ढाँचामा परिवर्तनलगायतका विभिन्न परिवर्तनहरु देखिन थालेको र यसले अनेक विपद्हरु पनि निम्त्याएको अवस्थामा बाढी, पहिरोजस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहन स्थानीयस्तरमै प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नसक्ने नागरिक वैज्ञानिक अभियानलाई कार्यान्वयनमा ल्याइएको आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौतम बताउनुहुन्छ । बिहान चिया पसलहरुमा हुने राजनीतिक गफको सट्टा मौसम पूर्वानुमानका विषयमा हुने कुराकानीले जीउधनको सुरक्षा गर्न सकिने उहाँको तर्क छ ।
नागरिक वैज्ञानिकहरूद्वारा सम्प्रेषित सूचनाका कारण यसपटकको मनसुनमा विपदबाट समयमै सुरक्षित रहन, पहिरोमा परेकाको उद्धार गर्न सहज भएको नगरपालिकाले जनाएको छ । पहिरोको उच्च जोखिममा रहेको पालिकालाई विपद् व्यवस्थापनयुक्त बनाउन नागरिक वैज्ञानिक अभियान निकै प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिँदै छिमेकी पालिकाहरुमा पनि विस्तार गर्नुपर्ने नगरपालिकाका वरिष्ठ इन्जिनीयर सुरेश राउतले बताउनुभयो ।
विपत्का घटनाको सूचना र वर्षामापनका लागि प्रविधिमा प्रशिक्षण गराएको विपत पूर्वतयारी थाल्न नगरपालिकाले नागरिक वैज्ञानिकलाई मोबाइल एपमार्फत सूचना सङ्कलन र हरेक दिन वर्षामापन गर्ने प्रविधि दिइएको छ भने उनीहरुले हरेक दिन बिहान एपबाट गाउँको अवस्था, वर्षा मापन, पहिरोको जोखिम भएको क्षेत्रको तस्बिरसहितको सूचना नगरपालिकामा अपडेट गराउने गरेका छन् । साधारण प्रविधि र तालिम प्रदान गरी स्थानीयस्तरमै नागरिक वैज्ञानिक तयार गर्दा विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने भीमेश्वर नगरपालिकाबाट प्राप्त अनुभवका आधारमा यसवर्ष मनाङ र लमजुङका दुई पालिकामा पनि नागरिक वैज्ञानिक कार्यक्रम सञ्चालन गरिएको गौतमले जानकारी दिनुभयो ।
एस४डब्लुका डा सन्जीव न्यौपानेले स्थानीयस्तरबाटै प्राप्त मौसमी सूचनाका आधारमा मौसम पूर्वानुमान गरिने हुँदा यसलाई अझ भरपर्दो र व्यवस्थित गराउन सकिएमा प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो । विपद् व्यवस्थापनमा नागरिक वैज्ञानिक कार्यक्रमको निकै प्रभावकारी रहेकाले यस्ता सफल अभ्यासहरुलाई सबै पालिकाहरुमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
मनसुनको समयमा हुने भारी वर्षाले वर्षेनी पहाडी भेगमा पहिरोको प्रकोप हुने गरेको छ भने नदीको बहाव बढाउँदै उत्तरी हिमाल र शिवालेक क्षेत्रबाट माटो र गेग्रान बगाउँदै बाढी, पहिरोको विपद् निम्त्याउने गरेको छ । यस्ता प्रकोपहरुको निगरानीका लागि पर्याप्त मात्रामा वर्षामापत केन्द्रहरुको आवश्यकता पर्दछ । नेपालको भूवनोट र सूक्ष्म जलवायुका कारण हाल सञ्चालनमा आएका केन्द्रहरु पर्याप्त छैनन् । नगरपालिकाभित्रका विभिन्न वडामा वर्षाको भिन्नताको विश्लेषण गर्दै सो वर्षाको कारण निम्तिएका घटनाहरुको अभिलेख राख्न पनि मद्दत पुगेको छ । त्यसैगरी मौसमविद्हरुले प्राप्त तथ्याङ्कहरुको आधारमा विश्लेषण गरी मौसमको समग्र अध्ययन गर्न सक्नेछन् । नागरिक र विज्ञानलाई संयोजन गरिएको यस परियोजनाको कार्यान्वयनबाट जोखिम सुसूचित समाज निर्माणमा सहयोग पुग्ने देखिन्छ । कृष्ण अधिकारी/रासस
–––