७ श्रावण २०८३, बिहीबार
,
Latest
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु पुष्पलाल स्मृति दिवस मनाइँदै झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुल्कले कन्ट्याक्ट ट्रेसिङ फितलो



अ+ अ-

काठमाडौँ । सरकारले लक्षित समूहबाहेकलाई कोभिड–१९ को परीक्षण र उपचारमा शुल्क लिने निर्णय गरेपछि देशभर कन्ट्याक्ट ट्रेसिङ प्रभावित भएको छ । कन्ट्याक्ट ट्रेसिङबाट संक्रमित पहिचान हुन नसक्दा संक्रमण नियन्त्रण बाहिर जाने जोखिम बढेको छ ।

मन्त्रिपरिषद्को असोज १९ को निर्णयअनुसार कोभिड उपचार र परीक्षणमा कात्तिक २ गतेबाट शुल्क लिइँदै छ । ‘सरकारद्वारा सिम्प्टोम्याटिक (लक्षण देखिएकाहरू) को मात्र परीक्षण गर्ने र त्यसमा पनि सक्नेले आफैं शुल्क तिर्नुपर्ने भएपछि महामारी विस्तार हुने देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका अधिकारीले कान्तिपुरसँग भने, ‘पैसा तिर्नुपर्ने भएपछि कन्ट्याक्ट ट्रेसिङ पूर्णरूपमा प्र्रभावित भएको छ ।’ कन्ट्याक्ट ट्रेसिङ गर्न छाडेपछि संक्रमित भएका व्यक्ति क–कसको सम्पर्कमा आए, संक्रमण देखिने सम्भावना कहाँ–कहाँ छ भन्ने थाहा हुन सकेको छैन ।

मुलुकमा हालसम्म १ लाख ६८ हजार २ सय ३५ जनामा प्रयोगशाला प्रमाणित कोभिड संक्रमण देखिएकामा १ लाख २८ हजार ९ सय ५८ जना निको भइसकेका छन् । ९ सय २० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा मात्रै १६ हजार २ सय ४२, ललितपुरमा २ हजार ३ सय ४५ र भक्तपुरमा १ हजार १ सय ६५ जना गरी उपत्यकामा ५१.५० प्रतिशत सक्रिय संक्रमित छन् ।

धनुषाका कोभिड संयोजक डा जामुनप्रसाद सिंहले सरकारको पछिल्लो निर्णयपछि कन्ट्याक्ट ट्रेसिङ राम्ररी नभइरहेको बताए । ‘सरकारले लक्षण भएकालाई मात्र परीक्षण गर्न भनेको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका ९०–९५ प्रतिशतको लक्षण हुँदैन ।’ स्वास्थ्य मन्त्रालयका एक विज्ञले पहिला सामान्य कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण कता छ, विस्तार कस्तो छ भन्ने सहजै थाहा हुने गरेकामा अहिले त्यस्तो स्थिति नरहेको बताए । ‘कोभिड–१९ नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ हुनैपर्छ । विश्वव्यापी रूपमै यसको विकल्प छैन,’ उनले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत एवं जनस्वास्थ्य विज्ञ उत्तमकुमार कोइरालाले पनि शुल्क लाग्न थालेपछि पहिले जसरी कन्ट्याक्ट ट्रेसिङ नभइरहेको बताए । ‘शंकास्पद व्यक्तिले पैसा तिर्नुपर्ने भएपछि परीक्षण गराउनेको संख्यामा समेत उल्लेख्य कमी आएको छ,’ उनले भने । कोइरालाका अनुसार लक्षण देखिएकाहरूले थाहै नभई अरूलाई निरन्तर रोग सार्ने भएकाले बढी खतरनाक हुन्छन् ।

हाल कन्ट्याक्ट ट्रेसिङअन्तर्गत सरकारले तोकेको मापदण्डभित्र पर्नेलाई मात्र निःशुल्क पीसीआर परीक्षणका लागि टेकु पठाइन्छ । ‘अन्यको हकमा शुल्क तिर्नू भन्ने गरेका छौं,’ काठमाडौं महानगरपालिकाका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीले भने, ‘शुल्क लाग्ने भएपछि हामीलाई समेत काम गर्न केही गाह्रो भइरहेको छ । राज्यले के गर्छ भनेर फोनमा आक्रोश पोख्छन् ।’ उनका अनुसार पछिल्लो समय परीक्षण गराउनेको संख्या घटेको छ ।

शुल्क लिने निर्णय गर्नुभन्दा अघि शंका लागेपछि सबैको कोभिड परीक्षण गरिन्थ्यो । हाल कडा लक्षण देखिएका व्यक्तिले मात्र परीक्षण गराउँछन् । सामान्य लक्षण देखिएकाहरू सिटामोल खाएर परीक्षण नगरी काम व्यवहारमा लाग्ने गरेको पाइएको छ । ‘लक्षण नभएकाहरू त केही भएको छैन भनेर स्वास्थ्य सुरक्षा नअपनाई बाहिर निस्किएको पनि देखिएको छ,’ ओलीले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा।बाबुराम मरासिनीले हाल कन्ट्याक्ट ट्रेसिङ राम्ररी नभएकाले संक्रमण व्यापक विस्तार भएको बताए । परीक्षण र उपचारमा शुल्क लिने गलत निर्णयले चार जनाको पीसीआर परीक्षण गर्दा एक जना कोभिड पोजिटिभ देखिने अवस्था आएको उनले बताए । ‘अलिअलि लक्षण भएका वा लक्षण नभएका जँचाउन जाँदैनन् । उनीहरू खुलेआम घुम्दा संक्रमण थप विस्तार भइरहेको छ,’ डा। मरासिनीले भने, ‘कन्ट्याक्ट ट्रेसिङमा परेका, लक्षण नभएकालगायत सबैको निःशुल्क परीक्षण हुनुपर्छ ।’, कान्तिपुर दैनिकबाट