५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
अ+ अ-

वालिङ, (स्याङ्जा) । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।

प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन् । विद्यालय परिसरमा गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ । पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ ।

“विद्यालय परिसरमा विद्यार्थीको प्रत्यक्ष रेखदेखमा कुखुरापालन गरिएको छ”, उहाँले भन्नुभयो, “विद्यालय सञ्चालन भएका दिनमा विद्यार्थीले रेखदेख गर्ने भए पनि बिदाका दिनमा भने छुट्टै कर्मचारीको व्यवस्था मिलाएका छौँ ।”विद्यालयमा पालिएको कुखुराले दिने अण्डाबाट विद्यालयमै रहेको ह्याचिङ मेसिनबाट चल्ला उत्पादन गर्ने र बिक्री गरी आम्दानीका रूपमा दाखिला हुने गरेको छ । विद्यालयमा पढाइसँगसँगै सिकेको व्यावहारिक सीपलाई घर गएर पनि विद्यार्थीले उपयोग गर्न सक्ने बनाउन विद्यालयले चल्ला उत्पादन गरी उपलब्ध गराउँदै आएको छ ।

विद्यार्थीले घरमा चल्ला लगेमा नयाँ चल्ला उत्पादन भएपछि साँवास्वरुप फिर्ता गर्ने र बाँकी रहेका चल्ला वा तिनले दिएका अण्डा आफैँले बिक्री गर्न पाउने व्यवस्था विद्यालयले मिलाएको छ । “विद्यार्थीले विद्यालय वा घरमा पालेका कुखुरा, चल्ला तथा अण्डा बिक्री गर्न विद्यालयले सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीले आफँै बिक्री गर्न पनि सक्ने र बिक्री नभएको खण्डमा विद्यालयले बजारीकरण गर्ने उल्लेख भए तापनि हालसम्म विद्यार्थी स्वयंबाट सहज तरिकाले बिक्री भइराखेको छ ।”

चालु शैक्षिकसत्रसँगै थालिएको यो अभियान निकै प्रभावकारी ढङ्गले अगाडि बढेको दाबी प्रधानाध्यापक गुरुङको छ । यस अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाउँदै विद्यार्थीलाई सीपसँगै आर्थिक उपार्जनसँग जोड्न समन्वयकारी भूमिका निर्वाह गर्न स्रोत शिक्षकको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

विद्यार्थीले घरमा पालेका कुखुराको आम्दानी आफैँले किताब, कपी, कलमलगायत शैक्षिक सामग्री खरिदमा उपयोग गर्न सक्ने भएकाले परिवारमा आर्थिक बोझ कम हुने दाबी उहाँको छ । विद्यालयमा पालिएका कुखुरा, चल्ला तथा अण्डा बिक्रीबाट आएको रकम एकमुष्ट सङ्कलन गरी विद्यार्थीलाई दामासाहीले वितरण गरिन्छ ।

विद्यालयले मौरीपालन, च्याउखेती, सिलाइबुनाइ, वेल्डिङजस्ता व्यावहारिक सीप विद्यार्थीलाई सिकाउँदै आएको छ । साथै धान, मकै, कोदोलगायत खेती गरेर उत्पादित अन्न विद्यालय समयमा खाजाका रूपमा पनि प्रयोग गर्दै आएको छ । रासस