२८ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक बस्ने भएको छ ।

चर्को दबाबपछि (राखेप)का अध्यक्षरयुवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी बोर्ड बैठकका लागि तयार भएसँगै राखेपको ११८औँ बोर्ड बैठक यही मंसिर १४ गते शुक्रबार बस्ने भएको हो ।

सदस्य सचिव टंकलाल घिसिङले शुक्रबारका लागि बैठक आह्वान गरेका छन् । डिगबहादुर लिम्बु परिषद्को अध्यक्ष हुँदा २०८० भदौ २८ गते अन्तिमपटक बसेको बोर्ड बैठक त्यसयता विभिन्न बहानामा बस्न सकेको थिएन ।

सदस्य सचिव घिसिङले पटक–पटक अनुरोध गर्दा पनि बैठक बस्न सकेको थिएन । जसकारण मंसिर २ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तय भएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितासमेत हुन सकेन ।

प्रतियोगिता सञ्चालनार्थ बैठक नबसेपछि राखेप सदस्य प्रकाशकुमार कुसारी (सम्राट)ले सामाजिक सञ्जालमार्फत गत आइतबार असन्तुष्टि व्यक्त गर्दै बोर्ड बैठक बस्न नसक्नु र प्रतियोगिता नै रोकिनुको जवाफ माग गरेका थिए । उनको चर्को दबाबपछि अन्ततः बोर्ड बैठक बस्ने भएको हो ।

बैठकका लागि ६ वटा एजेण्डा तय गरिएको छ । जसमा राष्ट्रिय खेलकुद प्रतियोगिता, राखेप नियमावली, विद्यालय खेलकुद पाठ्यक्रम, सिएसआर, खेलाडी आवास र विविध रहेको छ ।