काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यही मंसिर १७ गते चीन जाँदै छन् । त्यसैले यतिखेर प्रधानमन्त्रीको भ्रमणको तयारीका साथै भ्रमणका एजेण्डा फाइनल गर्ने काम भइरहेको छ । तर यसपालिको प्रधानमन्त्रीको यो भ्रमणको एउटा नयाँ कुरा के छ भने यो भ्रमणमा कुनै पनि मन्त्री जाने छैनन् ।
परराष्ट्रमन्त्री भने प्रधानमन्त्रीको कुनै पनि देशको औपचारिक भ्रमणका क्रममा जानुपर्ने नियम अनुसार नै जानेछिन् । प्रायः भारत र चीनको भ्रमणका क्रममा प्रधानमन्त्रीसँग कम्तीमा पनि ४/५ जना मन्त्री जाने गर्दथे । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा पनि चार जना मन्त्री भ्रमणमा सहभागी रहेका थिए । परराष्ट्रमन्त्री एनपि साउदका अतिरिक्त पनि मन्त्रीहरु महिन्द्र राय, प्रकाश ज्वालासहित चार जना मन्त्री भ्रमणमा दलमा सहभागी थिए । त्यस्तै गतबर्ष सचिवहरु आधा दर्जनभन्दा बढी थिए । मुख्य सचिव डा बैकुण्ठ अर्याल, पूर्व मुख्यसचि एवं सुरक्षा सल्लाहकार शंकरदाश बैरागी देखि लिएर छ जना सचिवहरु सो भ्रमणमा थिए । तर यसपटक अर्थ सचिव मात्र भ्रमणमा रहेका प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्यालयको एक उच्च स्रोतका अनुसार गत सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषदले प्रधानमन्त्रीको ४० जनाको भ्रमण दल स्वीकृत गरेको जनायो । त्यसमा मुख्य सचिव भने रहेका छन् ।
उता परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज दिउँसाे साढे १२ बजे चीनको छेन्दु जाने तय भएको छ । उनको सो भ्रमण पनि सोमबारकै मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । मन्त्री डा राणा आज चीन जाने र १५ गते फर्कने कार्यक्रम छ । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्धिपक्षीय भेटवार्ता पनि छेन्दुमै गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै मन्त्री राणाा फरि प्रधानमन्त्री ओलीसँग १७ गते चीन जानुहुने छ ।
परराष्ट्र मन्त्रालयले मन्त्री डा राणाले मंसिर १४ गते चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको जनाएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणका लागि यही मंसिर १७ गते चीन जाने र मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।