१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी



अ+ अ-

धरान, (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।

सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताउनुभयो । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हाल सबै खर्च कटाएर वार्षिक रु १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उहाँहरुले पाँच वटा टनेलमा च्याउ खेती गर्नुभएको छ । च्याउ बजारमा थोकमा प्रतिकेजी रु एक सय ७० र फर्ममै किन्न आउने व्यापारीलाई रु एक सय ५० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

रोशनले भन्नुभयो, “च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ ।”

तत्कालीन समयमा रु ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ ।

मासिक तलबमा काम गर्नेले मासिक रु १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले रु पाँच सय काम गरिरहेका छन् । “व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।”

च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक तीन सय ५० केजीसम्म च्याउ बिक्री भइरहेको छ ।

साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उहाँको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उहाँको भनाइ छ । “विदेशमा गएर धेरै दु:ख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुृने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न”, रोशनले भन्नुभयो ।

उहाँले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान पाउनु भएको थियो भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले रु ९० हजार अनुदान दिएको थियो । रासस